Loving nepal news

Tuesday, March 22, 2011

भारतीय राजदूतले खुसुक्क प्रधानमन्त्री भेटे * तर परराष्ट्रले ढाँट्यो




देवेन्द्र भट्टराई

काठमाडौ, चैत्र ९ - कुनै पनि विदेशी कूटनीतिक प्रतिनिधि वा अधिकारीले प्रधानमन्त्रीलाई भेट्नुअघि परराष्ट्र मन्त्रालयको शिष्टाचार शाखामार्फत स्वीकृति लिनुपर्ने नियम प्रधानमन्त्री र भारतीय राजदूतको भेटमा उल्लंघन भएको छ ।

बालुवाटारमा आइतबार बिहान भएको प्रधानमन्त्री-राजदूत भेटघाटबारे परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नरहेको शिष्टाचारका एक अधिकारीले बताए । 'भेटघाटमा परराष्ट्रमा भारत शाखाका सहसचिव हरिकुमार श्रेष्ठलाई बालुवाटार पठाइएको भन्ने परराष्ट्र सचिवको भनाइ आफैंमा झूटो छ,' बालुवाटारका एक अधिकारीले भने, 'भेटवार्तामा तेस्रो व्यक्ति कोही पनि थिएन ।' प्रधानमन्त्री झलनाथ खनालका परराष्ट्र मामिला सल्लाहकार मिलन तुलाधरले भारतीय राजदूत राकेश सूदसँगको भेट अपर्झट आइपरेकाले 'औपचारिक' रूपमा केही तय गर्न नसकिएको बताए । 'अबका दिनमा भने सबै विदेशी अधिकारीसँगको भेटघाट कूटनीतिक च्यानलबाटै हुनेछ,' उनले भने, 'बुधबार पनि स्विडेनका राजदूतसहितको भेटघाटका लागि परराष्ट्रबाट सहमति आएको छ ।'

'राजदूतले भेट गर्दै हुनुहुन्छ भन्ने जानकारी पाउनु नै मेरो उपस्थिति भएसरह हो,' सहसचिव श्रेष्ठले कूटनीतिक भाषामा कान्तिपुरसँग भने । परराष्ट्र सचिव मदनकुमार भट्टराईले भने प्रधानमन्त्री र राजदूतबीचको भेटवार्तामा रराष्ट्रका सहसचिव श्रेष्ठ उपस्थित भएको सञ्चारमाध्यमलाई बताएका थिए ।

'परराष्ट्रमा नोटिस भएको तर अनौपचारिक भेट' भनी प्रधानमन्त्रीका सल्लाहकारहरूले बताइरहेका बेला परराष्ट्रकै प्रोटोकलका अधिकारीहरू भने भारतीय राजदूतको भेटबारे कुनै मौखिक वा लिखित जानकारी नरहेको स्पष्ट पार्छन् । बालुवाटारमा प्रधानमन्त्री खनालले सूदलाई भेट गरिरहेका बेला प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार तुलाधर भने सिंहदरबारमा व्यस्त थिए ।

'प्रधानमन्त्रीसँगको शिष्टाचार भेटको प्रक्रियाबारे सर्कुलर भएकै छैन,' प्रोटोकलका अर्का एक अधिकारीले भने, 'बरु यो नियम र प्रक्रियाको कुरा दुई वर्षअघि उपेन्द्र यादव परराष्ट्रमन्त्री भएका बेलाको हो, त्यसैका आधारमा प्रधानमन्त्रीका सल्लाहकारहरूले सञ्चारमाध्यममा आफैं सर्कुलर गरेका हुन् ।' कूटनीतिक मर्यादाका बारे सन् १९६९ मा हस्ताक्षर भएको भियना महासन्धिअनुसार कुनै पनि वैदेशिक मामिलाको विषय वा सन्दर्भमा जानकारी लिनु/दिनुपरे परराष्ट्र संयन्त्रबाट अघि बढ्नुपर्ने प्रावधान छ ।

सचिव भट्टराईले भने परराष्ट्र मन्त्रालयमा जानकारी गराएर प्रक्रियाअनुसार राजदूत भेट्न गएको दाबी गरे । 'प्रक्रिया मिचिएको छ भन्ने कुरा नचाहिँदो हो,' उनले भने । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कुनै विदेशी पदाधिकारीको भेटघाटमा मात्रै नभएर मुलुककै नेता वा राज्यसुविधा लिएका व्यक्तिहरू पनि विदेश भ्रमणमा जाँदा राज्यलाई जानकारी हुनुपर्ने प्रक्रियाबारे प्रधानमन्त्री खनाल संयन्त्र बनाउने सोचाइमा रहेको जानकारी दिए । 'स्वास्थ्य उपचारमा गएको होस् वा राजनीतिक भेटघाटमा, राजनीतिक व्यक्तिहरूको गतिविधिबारे राज्यले थाहा पाउनुपर्छ भन्ने धारणा राखिएको हो,' थापाले भने ।

हालै मधेसी मोर्चाका नेताहरू भारत भ्रमणमा गएर यहाँ सरकारले सशस्त्र समूह मानेका मधेसका नेताहरूलाई भेटेपछि चासो बढेको प्रधानमन्त्री कार्यालयका अर्का एक सदस्यले बताए । 'पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले भारत गएर गरेको राजनीतिक भेटवार्ता वा मधेसी मोर्चाले सशस्त्र नेताहरूसँग गरेको भेट पनि राज्यको जानकारीमा हुनुपर्छ भन्ने चासो प्रधानमन्त्रीले राख्नुभएको छ,' प्रधानमन्त्री कार्यालयका एक सहयोगीले भने । यस्ता भेटघाटको प्रक्रिया र जानकारी पनि परराष्ट्र मन्त्रालयमार्फत राज्यलाई हुनुपर्ने प्रधानमन्त्रीको राय रहेको उनले बताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks