Loving nepal news

Thursday, February 24, 2011

नेपाली संस्थालाई लाख डलरको पुरस्कार


प्रताप विष्ट


हेटौंडा, फाल्गुन १३ - चेपाङ र वनकरिया समुदायमा केन्दि्रत रही ८ वर्षदेखि वातावरण संरक्षण र सामाजिक विकासमा काम गर्दै आएको मकवानपुरको 'मनहरी विकास संस्था' (एमडीआई) ले एक लाख अमेरिकी डलर राशिको राष्ट्रसंघीय वातावरण कार्यक्रमको 'यूएनईपी सासाकावा पुरस्कार' पाएको छ ।

यस्तैखाले काम गर्ने ग्वाटेमालाको एएफआईएसएपीले पनि लाख डलरकै यही पुरस्कार पाएको छ । केन्याको नैरोवीमा भएको भव्य राष्ट्रसंघीय कार्यक्रममा जापानका पूर्ववातावरणमन्त्री वाकाको हिरोनाकाले बुधबार दुवै संस्थाका प्रतिनिधिलाई पुरस्कार प्रदान गरेका हुन् । मनहरी विकास संस्थाका कार्यकारी निर्देशक खोपनारायण श्रेष्ठले समारोहमा पुरस्कार ग्रहण गरेका थिए । पुरस्कारबाट सम्मानित हुने नेपालको यो पहिलो संस्था हो । प्राप्त पुरस्कार राशि मकवानपुरकै भीरपाखाको उत्पादकत्व बढाउने काममा खर्च गरिने संस्थाले जनाएको छ । संस्थाले सन् २००८ मा एसिया र प्रशान्त क्षेत्रस्तरको रियोतारो हासिमोतो एपीएर्फइडी पुरस्कार पनि पाएको थियो ।

पुरस्कार पाएपछि टेलिफोनमार्फत श्रेष्ठले भने, 'विकट क्षेत्रमा काम गर्ने संघसंस्थाको पनि मूल्यांकन हुँदो रहेछ ।' यो पुरस्कारले विकट र लोपोन्मुख जातिका क्षेत्रमा काम गर्न ऊर्जा थपेको उनले बताए । कन्दमूल खाएर जीविकोपार्जन गर्ने चेपाङ बस्तीमा एमडीआईले कामका लागि खाद्यान्न कार्यक्रम पनि सञ्चालन गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks