
सरोजराज अधिकारी
काठमाडौं, चैत्र ६ - प्रमुख विपक्षी कांग्रेस पनि सरकारमा आउने भए सात बुँदे सहमति परिमार्जन गर्न माओवादी सकारात्मक देखिएको छ ।
एमाले वार्ता टोली र माओवादी नेताहरुबीच आइतबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा भएको छलफलमा माओवादीले कांग्रेस पनि सरकारमा आउने भए नयाँ सहमति गर्न सकिने बतायो । 'सात बुँदे सहमति चाँही केही होइन भन्ने होइन,' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'यदि कांग्रेस पनि सरकारमा आउँछ भने नयाँ सहमति गर्न तयार छौं ।'
कांग्रेसलाई सरकारमा ल्याउन सात बुँदेमै अडिएर बस्न नहुने एमाले बरिष्ठ नेता एवं पार्टीका तर्फबाट वार्ता टोली संयोजक माधवकुमार नेपालले बताए । 'वर्तमान सरकारलाई नै राष्ट्रिय सरकारको स्वरुप दिन कांग्रेसलाई सरकारमा ल्याउनैपर्छ,' उनले भने, 'त्यसका लागि सात बुँदे वा गृह मन्त्रालयकै अडान राखिरहनु उचित हुँदैन ।'
दुई दलका शीर्ष नेताहरुबीच संविधान निर्माण र शान्ति प्रक्रियालाई तोकिएकै समयमा पूरा गर्ने विषयमा पनि छलफल भएको नेता नेपालले बताए । संविधान निर्माण केही अघि बढे पनि शान्ति प्रक्रियाको बाँकी काम सुरु हुन नसकेको उनले बताए । 'विशेष समितिमा जनशक्ति पठाउने, लडाकु समायोजनको 'मोडालिटी' कस्तो बनाउने विषयमा पनि छलफल भयो,' उनले भने ।
बैठकमा माओवादीले संविधान निर्माण र शान्ति प्रक्रियालाई तोकिएकै समयभित्र पूरा गर्ने प्रतिबद्धता जनाएको माओवादी उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । बैठकमा एमालेका तर्फबाट वार्ता टोलीका संयोजक नेपालसहित बामदेव गौतम, अशोककुमार राई, ईश्वर पोखरेललगायतका नेताहरु थिए भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापालगायतका नेताहरु सहभागी थिए ।
दुई दलबीच कांग्रेसलगायत मधेसवादी दलहरुसित पनि छलफललाई निरन्तरता दिने सहमति भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks