Loving nepal news

Wednesday, March 9, 2011

विकासकालागि शिक्षा अनिवार्य शर्तः राष्ट्रपति


अमन कोइराला\

सर्लाही, फाल्गुन २५ - राष्ट्रपति रामवरण यादवले मुलुकको विकासका लागि शिक्षा अनिवार्य शर्त रहेको बताएका छन् । समान रुपमा महिला र पुरुष शिक्षित रहेका मुलुकहरु विकासमा अगाडि रहेको चर्चा गर्दै उनले विकासका लागि शिक्षामा जोड दिनुपर्ने बताए ।

सर्लाहीको लालबन्दीमा बुधबार जनज्योती बहुमुखी क्याम्पसको १० औं वाषिर्कोत्सव समारोहमा सहभागी भएका राष्ट्रपति यादवले शिक्षा,स्वाथ्य र वातावरण देशको मेरुदण्ड भएको उल्लेख गरे । 'विकसित देशबाट हामीले सिक्नुपर्छ,'उनले भने-'महिला र पुरुषले समान शिक्षा पाएका कारण ती मुलुकहरु विकसित भएका छन् । हामी सबै पनि शिक्षा क्षेत्रको विकासमा जुट्नुपर्छ ।'

उनले उर्जा संकटले देशको उद्योग धन्दा खत्तम भइरहेको भन्दै उर्जा संकट टार्न जरुरी भएको बताए । 'उर्जाका लागि ठूलो स्रोत हामीसंग छ,'उनले भने-'त्यसको उपयोग गर्न सक्यौं भने उर्जा संकट टर्नुका साथै मुलुकले आर्थिक प्रगति गर्न सक्छ ।'

उनले चुरे पर्वत श्रृखंलादेखि तराईको फाँट सम्ममा ६० प्रतिशत जनताको बसोबास रहेको र चुरेको विनाशले ती जनता प्रभावित भइरहेकोमा चिन्ता व्यक्त गरे । उनले चुरे र जंगलको संरक्षणमा सबै जुट्नुपर्ने बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks