Loving nepal news

Friday, March 11, 2011

सुरक्षा योजना बनाउँदा बनाउँदै फायरिङ यस्तै प्रकृतिका विगतका अपराधमा कारबाही हुन नसकेकाले घटना दोहोरियो


केदार ओझा

काठमाडौ, फाल्गुन २८ - महानगरीय आयुक्तको कार्यालयमा बिहीबार बिहान राजधानीमा रहेका कारागारबारे नयाँ सुरक्षा रणनीति लागू गर्न उच्च अधिकृतहरू योजना बनाउँदै थिए ।

डेढ महिनाअघि युनिस अन्सारी चक्रेमिलन गुरुङ, अमर टण्डन लगायतका १५ जनालाई उनीहरूको सञ्जाल तोड्न तत्काल उपत्यकाबाट दुर्गम जिल्लाका कारागारमा पठाउन गरिएको सिफारिस कार्यान्वयन नभएपछि रुष्ट भएका उनीहरू आफूले गर्न सक्ने हदसम्मको अधिकार उपयोग गरी केही नयाँ गर्ने रणनीतिमा थिए ।

आयुक्त अर्जुनजंग शाहीको अध्यक्षतामा भएको बैठकमा एक वरिष्ठ प्रहरी उपरीक्षकले कारागारमा खटिएकाहरूको सूची हेर्दै भने, 'लौ हेर, सात वर्षभन्दा बढी बसेका ४० भन्दा बढी प्रहरी रहेछन्, कम्तीमा ५० जनालाई आजै हटाएर नयाँँ सुरक्षाकर्मी पठाउनुपर्छ ।'

अकस्मात् सञ्चार सेटमा कोही बोल्यो, 'जेलमा रिभल्बर भेटियो ।' सबै एकाएक झसंग भए । सञ्चार सेट तानेर कसैले रिभल्बरबारे सोध्ने प्रयास गर्दै थिए । फेरि हल्लाखल्लाबीच सन्देश आयो, 'गोली पनि फायर भयो ।'

आयुक्तको कार्यकक्षमा भइरहेका केन्द्रीय कारागारको सुरक्षासम्बन्धी बैठकमा एकाएक तनाव उत्पन्न भयो । ल बर्बाद भयो भन्दै सबै एकैसाथ बैठकबाट उठ्दै तीन किलोमिटर क्षेत्रभित्रमै पर्ने कारागारतर्फ दौडिए । केहीले बाहेक अधिकांशले सञ्चार सेट र मोबाइलसमेत हतारमा कार्यालयमा छाडेका थिए ।

सुन्धारास्थित कारागार पुगेका वरिष्ठ प्रहरी अधिकृतको समूहले तत्काल कार्यक्षेत्र छुट्याउँदै घटनास्थलको सूक्ष्म अवलोकन गरे । दुई तहमा बाँडिएका अधिकृहरू मध्ये एक समूहले आपतकालका लागि पूर्वनिर्धारण गरिए अनुसारको विभिन्न तहमा चेकजाँच गर्न र काठमाडांै बाहिर निस्कने नाका बन्द गर्ने आदेश दिए ।

अर्को अधिकृतहरूको समूहले हतियारसहित पक्राउ परेका सिंहसँग प्रारम्भिक बयान लिन थाल्यो । आयुक्त शाही भने घाइतेको अवस्था बुझ्न र उनीसँग घटनाको विवरण लिन अस्पताल पुगे । घटनास्थलको अनुसन्धान गरिरहेको समूहले नै सिंहलाई लिएर हनुमानढोकातर्फ हान्नियो भने अर्कार्े समूह सिंहले दिएको बयानका आधारमा पक्राउ गर्नुपर्नेहरूको खोजीमा लाग्यो ।

तनावपूर्ण दुई घन्टामा संकलन गरिएको सूचना एकीकृत गरेपछि आयुक्त शाही पत्रकार सम्मेलन गर्ने निष्कर्षमा पुगेका थिए । उनले मातहतका अधिकृतहरूलाई भने, 'पाएको सूचना सार्वजनिक गरांै र फरार अभियुक्त पक्राउका लागि पुरस्कारको घोषणा गर्दै सहयोगका लागि अपिल गरांै ।'

शाहीको प्रस्तावलाई सबैले सकारात्मक भनेपछि प्रहरीले बिहीबार ५ बजे पत्रकार सम्मेलन गरी घटनाबारे प्रारिम्भक जानकारी दिंदै सहयोगका लागि सबैलाई अपिल गरे ।

पत्रकार सम्मेलन गर्नुअघि नै शाहीले प्रहरी महानिरीक्षक रमेश चन्द र अन्य उच्च अधिकृतहरूलाई जानकारी गराएका थिए भने प्रधानमन्त्री झलनाथ खनाललाई राति नौ बजे विस्तृतरूपमा फोनमा घटनाबारे जानकारी दिएका थिए ।

आयुक्त कार्यालयले शुक्रबार बिहान ११ बजे उपत्यका भरिका प्रहरीको भेला बोलाएको थियो । भेलामा तीन जिल्ला पाँच वृत्त, प्रभाग, गण, गुल्म, ट्राफिक, विमानस्थल, अपराध महाशाखा र तल्लो युनिट अस्थायी पोस्टसमेतका प्रहरी अधिकृतहरू सहभागी थिए । भेलामा आयुक्त शाहीले काम गर्ने क्रममा भएको कमजारी र सुधार्नुपर्नेबारे सबैलाई सचेत गराएका थिए ।

बिहीबार हत्या प्रयास विफल भएकाले थप घटना हुन सक्ने आशंकामा आयुक्त कार्यालयका अधिकृतहरू शुक्रबार दिनभर चिन्तित थिए । उनीहरूका अनुसार शुक्रबार जेलमै हत्या गर्ने योजना बनाएकाहरूले नै अर्को व्यक्तिलाई निशाना बनाउन सक्ने वा उनीहरूलाई काउन्टर दिन अर्को समूहले प्रयास गर्नसक्ने अनुमान प्रहरीको छ । यसअघि सञ्चार उद्यमी जमिम शाहको घटनाका बेला पनि यस्तै प्रतिरोधको घटना भएको थियो ।

'हामी यो घटनाबाट भन्दा पनि यो स्तरको प्रयास भएकामा बढी चिन्तित छौं ।' प्रहरी मुख्यालयका एक उच्च अधिकृत भन्छन्, 'छिमेकी मुलुकहरूको क्रीडास्थल हुनु राम्रो होइन ।' यो घटनाले राष्ट्रिय सुरक्षामाथि नै गम्भीर प्रश्न उठाएको छ । ती अधिकृतले भने ।

प्रहरी राष्ट्रिय सुरक्षाबारे चिन्ता गरिरहँदा युनिसलाई उपचारका लागि राखिएको अस्पतालबाट खबर आइरहेको थियो, उहाँलाई जतिसक्दो चाँडै अस्पतालबाट लैजानुहोस् । अस्पताल प्रशासन युनिसका कारण हुनसक्ने थप घटनाबाट बच्न उनलाई चाँडै बाहिर पठाउन चाहिरहेको थियो । नर्भिक अस्पतालमा नेपाल प्रहरीकै दुई भूतपूर्व उच्च अधिकृतहरू कार्यरत छन् ।

उनीहरूले घटनाको गहिराइ बुझेरै युनिसलाई जतिसक्दो चाँडै बाहिर पठाउन चाहिरहेको आयुक्त कार्यालयले अनुमान नगर्ने कुरै भएन । पूर्वहाकिमहरूको अनुरोध कार्यान्वयन गर्न महानगरीय प्रहरी दिनभरि नै वीर अस्पतालको एउटा क्याबिन खाली गराउन व्यस्त थियो तर साँझसम्म क्याबिन भेटिएको थिएन । केही अधिकृतहरूले सुरक्षित स्थान प्रहरी अस्पताल हुने बताए पनि धेरै अधिकृतहरूले त्यो 'रिस्क' प्रहरीले लिन नहुने भन्दै विरोध गर्दै थिए ।

यसैबीच जेलको मुख्यद्वारमा गोली प्रहार भएको घटनाको विरोध गर्दै स्वतन्त्र गणतन्त्र मञ्चले रत्नपार्कमा कोणसभा आयोजना गरेको छ । पूर्वमन्त्री सलिम मिया अन्सारीको अगुवाइमा गरिएको उक्त कोणसभामा भारतीय आतंकवाद बन्द गर, घटनाको न्यायिक छानबिन गरलगायत नारा लगाएका थिए । मञ्चकै सक्रियतामा घटनाको विरोध गर्दै साँझ राँके जुलुससमेत निस्किएको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks