महेश आचार्य
नयाँदिल्ली, चैत्र ४ - एकीकृत माओवादी र भारतबीच सम्बन्ध सुधारको प्रयासलाई यहाँ उच्चस्तरीय राजनीतिक तहमा तीव्रता दिइएको छ । विशेषगरी जनता दल युनाइटेड (जेडीयू) का अध्यक्ष शरद यादवले माओवादी र भारतबीच अवरुद्ध औपचारिक संवादको थालनीका लागि पहल तीव्र पारेका हुन् ।
भारतको विपक्षी गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स् (एनडीए) का संयोजकसमेत रहेका यादवले भारतीय विदेशमन्त्री एसएम कृष्णासँग बिहीबार बिहान भएको भेटमा नेपालसम्बन्धी विषय उठाएका थिए ।
'भेटमा दक्षिण एसियाली मामिला खासगरी नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे छलफल भयो,' यादवका सहयोगी एवं जेडीयूका महासचिव केसी त्यागीले कान्तिपुरसँग भने । उनका अनुसार भेटमा यादवले एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा माओवादीको समर्थनमा बनेको सरकारलाई भारतले सहयोग गर्नुपर्ने धारणा कृष्णासमक्ष राखेका थिए । माओवादी नेपालको सबभन्दा ठूलो शक्ति भएको तथा पछिल्लो लोकतान्त्रिक आन्दोलनको पनि महत्त्वपूर्ण अंग भएकाले भारतले माओवादीलाई नजरअन्दाज गर्न नहुने सुझाव यादवले दिएको त्यागीले बताए ।
त्यसअघि फागुन २८ गते यादवले प्रधानमन्त्री मनमोहन सिंहलाई भेटी नेपालको वर्तमान सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए । उक्त भेटमा यादवले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई लेखेको पत्र पनि प्रधानमन्त्री सिंहलाई देखाएका थिए । चिठीको पूरा विषयवस्तुबारे खुलाउन नचाहे पनि त्यागीले त्यसमा दाहालले भारतसँग सम्बन्ध सुधार गर्न चाहेको र नेपाल-भारतबीच सौहार्द सम्बन्ध कायम रहोस् भन्ने कामना गरेको जानकारी दिए ।
जेडीयू अध्यक्ष यादवले पनि गत महिना अध्यक्ष दाहाललाई पत्र लेखी यही मार्च महिनाभित्र भारत भ्रमणको निम्तो दिएका थिए । उक्त पत्रको सकारात्मक जवाफ दिँदै दाहालले उनलाई जवाफी पत्र पठाएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा यादवले नेपाली माओवादीसँग भारतीय सरकारले संवाद पुनः थालनी गर्नुपर्ने सुझाव दिएको उनका सहयोगीहरूले बताएका छन् ।
उक्त भेटलगत्तै त्यसै दिन प्रधानमन्त्री सिंहले राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलाई यादवसँग कुराकानीका लागि पठाएका थिए । भेटमा मेननले अहिले भारतमा संसद् चलिरहेकाले दाहाललाई भारत निम्त्याउनेबारे उपयुक्त समय मिलाएर यादवलाई खबर गर्ने बताएको त्यागीले जानकारी दिए ।
भारतको विपक्षी गठबन्धनका प्रमुख यादवले दुई दिनअघि संसद्मा नेपाल मामिलामा बोल्दै भारत सरकारले माओवादी र एमाले गठबन्धनको सरकारलाई मद्दत गर्नुपर्ने धारणा राखेका थिए । 'नेपालमा कस्तो सरकार बनाउने भन्ने विषय त्यहाँका जनताले चुन्ने विषय हो । भारतले नेपाली जनताले चुनेको सरकारलाई सघाउनुपर्छ,' उनले संसद्मा भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks