Loving nepal news

Friday, March 4, 2011

३ वर्षमा 'सबै नेपालीका हातमा फोन’


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन २१ - तीन वर्षभित्र मुलुकका सबै बासिन्दाका हातमा फोन सेवा पुग्ने दूरसञ्चार प्राधिकरणले उद्घोष गरेको छ । अहिलेकै दरमा आधारभूत तथा मोबाइल विस्तार भए तीन वर्षमा सम्भव हुने देखिएको हो ।

प्राधिकरणको १३औं वाषिर्कोत्सवको अवसरमा अध्यक्ष भेषराज कँडेलले भने, 'हालसम्म १ करोड ३० लाखले फोन प्रयोग गरिरहेका छन् ।' कुल जनसंख्याको झन्डै ३८ प्रतिशतमा फोन पुगेको छ । हालको दूरसञ्चार वृद्धिदर ४२ दशमलव ५ प्रतिशत छ । 'यस आधारमा तीन वर्षमा शत प्रतिशतमा फोन पहुँच पुग्नेछ,' उनले भने । प्राधिकरणको तथ्यांक अनुसार एक वर्षमा झन्डै दूरसञ्चार घनत्व ११ प्रतिशतले बढेको छ । गत मंसिरमा २६ प्रतिशतमा टेलिफोन सेवा रहेकामा यस मंसिरमा आइपुग्दा यो ३७ प्रतिशत नाघेको छ ।

अहिले ६ वटा भ्वाइस सेवा प्रदायक भएका र भ्वाइस ओभर ब्रोडब्यान्ड सेवा खुला गरिएको अवस्थामा अझ ३ सेवा प्रदायक थपिन सक्ने बताए । सेवा प्रदायक बीच सहज अन्तरआबद्धता उपलब्ध गराउन बेग्लै अन्तरआबद्धता सेवा प्रदायक आवश्यक भएको बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले यस क्षेत्रको विकास तीव्र भए पनि यसको गुणस्तर सुधार अत्यावश्यक भएको बताए । शुक्रबार सूचना तथा सञ्चार मन्त्रीको शपथ लिएपछि दूरसञ्चार प्राधिकरणको १३ औं वाषिर्कोत्सव उद्घाटनमा उनी सोझै आएको

थिए । उनी यसअघिको माओवादीको सरकारमा पनि सञ्चारमन्त्री भएका थिए । 'अहिले दूरसञ्चार क्षेत्रको विकासका लागि मुख्य दुई कुरा आवश्यक छ,' उनले भने, 'ग्रामीण क्षेत्रमा इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्नुपर्छ । साथै अहिले भइरहेका सेवालाई गुणस्तरीय बनाउनुपर्छ ।'

अध्यक्ष कँडेलले मोबाइल गुणस्तरको मापन गर्ने विधि तयार गरिएको भन्दै यो छिट्टै लागू गरिने बताए । उनका अनुसार दूरसञ्चार क्षेत्रबाट मात्र वाषिर्क करिब ३५ अर्ब आर्जन हुन्छ । यो कुल गार्हस्थ उत्पादनको ३ दशमलव ३ प्रतिशत हो । प्राधिकरणका अनुसार यस क्षेत्रबाट राज्यले वाषिर्क २० अर्ब राजस्व पाएको छ । उनले १७ वर्षअघि बनेको दूरसञ्चार ऐन संशोधन आवश्यक भएको भन्दै त्यसका लागि काम भइरहेको बताए । सरकारले लिएको महत्त्वपूर्ण ई-गभर्नेन्स कार्यक्रमलाई सहयोग पुर्‍याउन ब्रोडब्यान्ड विस्तारलाई प्राथमिकतामा राखिएको बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks