Loving nepal news

Friday, March 11, 2011

जापानको जस्तै भूकम्प गए के होला ? ४ लाखभन्दा बढीको मृत्यु हुन सक्ने, त्यत्तिकै घाइतेको सम्भावना


अतुल मिश्र

काठमाडौ, फाल्गुन २८ - जापानमा शुक्रबार गएको जस्तै भूकम्प गयो भने काठमाडौंमा मात्र दुई लाखभन्दा बढीको मृत्यु र दुई लाखभन्दा बढी घाइते हुने आँकलन छ । देशभरिमा मृतकको संख्या करिब चार लाख नाघ्ने र चार लाख घाइते हुने अनुमान गरिएको छ ।

'यो एक मिनेटको थकर्नपछि हुने दैवीप्रकोपको आँकलन हो,' भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक भूकम्पविद् आमोदमणि दीक्षित भन्छन्, 'अस्पतालमा आकस्मिक उपचार दिने व्यवस्थासमेत हुँदैन ।' विज्ञहरू भूकम्पीय जोखिमको दृष्टिले नेपालजस्तो संवेदनशील मुलुकमा पूर्वतयारीसँगै भूकम्पबाट बाँच्ने कला सबैले सिक्नुपर्ने बताउँछन् । भूकम्पविद्ले यो क्षेत्रमा कुनै पनि बेला शक्तिशाली भूकम्प जान सक्ने बताउँदै आएका छन् । मुलुकमा हरेक ७५ देखि सय वर्षमा विशाल भूकम्प र हरेक ५० वर्षमा मध्यम भूकम्प गएको इतिहास छ ।

समाजले सात वर्षअघि राजधानीको ठूला अस्पतालको अध्ययन गर्दा ९० सालजस्तो थर्कन आउँदा अनवरत रूपमा सेवा दिने स्थिति नरहेको घोषणा गरेको थियो । हाल एकाध छाडेर निजी एवंं सरकारी प्रायः सबै अस्पतालको स्थिति उस्तै छ ।

राजधानीको जनसंख्याबारे हालसम्म आधिकारिक तथ्यांक नरहे पनि विज्ञहरूले ४० देखि ६० लाख व्यक्ति बसोबास गरिरहेको अनुमान गर्छन् । उपत्यकाको वास्तविक घर संख्याबारे समेत कुनै तथ्यांक उपलब्ध छैन । 'उपत्यकामा करिब पाँच लाख घर भएको आँकलन गर्न सकिन्छ,' दीक्षित भन्छन्, 'तर भूकम्पबाट जोगाउने भवन निर्माण संहितालाई कडाइ साथ लागू गर्न सकिएको छैन ।' काठमाडौंको दरबार स्क्वायर कुनै पनि ठाउँबाट हेर्दा नौ/दस तल्ले घर देखिने गरिएको औंल्याउँदै दीक्षित भन्छन्, 'तर त्यो इलाकामा पाँच तल्लेभन्दा बढी अग्लो घर बनाउने मापदण्डै छैन, भूकम्प जाँदा यस्ता अग्ला घर पछि चिहान बन्नेछन् ।'

नेपालजस्ता विकासोन्मुख मुलुकमा भूकम्पीय विनाशको मुख्य कारण घरलगायतका कमजोर संरचना भत्किनु हो । आचारसंहिताअनुसार घर बनाउँदा तीनदेखि पाँच प्रतिशत बढी रकम खर्च भए पनि भूकम्पबाट भने मृत्यु हुने सम्भावना अति न्यून हुन्छ । 'संहिताअनुसार निर्माण गरिएको घरले ९ एमएमआईसम्म थर्कन थेग्न सक्छ,' उनी बताउँछन् ।

विज्ञहरूका अनुसार भूकम्पबाट मृत्यु हुने ८० प्रतिशत जोखिम घरले गर्दा हुन्छ । यस्तै आठ प्रतिशत मृत्यु अस्पताललगायत आकस्मिक सेवा दिने क्षमताका कमीले हुन्छ भने १२ प्रतिशत आकस्मिक सेवा दिने प्रणाली अभावले हुन्छ ।

६० प्रतिशत संरचना ध्वस्त हुन्छन्

आमोदमणि दीक्षित

कार्यकारी निर्देशक, राष्ट्रिय भूकम्प प्रविधि समाज

नेपालमा यति नै बेला भूकम्प जान्छ भनेर भन्न सकिँदैन । जतिबेला पनि भूकम्प जान सक्छ । वैज्ञानिकले यति नै बेला भूकम्प जान्छ भनेर अध्ययन पनि गरेका छैनन्् र वैज्ञानिकले भनेका बेला भूकम्प जाने पनि होइन ।

भूकम्पीय हिसाबले नेपाल जोखिमपूर्ण सूचीमा छ । त्यसमा पनि काठमाडौं उपत्यका सबैभन्दा खतरामा छ । भूकम्पीय जोखिमका हिसाबले विश्वमा नेपाल ११ औं स्थानमा पर्छ । नेपालमा ८.२ रेक्टरसम्मको भूकम्प जान

सक्छ । जुन निकै ठूलो हो । नेपालमा मेचीदेखि महाकालीसम्म जुनसुकै ठाउँमा भूकम्प जान सक्छ । भूकम्प गयो भने सबभन्दा बढ्ता धनजनको क्षति काठमाडौंमा हुनेछ । भूकम्पीय हिसाबले काठमाडौंको भौतिक संरचना निकै कमजोर छ ।

१९९० सालमा नेपालमा ९/१० एमएमआई (मोर्डिफाइड मर्सेली इन्टेन्सिटी) बराबरको भूकम्प गएको थियो । त्यतिबेला पनि निकै विनाश भएको हो । नेपालमा १२ एमएमआईसम्मको भूकम्प जान सक्छ । नेपालको भौतिक संरचना हेर्ने हो भने ७ एमएमआईभन्दा बढीको भूकम्प थेग्न सक्ने भौतिक संरचना छैनन् । कम्तीमा पनि ९ एमएमआईसम्मको भूकम्प थेग्ने घरहरू बनाउन सकिए धनजनको क्षति न्यून हुन सक्छ । सरकारले पनि त्यतातिर अलि बढी ध्यान दिन जरुरी छ । शुक्रबार जापानमा गएको जत्तिको होइन, १९९० साल जत्तिकै भूकम्प गए पनि काठमाडौंमा ६० प्रतिशत घर भत्किन सक्छन् र लाखौं मानिसको ज्यान जान सक्छ । त्यस्तै, पुल र विमानस्थल पनि सखाप हुन सक्छन् । त्यतिबेला आर्थिक नोक्सानीको कुनै मूल्यांकन नै गर्न सकिन्न ।

सरकारले भूकम्पीय जोखिम न्यून गर्न भवन निर्माण संहिता लागू गरेको छ । तर त्यसको कार्यान्वयन भएको छैन । नक्सा पास गर्दा संहिता उल्लंघन हुने गरेको छ । सरकारले पनि यसमा कडाइका साथ लागू गरेको देखिन्न । भवन निर्माण संहिता कार्यान्वयन गर्न नसक्नु हाम्रा लागि चुनौती हो । सरकारले आचारसंहिता लागू गर्न ध्यान दिनुपर्छ । त्यसो हुन सके हाम्रा घर र मानवीय क्षतिमा कमी हुनेछ ।

(अब्दुल्लाह मियासँग कुराकानीमा आधारित)

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks