Loving nepal news

Thursday, March 24, 2011

एक बोरा प्रमाणपत्र बोकी अख्तियार भारततिर


केदार ओझा

काठमाडौं, चैत्र ११ - नक्कली प्रमाणपत्र पेस गरी जागिर खानेहरू सावधान !

यस्ता उजुरी यकिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारीहरू एक बोरा प्रमाणपत्र लिएर भारततिर गइसकेका छन् । 'नक्कली' पुष्टि भयो भने हालत के होला ?

आयोगको शैक्षिक प्रमाणपत्र छानबिन इकाईका उपसचिव जानकी वल्लभ अधिकारीको नेतृत्वमा ८ सदस्यीय टोली बिहीबार भारत गएको हो । स्रोतअनुसार टोलीले इलाहाबाद, वाराणसी र पटना क्षेत्रका विश्वविद्यालयहरूमा पुगी शैक्षिक प्रमाणपत्र सक्कली/नक्कली के हुन् यकिन गर्नेछ ।

छानबिन दायरामा मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न संस्थान र ती मातहतका नायब सुब्बादेखि सहसचिवसम्मकैका प्रमाणपत्र छन् ।

'छानबिन गर्न लगिएका प्रमाणपत्र करिब एक बोरा छन्,' भारत गएको टोलीका एक सदस्यले भने, 'बोरामा करिब ३ सय कर्मचारीका कागजात छन् ।'

स्रोतअनुसार आयोगको टोली भारत जान लागेको पत्तो पाएपछि केही कर्मचारी पहिल्यै सम्बद्ध विश्वविद्यालय पुगेका छन् भने केहीले पैसा पठाइसकेका छन् ।

प्रशासनमा पहुँच भएका धेरैले बढुवा प्रयोजनका लागि बुझाएका नक्कली प्रमाणपत्र काम भएलगत्तै फायलबाट निकालेर नष्ट गरेको पाइएको छ । अख्तियारले नक्कली प्रमाणपत्रका अधिकांश मुद्दा विशेष अदालतबाट जितेको छ । हालसम्म ३ सय ९३ मुद्दा दायर भएकामा ३ सय ८३ जनाको प्रमाणपत्र नक्कली ठहर भइसकेको छ ।

यसअघि पनि आयोगले छानबिन थाल्दा कतिपय कर्मचारीले मुद्दा दायर हुनुअघि नै राजीनामा दिई सेवाबाट अलग भएका थिए ।

आयोगले मुद्दा दायर गर्नेबित्तिकै कर्मचारी निलम्बन हुन्छन् । अदालतले आयोगको अनुसन्धान सदर गरे नक्कली प्रमाणपत्रधारी तत्काल पदच्युत हुन्छन् । अदालतले ठहर्‍याएअनुसार उनीहरूले पेन्सनसमेत नपाउन सक्छन् । त्यसरी पदच्युत भएका व्यक्ति सरकारी र संस्थानमा जागिरका लागि अयोग्य हुन्छन् । सार्वजनिक पदमा निर्वाचनका लागि उम्मेदवार हुनसमेत अयोग्य मानिन्छन् । यसलाई नैतिक पतनदेखि फौजदारी अभियोगसरह मानिन्छ । अदालतले त्यस्तो कर्मचारीलाई नगद जरिवाना र ६ महिना कैदसम्म गर्न सक्छ ।

2 comments:

Giv your valuable time to comment here!
Thanks