Loving nepal news

Thursday, March 10, 2011

५० दिनभित्र लडाकु समायोजन सक्ने तयारी


सरोजराज अधिकारी

काठमाडौं, फाल्गुन २७ - प्रमुख तीन दल माओवादी, कांग्रेस र एमाले बैठकले माओवादी सेनाका लडाकुको समायोजन तथा पुनःस्थापनाको काम ५० दिनभित्र सक्ने तयारी गरेका छन् । दलहरूबीच मोडालिटीबारे सहमति छिट्टै गर्ने ती दलका नेताले बताएका छन् ।

कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले पाँच दिनभित्र 'मोडालिटी' सहितको कार्यतालिका बनाइने बैठकपछि बिहीबार जानकारी दिए । 'पाँच दिनभित्र मोडालिटी र कार्यतालिका बनाउने कुरा भएको छ,' उनले भने, 'त्यसपछि तीन दलका शीर्ष तहमा छलफल गरी निष्कर्ष निकालिनेछ ।'

मोडालिटी र कार्यतालिका सेना समायोजन विशेष समितिलाई बनाउने जिम्मा दिइएको छ । समिति सचिवालयको सहयोगमा मोडालिटी र कार्यतालिका बनाइनेछ ।

बैठकमा सहभागी एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले ४५ देखि ५० दिनभित्र लडाकु समायोजन र पुनःस्थापना सकिने गरी कार्यतालिका बन्ने बताए । 'विशेष समितिले बिहीबारदेखि गृहकार्य गर्नेछ,' शान्ति मन्त्रालयमा बिहीबारको बैठकपछि उनले भने ।

शान्ति तथा पुनर्निर्माणमन्त्री वर्षमान पुनले सानो कार्यदल बनाई समायोजन मोडालिटी र पुनःस्थापना प्याकेजमा बनाउने जानकारी दिए । 'सानो कार्यदलले मोडालिटी र प्याकेजमा छलफल गर्नेछ,' उनले भने, 'छिट्टै शान्ति प्रक्रिया अघि बढाउने सहमति भयो ।'

समायोजन र पुनःस्थापनाका लागि लडाकु तथा हतियार अनुगमन विशेष समितिमा जनशक्ति नियुक्ति गर्ने सहमति भएको थियो । बैठकमा कांग्रेसले लडाकुलाई व्यावहारिक रूपमा लिएर प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेको थियो । तीन दल बैठकअघि प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि शान्ति प्रक्रिया अघि बढाउनेबारे छलफल भएको थियो ।

एमालेसँगको सातबुँदे सहमति आधारमा समायोजन मोडेल बनाउने अडानमा माओवादी छ । सहमतिमा लडाकुको छुट्टै वा मिश्रति फोर्स (बल) बनाउने उल्लेख छ । कांग्रेसले भने सात बुँदे सहमतिका आधारमा मोडालिटी बन्न नसक्ने जनाएको छ । 'सातबुँदे सहमतिबारे जानकारी छैन,' तीन दलको बैठकपछि कांग्रेस नेता पौडेलले भने, 'हामी सातबँुदेलाई छाडेर छलफल गरिरहेका छौं ।'

विशेष समितिको अपराह्न बसेको बैठकमा मोडालिटीबारे छलफल भएको थियो । हतियार अनुगमनका लागि थप जनशक्ति भर्ना गर्नेबारे बैठकले निर्णय गर्न सकेन ।

प्रधानमन्त्री, दाहाल र यादवबीच छलफल

प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बिहीबार अपरान्ह छलफल भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा झण्डै डेढ घण्टा भएको छलफल फोरमलाई सरकारमा ल्याउने र शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित थियो । फोरमले आफ्नो अवधारणापत्रमा सहमति जनाए सरकारमा जाने निर्णय गरिसकेको छ । बैठकमा शान्ति प्रक्रियाबारे प्रधानमन्त्रीसँग छलफल भएको माओवादी अध्यक्ष दाहालले जानकारी दिए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks