
कमल पन्थी
जमुनी (बर्दिया), फाल्गुन १८ - १३ दिनअघि भारतीय सीमा सुरक्षाबल (एसएसबी) ले पक्राउ गरी बेपत्ता बनाएका हर्कबहादुर शाहीको स्थिति अझै अज्ञात छ । बाबुको अवस्था जानकारी लिन एसएसबी क्याम्प पुगेका छोरा प्रेम रित्तै फर्केका छन् ।
एसएसबीले पक्राउ नगरेको भन्दै जवाफ दिएपछि उनी निराश बनेका छन् । शाहीकी पत्नी जुनकिरीका अनुसार उनलाई जंगलमा घाँस दाउरा काटेर र्फकने क्रममा जमुनी-८ स्थित नेपाली भूमिबाटै लछारपछार गर्दै भारतीय सुरक्षाकर्मीले लगेका हुन् । शाहीलाई पक्रने क्रममा एसएसबीले खुट्टामा गोली हानी घाइते बनाएको उनले बताइन् । भारतीय वनका कर्मचारीसहित तीन जना सुरक्षाकर्मीले बेहोस अवस्थाका शाहीलाई मोटरसाइकलमा लगेर भारत पुर्याइएको प्रत्यक्षदर्शीले बताए । '१३ दिन भयो, श्रीमान्को अत्तोपत्तो छैन । अब आस लाग्न छाड्यो,' आँसु झार्दै उनले भनिन् ।
जमुनी-९ शान्तिपुरका ५२ वर्षीय शाहीलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको भन्दै परिवारले इलाका प्रहरी कार्यालय मैनापोखरीमा उजुरी दिएको छ । शाहीका छोरा रूपसिंगले घाँस, दाउरा काटेर ल्याउने क्रममा सीमामा तैनाथ लम्बीकुवाका एसएसबीले लखट्दै नेपाली भूमिबाट लगेको उजुरी दिएका छन् । परिवारले अन्तर्राष्ट्रिय मानव अधिकारीकर्मीलगायतलाई खोजी गरिदिन आग्रह गरेका छन् ।
सीमावर्ती लम्बीकुुवामा तैनाथ एसएसबीले शाहीलाई पक्राउ नगरेको दाबी गरेको छ । सीमा स्तम्भ नम्बर ४६ र ४७ बीच भारतीय जंगलमा ५/६ जनाको समूहबाट चोरी सिकार गर्ने क्रममा जवानको हातमा गोली लागी घाइते भएको एसएसबीका एक अधिकारीले बताए । शाही निम्न आय भएका किसान हुन् । 'उहाँ जीवित भए भारतीय प्रहरीले बहराइच जेल चलान गथ्र्यो,' भतिजी रूपा रेश्मीले भनिन् ।
सीमामा घना जंगल भएका कारण यस क्षेत्रका बासिन्दा घाँस, पात दाउरा र चरिचरण गर्न भारतमा निर्भर छन् । यसै कारण उनीहरू खुलेर बोल्न चाहँदैनन् । 'जिल्लाको ठूलो तस्करी हुने स्थान भएका कारण भारतीय सुरक्षाकर्मीको विरोध गर्न चाहँदैनन्,' एक स्थानीय बासिन्दाले भने ।
भारतीय सुरक्षाकर्मीले चोरी सिकार गरेको आरोपमा कुनै पनि नेपाली नागरिकलाई पक्राउ नगरेको दाबी गरेको छ । यसबारे नेपाली अधिकारीहरूले भारतीय पक्षसँग छलफल गरेका छन् । एसएसबीका डीएसपी अश्वनी कुमारलगायतसँग भारतमै भएको छलफलमा उनीहरूले शाहीलाई पक्राउ नगरेको जानकारी दिएको प्रहरी उपरीक्षक सूर्य उपाध्यायले जनाए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks