Loving nepal news

Tuesday, February 22, 2011

खनाललाई थप्पड हान्नेलाई पुनः तारेख * प्रशासनमा हात मिलाउन धेरै झुम्मिए


अबधेशकुमार झा

इनरुवा (सुनसरी), फाल्गुन १० - एक महिना अघि एमाले अध्यक्ष झलनाथ खनाललाई सार्वजनिक कार्यक्रममै थप्पड हानेर चर्चामा आएका सुनसरी भरौलका देविप्रसाद रेग्मीलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले पुनः एक महिने तारेख दिएको छ ।

खनाललाई झपड हानेपछि सार्वजनिक अपराधको मुद्दा खेपीरहेका रेग्मी मंगलबार पहिलो पटक तारेख लिन जिल्ला प्रसासन कार्यालयमा हाजिर हुँदा प्रसासनले पुन चैत १० गते हाजिर हुन आउने गरी अर्को तारेख तोकेको छ । एमाले अध्यक्ष झलनाथ खनाललाई गत माघ ६ गते इटहरीमा आयोजित कार्यक्रममा पार्टी प्रबेश गर्नेहरुको लाइनमा लागेर सुनसरी भरौल १ का ४९ वर्षीय रेग्मीले थप्पड हानेका थिए ।

खनाललाई थप्पड हानेलगत्तै प्रहरीद्वारा नियन्त्रणमा लिइएका रेग्मीलाई माघ १० गते जिल्ला प्रशासन कार्यालय सुनसरीले एक हजार धरौटी लिएर रिहा गरेको थियो । थप्पड हानेपछि तत्कालै प्रहरीले पक्राउ गरि रेग्मीमाथी सार्वजनिक अपराधको मुद्दा दर्ता गरि १५ दिनको म्याद थप गरेपछि घटनाको चारदिन पछि नै एक हजार धरौटीमा एक महिने तारेख दिएर रिहा गरिएको थियो । रिहा भएपछि एक महिने तारेख लिन मंगलबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालय सुनसरी पुगेका रेग्मीलाई पुनः चैत १० गते हाजिर हुने गरि तारेख तोकिएको जिल्ला प्रसासन कार्यालय सुनसरीले जनाएको छ ।

प्रशासनमा तारेख लिन पुग्दा रेग्मीसँग हात मिलाउनेहरुको भिड भएको थियो । कार्यालय खुल्ने बित्तिकै जिल्ला प्रसासन पुगेका उनिसित कार्यालयका कर्मचारी र अन्य सेवाग्राहीहरु समेतले खै तपाईंको हात भन्दै खुसी साथ हात मिलाएका थिए ।

तारेख लिइसकेपछि कान्तिपुरसित कुरा गर्दे रेग्मीले आफूजस्तो साधारण नेपाली नागरिकलाई कानुनी दाउपेचमा अल्झाउन खोजिएको आरोप लगाए । ठुला ठुला अपराध गरेकाहरु सत्ता र महलमा बस्ने अनि मैलै देश र जनताका लागि झापड हान्दा सार्वजनिक अपराध मुद्धा लगाएर तारेख थपेर अन्याय गरिएको दाबी गरे । 'यो मलाई दुखः दिन खोजिएको मात्र हो ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks