Loving nepal news

Wednesday, March 16, 2011

६७ नेपालीलाई टोकियोमा आश्रय


काठमाडौ, चैत्र ३ - जापानको आणविक केन्द्र विस्फोट भएको फुकुसिमा र प्रभावित क्षेत्र सेन्दाईबाट ६७ नेपाली बुधबार मध्यरात टोकियो पुगेका छन् । उनीहरूलाई सिन्जोकुस्थित सामुदायिक भवनमा आश्रयको व्यवस्था मिलाइएको छ ।

'आणविक केन्द्र विस्फोट भएको फुकुसिमा क्षेत्रबाट आएका १७ विद्यार्थीको बिहीबार बिहान स्वास्थ्य परीक्षण हुने' टोकियोस्थित राजदूत डा.गणेश योञ्जनले कान्तिपुरलाई फोनमा बताए । 'बसोबास, खानपिन वा देश र्फकन चाहनेका लागि उचित सहयोग जुटाउन हामी लागिपरेका छौं,' उनले भने ।

सेन्दाई र फुकुसिमा क्षेत्रमा अझै एक सय जति नेपाली स्वेच्छामा बसिरहेको जनाउँदै उनीहरूले उद्धार चाहे टोकियो ल्याइने राजदूतले जनाए । सेन्दाईबाट आएकामध्ये ६ जना ओसाका सहरमा रहेका उनीहरूकै आफन्तकोमा गएका छन् ।

फुकसिमाका ६ आणविक केन्द्रमध्ये चारवटा विस्फोट भएको खबरसँगै त्रास बढेको राजदूत योञ्जनले बताए । 'हामीले पनि सक्दो सुरक्षा सतर्कता अपनाइरहेका छौं,' उनले भने । नेपाली दूतावासको पहलमा पठाइएको रिजर्भ बसमा सेन्दाईबाट टोकियो आएका विद्यार्थी यमबहादुर

गुरुङका अनुसार अधिकांश विद्यार्थी र केही रेस्टुराँ कर्मचारी उनका साथमा छन् ।

'फुकसिमाको युवाकीबाट रिजर्भ बसमा आइपुग्न १ सय किलोमिटर दूरीका लागि ५ सय डलर ट्याक्सी भाडा तिर्नुपर्‍यो,' अर्का विद्यार्थी मनीष बज्राचार्यले भने, 'अब स्थिति केही सहज होला कि भन्ने छ ।' एनआरएन प्रतिनिधि अरुणकुमार श्रेष्ठको नेतृत्वमा सिन्जोकु आइपुगेका नेपालीलाई जापान सरकारले भने खाना, आवास र अन्य सुविधा दिन नसक्ने बताएको छ । स्थानीय नेपाली समुदायले उठाएको १६ लाख २० हजार येनबाट बिचल्लीमा परेकाहरूका लागि खर्च बेहोरिने भएको छ ।

जापानमा आएको भूकम्प र सुनामीबाट बुधबार अपराह्न सम्ममा ४ हजारभन्दा बढीको मृत्यु भइसकेको खबर आए पनि कोही नेपाली हताहत भए/नभएको अझै पत्तो नलागेको एनआरएन, जापानका उपाध्यक्ष भूषण

घिमिरेले बताए । राजदूत योञ्जनका अनुसार अहिलेसम्म दूतावासमा जापान आउने नेपालीको रेकर्ड राख्ने पद्धति नभएकाले यकिन तथ्यांक छैन ।

जापानबाट आउने खाद्य जाँचिने

काठमाडौं (कास)- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जापान र छेउछाउका मुलुकबाट भित्रिने खाद्य पदार्थमा अनिवार्य विकिरण परीक्षण गरिने जनाएको छ । भन्सार कार्यालयहरूलाई विकिरण परीक्षणको अनुरोध गर्न मन्त्रालयमा जानकारी गराइसकेको विभागकी महानिर्देशक जीवनप्रभा लामाले समेत बताइन् ।

भौतिकविद्हरूले मंगलबार मुलुकमा तत्काल विकिरण आउने खतरा त्यति नदेखिएको बताएका थिए । उनीहरूले दिर्घकालमा विभिन्न माध्यमबाट मुलुक भित्रिने विकिरणको असरबाट बच्न नियमित अनुगमन शुरु हुनुपर्ने जनाएका थिए । चेर्नोविल परमाणु दुर्घटनापछि विभाग, क्षेत्रीय कार्यालय, खाद्य क्वारेन्टाइन प्रयोगशालाहरूमा खाद्य पदार्थमा भएको विकिरण नाप्ने उपकरण विक्वारेक मोनिटर रहेको लामाले जानकारी दिइन् । 'अहिले पनि हामी युरोपबाट आएको खाद्यान्नमा विकिरणको मात्रा हेर्ने गरेका छौं,' लामाले भनिन् । रेडियो एक्टिभ पदार्थको विखण्डनले अल्फा, बिटा र गामा किरण निस्किन्छ । यो किरणले शरीरमा हानि पुर्‍याउँछ ।

भौतिकविद् प्राध्यापक उदयराज खनालले जापान लागायतका रेडियो एक्टिभ विकिरण फैलिने आशंका भएका मुलुकहरूको खाद्य पदार्थ मात्र नभई सबै वस्तुका विकिरण परीक्षण अनिवार्य गर्नुपर्ने बताए । भारतले ११ मार्च र त्यसपछि जापानबाट आएका खाद्य सामग्रीको विकिरण परीक्षण अनिवार्य गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks