Loving nepal news

Tuesday, March 22, 2011

यस्तो छ चिनियाँ सेनापतिको कार्यक्रम


कान्तिपुर संवाददाता

काठमाडौ, चैत्र ९ - चिनियाँ जनमुक्ति सेनाका चिफ अफ जनरल स्टाफ तथा सेन्ट्रल मिलिटरी कमिसनका सदस्य जनरल चेन विङदेले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री, प्रधानसेनापतिलगायत उच्चतहको राजनीतिक तथा सैनिक भेटघाट गर्ने भएका छन् ।

प्रधानसेनापति छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा १८ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै सेनाप्रमुख विङदे तीन दिने भ्रमणमा बुधबार दिउँसो आउँदै छन् । सैनिक जनसम्पर्क निर्देशनालयद्वारा मंगलबार जारी विज्ञप्तिअनुसार विङदेलाई अन्तर्राष्ट्रिय विमान स्थलमा बलाध्यक्ष रथी श्री तोरण जंगबहादुर सिंहले स्वागत गर्नेछन् भने सेनाको एक टुकडीले सम्मान गारत प्रदान गर्नेछ । सोही दिन टुँडिखेल सैनिक मञ्चस्थित 'वीर स्मारिका' मा माल्यार्पण गरेपछि उनले सैनिक मुख्यालय जंगीअड्डामा प्रधानसेनापति गुरुङसँग शिष्टाचार भेट गर्नेछन् ।

'त्यस अवसरमा नेपाली सेनाकोतर्फबाट सेनाले निर्वाह गर्दै आएको भूमिकाबारे बि्रफिङ हुनुका साथै द्विपक्षीय सहयोग अभिवृद्धिलगायतका विषयमा छलफल तथा हस्ताक्षर हुनेछ,' विज्ञप्तिमा छ । स्रोतका अनुसार दुई सेनापतिबीच चिनियाँ सेनाले नेपाली सैनिक अस्पतालका लागि उपलब्ध गराउने एक अर्बको र ३० करोड बराबरको विकास निर्माण सामग्रीसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर हुनेछ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार दिउँसो राष्ट्रपति रामवरण यादवलाई भेट्ने विङदेले सोही दिन प्रधानमन्त्री झलनाथ खनाल र रक्षामन्त्री विष्णु पौडेललाई भेट्नेछन् । स्रोतका अनुसार विङदेले बिहीबार बिहान १० बजे रक्षामन्त्री, १०ः५० बजे प्रधानमन्त्री र दिउँसो २ बजे राष्ट्रपतिलाई भेट्ने छन् । विङदेको सम्मानमा बिहीबार साँझ नै प्रधानसेनापति गुरुङले त्रिभुवन आर्मी अफिसर्स क्लबमा रात्रि भोज दिनेछन् । विङदेको टोली शुक्रबार स्वदेश र्फकने कार्यक्रम छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks