Loving nepal news

Friday, March 11, 2011

जापानमा नेपाली सुरक्षित


होम कार्की

काठमाडौ, फाल्गुन २८ - जापानमा भूकम्प र त्यसपछि आएको सुनामीबाट नेपाली सुरक्षित छन् । सुनामीले सबैभन्दा बढी क्षति पुर्‍याएको सेन्डाई सहरमा झन्डै सय नेपाली विद्यार्थी सुरक्षित रूपमा बसिरहेका छन् ।

मुख्य प्रभावित सेन्डाईबाट सम्पर्कमा आएका विद्यार्थी गोर्खाका राजेश थापाका अनुसार त्यस क्षेत्रमा अध्ययनरत विद्यार्थी एकै ठाउँमा भेला भइरहेका छन् । 'हामी समुद्री तटभन्दा टाढा रहेकाले छालले भेटेन । छाल झन्डै १० मिटरमाथिसम्म पुगेको थियो,' शुक्रबार राति उनले भने, 'जापानीसँगै झन्डै ५०/६० नेपाली विद्यार्थी कलेज चउरमा बसिरहेका छौं ।'

गैरआवासीय नेपाली संघ जापानका उपाध्यक्ष चितवनका भूषण घिमिरेका अनुसार राति १० बजेसम्म नेपालीलाई क्षति पुगेको विवरण प्राप्त भएको छैन । 'प्रभावित क्षेत्रमा बस्दै आएका नेपालीसँग सम्पर्क भइरहेको छ,' उनले फोनमा कान्तिपुरलाई भने ।

जापानस्थित नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपाली संघसंस्थाबाट नेपालीको अवस्थाबारे विवरण लिइरहेको छ । भूकम्पबाट मुख्य प्रभावित क्षेत्र सेन्डाई हो । त्यस क्षेत्रमा विद्यार्थी मात्रै रहेको उनले जनाए । 'यहाँ कृषि उत्पादन बढी हुन्छ, नेपालीलाई काम गर्ने अनुमति छैन,' उनले भने, 'विद्यार्थी सम्पर्कमा आइसकेका छन् ।'

जापानको अध्यागमन विभागका अनुसार सन् २००९ सम्म नेपालीको संख्या १५ हजार २ सय ५५ छ । घिमिरेका अनुसार यो संख्या बढेर २० हजार पुगेको अनुमान छ । जापानमा नेपाली बढी होटल क्षेत्रमा काम गर्छन् । त्यहाँ व्यवसाय गर्दै आएका नेपाली पनि धेरै छन् ।

सेन्डाईबाट दोस्रो प्रभावित क्षेत्र टोकियो हो । त्यसबाहेक नागोया, ओसाका सहरमा पनि बढी असर परेको छ । 'टोकियोमा पनि नेपाली दाजुभाइलाई असर परेको छैन,' उनले भने, 'सबैजनाले सतर्कता अपनाइरहेका छन् ।'

'नेपालीहरू खुला पार्किङमा बसिरहेका छौं,' कोइबामा रहेका हेटौंडाका कमल अधिकारीले शुक्रबार राति फोनमा भने, 'निकै त्रास छ, स्थिति भयावह छ । जापानीहरू एकअर्काका हात समातेर रोइरहेका छन् ।' उनीसँग कुराकानी भइरहँदा माइकिङ भइरहेको आवाज थियो । 'सरकारी अधिकारीले सुरक्षित हुने उपाय सुनाइरहेका छन्,' उनले भने, 'हामीलाई ग्यास बन्द गर्न भनिएको छ । खुला ठाउँमै बस्न अनुरोध गरिएको छ ।'

जापानमा होटल व्यवसायी गर्दै आएका बागलुङ दीपक सुवेदी र हरि पोखरेलका अनुसार पनि नेपालीलाई क्षति पुगेको जानकारी रातिसम्म आएको छैन । योकोहामामा रहेका भक्तपुर ठिमीका हरि खड्काले सहरमा पानी, बिजुली र ग्यास केही नभएको जानकारी दिए । 'दस-दस मिनेटमा भुइँचालो गइरहेको छ,' उनले भने, 'यहाँ सुनामी भने आएको छैन ।'

नेपालीले चलाएको रेस्टुरेन्टमा काम गर्ने खड्काले त्यसका साहू बुद्धि तिवारी, उनकी श्रीमतीलगायत एउटै भवनमा रहेको र सबै सुरक्षित रहेको बताए । सिन्जुकुमा काम गर्ने आफ्नो छोरालगायत आफूलाई थाहा भएका सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए । 'यताबाट फोन लाग्दैन,' उनले भने, 'जापानमा भूकम्प गइरहने भएकाले र सुनामीको प्रभाव नपरेकाले डराउने स्थिति छैन ।'

उनीसँगै बस्ने तनहुँ दमौलीका विश्वनाथ खनालले ३ बजे भूकम्पले रेस्टुरेन्टका सबै टेबुल पल्टाएपछि आफूहरूले थाहा पाएको बताए । 'करिब १५ मिनेट पीपलको पात हल्लिएजस्तो घरहरू हल्लिए,' उनले भने, 'तर दह्रो गरी बनाएका हुँदा रहेछन्, केही भएन ।' पाँचौं तल्लामा बसेका उनले रमाइलो गर्दै भने, 'चाल्नामा चालेजस्तै हल्लिएर बसिरहेका छौं तर सुरक्षित छौं ।'


No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks