Loving nepal news

Friday, March 11, 2011

बयान फेर्न थालेपछि प्रहरी अलमलमा


प्रतिमा बाँस्कोटा

काठमाडौ, फाल्गुन २८ - युनुस अन्सारीलाई गोली प्रहार गर्ने भारतीय नागरिकले बयान फेर्न थालेपछि प्रहरी अलमलमा परेको छ । बिहीबार पक्राउ पर्नेबित्तिकै दुई भारतीयको सहयोगमा नेपाल आएको बताएका जसजित सिंहले शुक्रबार आफू एक्लै आएको बयान दिएका छन् । प्रहरी स्रोतका अनुसार उनले बिहीबार राति र शुक्रबार ११ पटक बयान फेरेका छन् ।

प्रहरी उनले दिएको परिचयमा समेत विश्वस्त हुन सकेको छैन । उनको साथबाट बरामद रासन कार्डका आधारमा जसजित सिंह भने पनि परिचय स्पष्ट रूपमा खुल्न सकेको छैन । बिहीबार घटना घटाउनेबित्तिकै सुटरले आफ्नो नाम अफताब खान र मुम्ताज खान बताएका थिए ।

तर प्रहरीले भारत सरकारले जारी गरेको रासनकार्ड बरामद गरेपछि उनलाई जसजित सिंहका रूपमा चिनाउँदै आएको छ तर उनकोे परिचय नक्कली हुन सक्ने आशंका प्रहरीले गर्न थालेको छ । 'पटक-पटक बयान फेरेपछि विश्वास गर्न गाह्रो भयो,' ती अधिकृतले भने, 'परिचयपत्र पनि अर्कैको लिएर आएको हुनसक्छ ।'

प्रहरीले उनका बारेमा भारतीय प्रहरीसँग विवरण मागेको छ । उनले नेपालमा आएर प्रयोग गरेेको मोबाइल नम्बर प्रहरीलाई उपलब्ध गराए पनि उक्त नम्बर ३ महिनाअघिदेखि बन्द छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले प्रहरी मिलेमतोबिना पेस्तोल जेलभित्र लिएर जानु असम्भव रहेको दाबी गरे । सामान्यतया कैदीलाई भेट्न जाने व्यक्तिलाई अनुसन्धान गर्ने, खानतलासी लिने जिम्मा प्रहरीको हो । सर्वसाधारणको साथमा रहेको डलर पैसासमेत थाहा पाउने प्रहरीको मेसिन डिटेक्टरले पेस्तोल कसरी थाहा पाएन अनुसन्धानको विषय बनेको छ ।

यस्ता ठूला आपराधिक घटनाहरू यसअघि पनि प्रहरीको मिलेमतो देखिंदै आएकाले पनि प्रहरीलाई सशंकित तुल्याएको छ । गत वर्ष माघ २४ गते लाजिम्पाटमा सञ्चार उद्यमी जमिम साहको हत्या गर्दा पनि प्रहरीको मिलोमतो देखिएको थियो । त्यसमा प्रहरीका पूर्वडीएसपी जगदीश चन्द र सई प्रकाश क्षेत्रीको संलग्नता खुलेको थियो । क्षेत्रीलाई प्रहरीले पक्राउ गरेर कारबाही गरे पनि पूर्वडीएसपी चन्दलाई भगाइएको थियो ।

अन्सारीमाथि गोली प्रहार गर्ने भारतीय नागरिक जसजित सिंहलाई प्रहरीले अवैध हतियार बोकेको अभियोगमा मुद्दा चलाउने भएको छ । जिल्ला अदालत काठमाडौंले हातहतियार तथा खरखजना ऐनमा अनुसन्धानका लागि १५ दिनको म्याद दिएको छ । उनलाई हतियार तथा खरखजना ऐनमा मुद्दा दायर गरेपछि पुनः ज्यान मार्ने उद्योगमा अर्को मुद्दा दायर गरेर अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks