Loving nepal news

Friday, March 18, 2011

बदलिँदो होली / 'कर्णप्रिय गीत र भजन हराउँदै गए'


भूषण यादव

वीरगन्ज, चैत्र ५ - वीरगन्जमा होलीको चहलपहल बढेको छ । बाहिर काम गर्न गएकाहरू घर फर्कँदै छन् । आपसी मेलमिलाप र सद्भावसाथ मनाइने होली पर्व बच्चा, युवा र वृद्ध सबैमा एक किसिमको उत्साह छाएको छ । बजारमा किनमेल गर्नेको भीड बढेको व्यापारीहरू बताउँछन् । रंग खेल्न विशेष रूपमा प्रयोग गरिने पिचकारीको बिक्री बढेको माईस्थानका व्यापारी सुरेश कुमारले बताए ।

बजारमा ३० रुपैयाँदेखि २ सय रुपैयाँ पर्ने पिचकारीहरू उपलब्ध रहेका छन् । स्पाइडर म्यान, मिक्की माउस, बाघ आदिका चित्र अंकित नकाबप्रति बच्चाहरूको आकर्षण बढेको छ । विभिन्न किसिमका रङ र अबिरले पसल सजाइएका छन् । होली खेल्न लगाइने सेतो कुर्ताको बिक्रीसमेत बढेको छ ।

होलीको आगमनसँगै फुहड, द्विअर्थी र अश्लील गीतले सहर र गाउँ गुञ्जायमान बनेका छन् । संस्कृत र सभ्यता झल्काउने पुराना गीत लोप भएका छन् । गाउँको पान पसल, बजार र चोकमा यस्ता गीतहरू बज्ने गरेका छन् । यसले समाजमा विकृति फैलाइरहेको पर्सा धोरेका विनोद मेहताले बताए । विगतमा सम्मानसाथ सभ्य तरिकाले मनाउने होली अहिले मानप्रतिष्ठा हनन र कलहको रूप लिएको छ । द्विअर्थी गीतले भोजपुरी भाषाप्रति विकर्षण फैलाउने काम गरेको उनले आरोप लगाए ।

'राम खेले होरी, लक्ष्मण खेले होरी, हाथ लिए बेलपत्र के दउरा मन से महादेव के पूजा हे गौरा... ' जस्ता होलीका पारम्परिक गीत लोप भएका छन् । आपसी भाइचारा र सद्भावसाथ मनाइने होली पछिल्लो समयमा रिस साँध्ने पर्व बनेको छ । गाउँबाट सहर कमाउन गएकाहरू परिवारका साथ होली मनाउन र्फकने क्रम बढेको छ । वर्षको एक दिन होलीमा मासु खान पाउने हुनाले गरिबहरू उत्साहका साथ यो पर्व मनाउँछन् । चार गुणा बढी खसीको मासुको खपत हुने होलीमा पूर्वको लहान, बयलबास, निजगड र सीमावर्ती गाउँबाट खसी ल्याउने गरेको छपकैयाका ग्यासु मिया देवानले बताए । सीमावर्ती विहारमा खसीको मूल्यवृद्धि भएकाले होलीको दिन मूल्य बढ्ने व्यापारीहरू बताउँछन् ।

यसैबीच वीरगन्जमा फागुपर्व तीन दिनसम्म मनाइने भएको छ । पहाडी समुदायले शनिबार होली मनाउने र भोलिपल्ट मधेसी समुदायले होली मनाउने गरिए तापनि आइतबार धेरैले

माछा, मासु नखाने भएकाले सोमबार होली मनाउने भएका छन् ।

रङ कम, नाचगान बढी

- गणेश चौधरी

टीकापुर- सबैका लुगा सेतै छन् । घाँटीमा माला पनि । सेतो लुगा लगाएर लामबद्ध भई होरी खेल्न व्यस्त छन् उनीहरू । साँझ ४ बजेतिरबाट केही दिनअघिदेखि टीकापुरको खुला मैदानमा यो क्रम चलिरहेको छ ।

शिवरात्रिको दिन शिवको मन्दिरमा भजन गाएर होरी पर्वको सुरुवात भएको छ । होरीको रङभन्दा होली देउडाको रौनक बढी छ यहाँ । देउडा पारखीहरूले देउडा खेलमा मायाप्रीति, सद्भाव, सहानुभूति, अभाव, पीडालाई गीतमार्फत प्रस्तुत गर्ने गरेका छन् । यस वर्ष होलीपर्वमा देउडा खेल्नेहरूले मायाप्रीति मात्र नभएर समयमै जनमुखी संविधान निर्माणका लागि दबाब दिनुपर्नेसमेत गीतमार्फत पोख्ने गरेका छन् ।

होरी देउडा दुईवटा समूहमा विभाजन भएर खेलिन्छ । यो खेल खेल्दा सफा सेतो कपडाको पहिरनमा खेलिन्छ । यस खेलमा एक समूहमा कम्तीमा २० देखि २५ जनासम्म खेलाडी हुनुपर्ने हुन्छ जसमा जति खेलाडी संख्या बढी भयो त्यति नै रमाइलो देखिन्छ ।

अछामी समुदायले मनाउँदै आएको यो होलीमा खासगरी महाभारतका पात्रहरूका बारेमा लयबद्ध ढंगले गाउने गरिन्छ । सात दिनसम्म रात-दिनजसो नै होली देउडाका भजन गाएर मनाउने गरिएको होली खेलमा व्यस्त उदयराम अधिकारीले भने- सर्वप्रथम १९९० को दशकमा दण्डी स्वामी महाराजले अछाममा होली देउडा बनाई होली खेल्न सुरु गरेको र सो संस्कृति सुदूरपश्चिमभरि फैलिएको छ । टीकापुरमा पनि अछामी समुदायको बसोबास भएकाले यहाँ पनि भव्यरूपमा मनाइँदै आएको छ ।

होलीको लाइनमा देखिने अधिकांश व्यक्तिहरू ४० वर्षभन्दा बढी उमेरका छन् । होली देउडाको परम्परा जोगाइ राख्न युवाहरू सक्रिय हुनुपर्ने टीकापुर सांस्कृतिक समाजका अध्यक्ष गोपिराज ढुंगानाले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks