Loving nepal news

Thursday, March 17, 2011

मजदुर विवादले दाहाल-वैद्य दूरी बढ्यो


गंगा बीसी

काठमाडौं, चैत्र ४ - गोरखाको पालुङटार बैठकमा एक भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच मजदुर संगठनको विवादका कारण दूरी बढेको छ ।

दाहाल पक्षका मजदुर संगठनका अध्यक्ष शालिकराम जमरकट्टेल र वैद्य पक्षका बद्री बजगाईंबीच चर्को विवाद र विभाजनपछि दुई पक्षबीच दूरी बढेको हो ।

मंसिर पहिलो साता पालुङटारमा 'जनविद्रोहलाई मुख्य कार्यदिशा' बनाउने बेला एक ठाउँमा उभिएका दाहाल र वैद्य माघ तेस्रो साता मजदुर संगठनको विभाजनपछि टाढिन थालेका छन् । स्रोतअनुसार वैद्यले दाहाललाई पटकपटक अखिल नेपाल टे्रड युनियनका अध्यक्ष जमरकट्टेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो पक्ष (बद्री) लाई पनि उचित जिम्मेवारी दिन आग्रह गर्दै आएका छन् । माओवादीको शक्तिशाली संगठनमा लामो समयदेखि कब्जा जमाउँदै आएका जमरकट्टेलको कार्यशैली अझै सुधार नभएको वैद्यको आरोप छ ।

'मजदुरको विवाद मिलाउन नसक्दा दुई नेताको एकता हो कि होइन भन्ने प्रश्न उठेको छ,' वैद्य निकट एक नेताले भने, 'वैद्यले पटकपटक गरेको आग्रह अध्यक्ष प्रचण्डले सुन्नु भएको छैन ।' दाहाल र वैद्य पक्षका मजदुरबीच चर्को विवाद छ ।

अध्यक्ष दाहालले जमरकट्टेललाई संरक्षण दिएको आरोप लगाउँदै बाध्य भएर समानान्तर संगठन बनाएको वैद्य पक्षको भनाइ छ । केन्द्रीय सदस्य एवं अखिल नेपाल टे्रड युनियनका पूर्वअध्यक्ष कुमार दाहालले डेढ वर्षदेखि जिम्मेवारी नपाएकाले बाध्य भएर संगठन निर्माण गरेको बताए । 'डेढ वर्षदेखि गलत ढंगले संगठनमा एकाधिकार जमाउने प्रयत्न भएपछि अर्को मजदुर नेताहरूले जिम्मेवारी खोजेका हुन्' उनले कान्तिपुरसँग भने, 'फरक विचारलाई नसहने प्रवृत्ति नै समस्याको जड हो ।'

बजगाईंले माघ २२ गते समानान्तर मजदुर संगठन बनाएका थिए । त्यसपछि उनको समूहले फरकफरक भेला गर्दै आएको छ । केन्द्रीय सदस्य दाहालले संस्थापन पक्षको एकाधिकारलाई निरुत्साहन गरेमात्र मजदुर संगठन एक हुने बताए । 'मजदुर संगठनको विवाद मिलाउन नेतृत्वले हस्तक्षेप गर्न सकेको छैन,' उनले जमरकट्टेल समूहतिर संकेत गर्दै भने, 'आफ्नो पक्षका गलत काम गर्नेलाई निरुत्साहित गरी मजदुर संगठनलाई एकताबद्ध गराउनुपर्छ ।' दुई साताअघि स्थायी समिति बैठकमा आफ्ना पक्षका मजदुर कुटिएपछि दाहालको गम्भीर ध्यानाकर्षण गराएको एक नेताले बताए ।

शनिबार बजगाईं समूहको भेलामा सचिव सीपी गजुरेलले मान्यता दिएका थिए । त्यसपछि दाहाल पक्षका पोलिटब्युरो सदस्य एवं मजदुर इन्चार्ज शक्ति बस्नेतले वरिष्ठ नेताहरूले पार्टी निर्णय उल्लंघन गरेको भन्दै पार्टीले गम्भीर छानबिन गर्नुपर्ने बताएका थिए । 'नेताहरूबाट एक पछि अर्को गर्दै पार्टी निर्णय उल्लंघन भएको छ, पार्टीले गम्भीरतापूर्वक छानबिन गर्नुपर्छ,' उनले भनेका थिए । त्यसअघि आफ्नो पक्षको मजदुर भेलामा उपाध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरू सहभागी भएका थिए ।

बिहीबार पनि राजधानीको लाजिम्पाटस्थित एक होटलमा मजदुर भट्टराई पक्षका मजदुरको नेवाः राज्य समितिको भेला भएको छ । त्यो पक्षका संयोजक लालध्वज नेम्वाङले उमेश लामाको संयोजकत्वमा मजदुरको नेवाः राज्यसमिति गठन गरेको जनाए । भेलामा भट्टराई निटक नेताहरू राम कार्की, हिसिला यमी र नवराज सुवेदी सहभागी थिए । तीन पक्ष (दाहाल, वैद्य र भट्टराई) का मजदुरले केन्द्रदेखि जिल्ला तहसम्म समानान्तर समिति गठन गर्न थालेका छन् ।

'विभाजन भएको मजदुर संगठनलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ,' कार्कीले कान्तिपुरसँग भने, 'एकताका लागि दबाब दिन भेला भएको हो ।' नेम्वाङले तीन महिनाभित्र मजदुर विवाद समाधान गर्न पार्टीलाई तीन महिने अल्टिमेटम दिएको पनि जनाए ।

सचिव सीपी गजुरेलले तीनवटै मजदुर संगठनलाई मिलाउने विषय आगामी स्थायी समिति बैठकको एउटा एजेन्डा भएको बताए । 'अब बस्ने स्थायी समिति बैठकमा मजदुरका समस्या समाधान गर्ने एउटा एजेन्डा हुन्छ,' उनले भने, 'यो समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी गम्भीर छौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks