
कान्तिपुर संवाददाता
काठमाडौ, चैत्र ८ - आर्थिक अभाव र भारतीय आयल निगम -आइओसी) ले उधारो दिन नमाने पछि सोमबारदेखि नेपाल आयल निगमले इन्धन आपूर्तिमा ३० प्रतिशतले कटौती गरेको छ ।
'निगमले आज -सोमबार) देखि माग अनुसार पेट्रोलियम पदार्थ आपूर्ति गर्न सकेन,' निगमका कार्यकारी निर्देशक दिगम्बर झाले कान्तिपुरलाई भने, 'आपूर्ति २५ प्रतिशत भन्दा बढीले कटौती भएको छ ।'
आइओसीबाट दैनिक ४ हजार किलोलिटरदेखि ४ हजार ४ सय किलोटिर पेट्रोलियम पदार्थ आपूर्ति गरिरहेको निगमले सोमबार ३ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र नेपाल भित्र्याएको छ । यो कुल आपूर्तिमा ३३ प्रतिशत बढीले कटौती हो ।
लागत महँगो परे पनि सस्तोमा बेच्नुपर्दा भएको रकम अभाव र आइओसीले उधारो दिन नमानेकाले निगमको आपूर्ति घटेको हो । 'हामीले माग अनुसार आपूर्ति गर्नका लागि पर्याप्त पैसा पठाउन सकेनौं र आइओसीले उधारो दिन मानेन,' आपूर्ति घट्नुको कारण बारे निगम प्रवक्ता माधवप्रसाद ढुंगेलले भने ।
कार्यकारी निर्देशक झाका अनुसार मार्च भारतीय आर्थिक वर्षको अन्तिम महिना परेकाले हिसाबकिताब मिलानका लागि आइओसीले पेट्रोलियम पदार्थ उधारो दिन नमानेको हो । 'मार्च महिना भारतको आर्थिक वर्षको अन्तिम महिना परेकाले हिसाबकिताब मिलाउन उधारो दिन नसकिने भनेर आइओसी भन्यो,' झाले भने, 'आइओसीका अधिकारीहरूले आवश्यक परे अपि्रल महिनादेखि पेट्रोलियम पदार्थ उधारो उपलब्ध गराउँछौ भन्नुभएको छ ।'
निगमले मार्च १ देखि १९ सम्म मात्र ३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आपूर्ति गरिसकेको छ । तर निगमले आइओसीलाई २ अर्ब ४ करोड रुपैयाँ मात्र बुझाएको छ । निगमले आइओसीलाई मासिक चार किस्तामा पेट्रोलियम पदार्थको पैसा बुझाउँछ । मार्च महिनाको चौथो किस्ता ७५ करोड रुपैयाँ पठाउने
निगमको तयारी छ ।
निगमले सहज आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजार अनुसार मूल्यवृद्धि वा अनुदानको प्रस्ताव गरेको छ । पछिल्लो पटक निगमले पेट्रोलियम पदार्थ सहज आपूर्तिका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा मासिक १ अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन प्रस्ताव गरेको छ ।
अनुदान वा अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार मूल्य समायोजन गर्न नपाए ऊर्जा संकट हुने र त्यसले हरेक क्षेत्र प्रभावित पार्ने चेतावनी यस अघि नै निगमले दिइसकेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks