Loving nepal news

Tuesday, March 1, 2011

क्षेत्रीय अस्पताद्वारा बिना प्रतिस्पर्धा लाखौंको सामान खरिद


भूषण यादव

वीरगन्ज, फाल्गुन १८ - नारायणी उपक्षेत्रीय अस्पतालले तीन वर्षदेखि टेन्डर नगरी औषधि तथा सर्जिकल सामग्री खरिद गर्दै आएको खुलासा भएको छ ।

अस्पतालले प्रतिस्पर्धा नगराई वाषिर्क करिब ५० लाख रुपैयाँ बराबरको सामग्री खरिद गर्दै आएको छ । प्रतिस्पर्धाबिनै सामान खरिद गर्दा अस्पतालबाट सार्वजनिक खरिद ऐनको उल्लंघन भएको छ । महँगो मोलसमेत तिर्नुपरिरहेको छ ।

अर्कोतर्फ अस्पताललाई सर्जिकल सामग्री आपूर्ति गर्ने वीरगन्ज सर्जिकलले दुई वर्षदेखि कर विवरण नबुझाएकाले राजस्वसमेत चुहावट भइरहेको छ ।

उक्त र्फम भ्याटमा दर्ता भए पनि २१ महिनादेखि कर विवरण नबुझाएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ । कर विवरण पेस नगरेकाले उसले जारी गरेको बिल नक्कली हुन्छ । 'ननफाइलरसँग सामान खरिद गरेका कारण अस्पतालले तिरेको भ्याट राजस्वमा दाखिला नभई व्यवसायीको गोजीमा पुग्यो,' कार्यालयका कर अधिकृत ध्रुव रेग्मीले भने, 'अस्पतालमा सामान आपूर्ति गरी गरेको मुनाफामा तिर्नुपर्ने २५ प्रतिशत आयकर पनि छली भयो ।'

पछिल्लो ६ महिनामा करिब ८ लाख मूल्य बराबरको सामग्री वीरगन्ज सर्जिकलले अस्पतालमा आपूर्ति गरेको छ । तर भन्सारको तथ्यांकमा २ वर्षमा वीरगन्ज सर्जिकलले २ लाख ४५ हजार रुपैयाँको सामग्री आयात गरेको देखिन्छ । यसबाट उसले अस्पताललाई आपूर्ति गरेको सामग्री चोरी पैठारीमार्फत भित्र्याएको पुष्टि भएको छ । बिर्तास्थित र्फमले कपास, ब्यान्डेज, पन्जा, केमिकल्ालगायत सर्जिकल सामग्री आपूर्ति गरेको स्रेस्तामा देखिन्छ ।

मेडिकल सुपरिटेन्डेट डा. विद्यापति कण्ठले बजेट अभावका कारण टेन्डर गरी वर्षभरिलाई पुग्ने सामग्री एकमुष्ठ खरिद गर्न नसकेको जिकिर गरे । अब छिट्टै टेन्डर आह्वान गर्ने उनले बताए । अस्पताल विकास समितिको नियमअनुसार १ लाख ५० हजार रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सिलबन्दी बोलपत्र आह्वान गर्नुपर्ने अध्यक्ष महम्मद सतार मन्सुरीले बताए । 'तर मेडिकल सुपरिटेन्डेन्टले मिलेमतोमा आर्थिक अनियमितता गरेका छन्,' उनले

भने । १ लाख ४९ हजार रुपैयाँ चेक काट्दै कानुनको खिल्ली उडाएको उनले जनाए । अस्पतालले पाँच वटा एसीको भुक्तानी यसरी गरेको एक दर्जन बिल फेला परेको छ ।

रोज मिया अन्सारीको नाममा ३०२११७०२८ स्थायी लेखा नम्बर (प्यान) दर्ता भएको वीरगन्ज सर्जिकल ०६४ साउन ९ मा भ्याटमा दर्ता भए पनि पछिल्लो २१ महिनाको कर विवरण नबुझाएको आन्तरिक राजस्व कार्यालयका अधिकृत रेग्मीले बताए । उनलाई तत्काल कारबाही गरी छली भएको राजस्व तिराइने उनले जनाए ।

अस्पतालमा नियमअनुसार पेस भएका बिलको भुक्तानी मात्र गरेको लेखापाल ध्रुव सापकोटाले बताए । काजमा गत भदौमा आएका उनले गत वर्षको स्रेस्ता आफूले नबुझेको दाबी गरे । अस्पतालले बिजुली र स्टेसनरी सामग्री पनि तोक आदेशकै भरमा खरिद गरिरहेको छ । परिवार नियोजनको औषधि खरिद गर्दासमेत सम्बन्धित कर्मचारीलाई थाहा हुँदैन ।

जिल्ला प्रशासन कार्यालयले आइतबार अस्पतालको भण्डार र लेखा फाँटमा छापा मारेर कागजपत्र नियन्त्रणमा लिएको छ । अस्पतालमा आर्थिक अनियमितता भएको उजुरी परेपछि छानबिन गरिरहेको प्रमुख जिल्ला अधिकारी नागेन्द्र झाले बताए । बारा, पर्सा, रौतहट, सर्लाहीलगायत सीमावर्ती बिहार राज्यका बिरामीसमेत उपचारका लागि ३ बेडको नारायणी उपक्षेत्रीय अस्पतालमा आउने गरेका छन् । सेवा प्रभावकारी नभएको भन्दै कुरुवा, प्रशासन र अस्पतालबीच पटकपटक विवाद हुने गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks