
सुजित महत
काठमाडौ, फाल्गुन १३ - उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल जारी गर्ने व्यवसायी 'नक्कली नोटको कारोबारीसरह अपराधी' भएको भन्दै तिनलाई अधिकतम सजाय गर्न सम्बद्ध निकायलाई बिहीबार निर्देशन दिएका छन् । मन्त्रालयमा आयोजित राजस्व असुलीको समीक्षा तथा राजस्व चुहावट नियन्त्रणसम्बन्धी बैठकमा मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
मन्त्रीको यस्तो निर्देशनसँग आन्तरिक राजस्व विभागले गरिरहेको मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल प्रयोग गर्ने कम्पनीको अनुसन्धान प्रभावित हुने आशंका समाप्त भएको छ ।
विभागले अनुसन्धान गरिरहेको ४५ कम्पनीबाट अहिलेसम्म करिब ४ अर्ब रुपैयाँको नक्कली बिल फेला परेको छ । ती कम्पनीबाट २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी राजस्व असुली हुने अर्थसम्बद्ध स्रोतले जनाएको छ ।
मन्त्रीले अधिकतम सजाय गर्ने निर्देशनका कारण नक्कली बिलको अनुसन्धानमा दोषी पाइएका केहीले जरिवाना र ब्याज मिनाहाका लागि गरेको प्रयास पनि सफल नहुने देखिएको छ । केही व्यवसायीले जरिवाना र ब्याज मिनाहा गरी राजस्व बुझाउने गरी नक्कली बिलको स्वैच्छिक घोषणा गर्न मौका पाउन प्रयास गरिरहेका थिए ।
नक्कली बिलको अनुसन्धानको सुरु भएपछि आयकर असुलीमा उल्लेख्य वृद्धि देखिएको छ । नक्कली बिल प्रयोग गरेर खर्च बढेको देखाई मुनाफा घटी देखाएर आयकर छल्ने प्रवृत्ति निरुत्साहित भएकाले आयकर असुली वृद्धि भएको आन्तरिक राजस्वका उपमहानिर्देशक लक्ष्मण अर्यालले बताए । गत आर्थिक वर्षभन्दा आयकर २८ प्रतिशत बढी असुली भएको छ । गत आवमा अघिल्लो वर्षको तुलनामा २० प्रतिशतको वृद्धिदर थियो । आयकर २१ अर्ब ३५ करोड रुपैयाँ संकलन भएको छ । माघसम्म १९ अर्ब ८४ करोड रुपैयाँ असुली गर्ने लक्ष्य थियो । पैठारी कम भई अन्तःशुल्क र भ्याटको असुली कम भएको बेला आयकरचाहिँ वृद्धि हुनुको कारण यसैलाई मानिएको छ ।
चालू आवको माघसम्म २ खर्ब ७ अर्ब ६७ करोड रुपैयाँ राजस्व असुली भएको छ । राजस्व असुलीको वृद्धिदर १४.२ प्रतिशत रहेको छ । भन्सार महसुलतर्फ २० अर्ब ६६ करोड रुपैयाँ, भ्याट ३४ अर्ब ३५ करोड रुपैयाँ, अन्तःशुल्क १५ अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ । यस्तै रजिस्ट्रेसन दस्तुर १ अर्ब ८२ करोड रुपैयाँ, सवारी साधन कर १ अर्ब ८८ करोड रुपैयाँ र गैरकरतर्फ १२ अर्ब २० करोड असुली भएको छ ।
पैठारी कम भएको कारण अन्तःशुल्क र भ्याटको असुलीमा पनि केही कमी देखिए पनि आयकर असुली भने सन्तोषजनक रहेको राजस्व सचिव कृष्णहरि बाँस्कोटाले बताए । औद्योगिक उत्पादनमा विद्युत् आपूर्तिले गम्भीर असर पुर्याउनुका साथै सुन र सुपारीको पैठारी तथा गिट्टी बालुवाको निकासी बन्द भएकाले राजस्व असुली प्रभावित भएको भन्सार विभागका महानिर्देशक नवराज भण्डारीले बताए । तैपनि चालू आवको निर्धारित २ खर्ब १६ अर्ब ६४ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य पूरा नहुने विश्वास बाँस्कोटाले व्यक्त गरे ।
बैठकमा उपप्रधानमन्त्रीले अर्थ मन्त्रालयका कर्मचारी अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य रहेको दाबी गर्दै राजस्व असुलीमा तारिफयोग्य काम गरेको जिकिर गरे । साथै आफ्नो योग्यतालाई लक्ष्यअनुसारको राजस्व असुली गरी प्रमाणित गर्न आग्रह गरेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks