
अब्दुल्लाह मियाँ
काठमाडौ, फाल्गुन २७ - गौतम बुद्धको जन्मस्थल लुम्बिनी, तिलौराकोट र मावली रामग्राम (नवलपरासी) मा २५ सय वर्षअघि कुन प्रजातिका रूख थिए होलान् ? तीमध्ये कति प्रजाति बाँकी होलान् ?
एकिन तथ्यांक वन मन्त्रालय र सम्बन्धित जिल्ला वन कार्यालयसँग पनि छैन । तर अनुसन्धानकर्ताहरूले बुद्धकालीन अवस्थाका धेरै रूखका प्रजाति लुम्बिनीबाट हराइसकेको बताएका छन् ।
जर्मनीलगायत विभिन्न मुलुकका अनुसन्धानकर्ताको अध्ययनले सिसौबाहेक त्यतिबेलाका धेरै प्रजातिका रूख/बिरुवा हराइसकेको निष्कर्ष निकालेका छन् । त्यसैले लुम्बिनीलाई बुद्धकालीन रूखका प्रजातिहरूले फेरि हराभरा बनाउने प्रयास थालिएको छ ।
वन तथा भूसंरक्षण र संस्कृति मन्त्रालयका साथै लुम्बिनी विकास कोष त्यो अभियानमा छन् । गौतम बुद्धको समयका पीपल, कदम, जामुन, सीता अशोक, बरलगायत औषधिजन्य र अन्य साधारण वनस्पतिका बिरुवा लुम्बिनी क्षेत्रमा अब रोपिनेछ ।
पर्यटन वर्ष र अन्तर्राष्ट्रिय वन वर्षको अवसरमा बुद्धकालीन रूखका प्रजाति लगाउन अभियान थालिएको हो । 'लुम्बिनी क्षेत्रमा बुद्धकालीन परिवेश निम्त्याउन खोजिएको हो,' वन मन्त्रालयका सचिव युवराज भुसालले भने, 'त्यसो हुँदा अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको महत्त्व बढाउन मद्दत पुग्छ ।' सरकारले सन् २०११ लाई 'प्लान्ट होलिडे' घोषणा गर्दै काँचा रूख नकाट्न भनेको छ ।
वन मन्त्रालय मातहतको वन र वनस्पति विभागका साथै तराई भूपरिधि कार्यक्रम (ताल) ले ती बिरुवा उपलब्ध गराउनेछ भने पुरातत्त्व विभाग र लुम्बिनी विकास कोषले ठाउँ पहिचान गर्नेछन् ।
यही आर्थिक वर्षभित्र कपिलवस्तुको लुम्बिनी र तिलौराकोट, रूपन्देही र नवलपरासी (रामग्राम) मा बुद्धकालीन रूखका प्रजाति लगाउन थालिने वन सचिव भुसालले बताए । 'लुम्बिनी क्षेत्रमा बुद्धको समयको वातावरणलाई ब्युँताउने प्रयास हो,' भुसालले भने ।
लुम्बिनी विकास कोषका सदस्य सचिव राजेन्द्रबहादुर थापा मगरले लुम्बिनीको गुरुयोजना तयार गर्दा प्रा.केन्जो ताङ्गेले लुम्बिनीको ६० प्रतिशत हरियाली क्षेत्र बनाउने उल्लेख गरेकाले त्यसलाई कार्यान्वयन गर्न बुद्धकालीन रूखहरू रोप्न लागेको बताए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks