Loving nepal news

Friday, March 18, 2011

स्तनपानले मस्तिष्क विकास


कान्तिपुर संवाददाता

काठमाडौ, चैत्र ५ - स्तनपानका धेरै फाइदामा अर्को पनि थपिएको छ । नयाँ अनुसन्धानअनुसार स्तनपान गराउनाले शिशुको मस्तिष्कको विकास राम्रो हुन्छ । अक्सफोर्ड विश्वविद्यालयको नेतृत्वमा भएको अनुसन्धानमा अध्ययनकर्ताहरूले के पाए भने नवजात शिशुलाई न्यूनतम चार सातासम्म स्तनपान गराउनाले तिनको मस्तिष्कको विकासमा उचित प्रभाव पर्छ । यो प्रभाव ती माध्यमिक स्कुल पुग्दासम्म यथावत् रहन्छ ।

'आमाको दूध पर्याप्त मात्रामा चुस्ने बालबालिका बढी मेधावी हुने तथ्य यो अध्ययनले स्थापित भइसकेको छ,' अनुसन्धानमा संलग्न मारिया लाकोभ भन्छिन्, 'यसअघिसम्म मस्तिष्क विकासमा स्तनपानको प्रभावबारे कुनै ठोस प्रमाण थिएन ।'

स्वास्थ्यका लागि स्तनपानको फाइदाबारे सबैले जानेकै छन् भन्दै मारिया थप्छिन्, 'अब हामी प्रमाणसहित भन्न सक्छौं, बालबालिकाको मस्तिष्कको विकासका लागि स्तनपान धेरै लाभदायक छ ।' जन्मदेखी ६ महिनासम्म मात्र आमाको दूध खुवाउनुपर्ने चिकित्सकहरूले बताउँदै आएका छन् ।

गहिरो मित्रताले बालबालिका फिट

तपाईंका बालबालिका आफ्ना 'बेस्ट फ्रेन्ड' सँग बढी समय बिताउन रुचाउँछन् भने निकै राम्रो कुरा हो । हालैको अनुसन्धानले के देखाएको छ भने गहिरो मित्रतामा रमाउने बालबालिकाको शारीरिक विकास तीव्र गतिले हुन्छ । 'मेडिसिन एन्ड साइन्स इन एक्सपोर्टस् एन्ड एक्सरसाइज' को अनलाइन संस्करणमा प्रकाशित उक्त अनुसन्धानमा के पनि भनिएको छ भने अचेल बालबालिकाले सामूहिक रूपले खेल्ने वातावरण कम भएकाले तिनको शारीरिक विकास अपेक्षित रूपमा हुन नपाएको हो ।

यो अनुसन्धानका लागि १०-११ वर्ष उमेर समूहका ९ सय ८६ बालबालिकाको अध्ययन गरियो । बि्रस्टल विश्वविद्यालयमा नीति अध्ययनसँग सम्बद्घ डा. रस र उनका सहयोगीले ती बालबालिकाको पोषण, व्यायाम र सहयोगीको गतिविधिका आधारमा यो अनुसन्धानको परिणाम बाहिर ल्याएका हुन् । अनुसन्धानमा सामेलमध्ये ४ सय ७२ बालबालिका शारीरिक परिश्रम पर्ने गतिविधिमा आफ्ना मिल्ने साथीभाइसँग मजाले भाग लिन्थे । यसपछि ती बालबालिकालाई सोधिएको थियो, 'तिम्रो सबैभन्दा मिल्ने साथी को हो ? उसले कुनकुन कुरा तिमी मान्छौ ?' बालबालिकाबाट पाइएका जानकारी परीक्षण गरियो । यसका आधारमा अनुसन्धानको परिणाम घोषित गरियो, जसअनुसार गहिरो मित्रताले बालबालिकालाई मानसिक रूपले मात्र नभई शारीरिक रूपले समेत शक्तिशाली बनाउँछ । मित्रताका कारण बालबालिका सक्रिय र फिट रहने सम्भावना बढी हुन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks