Loving nepal news

Sunday, May 8, 2011

सेना समायोजनको खाका छिट्टै आउँछः प्रचण्ड


होमराज/शान्ता

पिठौली, वैशाख २४ गते । नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले शान्तिप्रक्रियालाई टुङ्गोमा पुर्‍याउन माओवादी जस्तोसुकै त्याग गर्न तयार रहेको बताउनुभएको छ ।

नवलपरासीको पिठौलीस्थित नारायण प्राथमिक विद्यालयको उद्घाटन समारोहमा आउनुभएका अध्यक्ष दाहालले क्रान्तिकारी पत्रकार सङ्घ नेपाल नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले शान्तिप्रक्रिया र संविधान निर्माण सँगसँगै जाने बताउनुहुँदै एकीकृत नेकपा -माओवादी) शान्ति र संविधानलाई तार्किक निष्कर्षमा पुर्‍याएर मुलुकमा दिगो शान्ति स्थापनामा लागिपरेको स्पष्ट पार्नुभयो ।

संविधानसभाको म्याद थपिने स्पष्ट पार्दै माओवादी अध्यक्ष दाहालले जेठ १४ भित्र संविधानको मस्यौदा सार्वजनिक गर्न मुख्य तीन दल गम्भीर भएर गृहकार्यमा

लागेको बताउनुभयो ।

विश्वको कुनै पनि देशमा संविधानसभाको चुनाव भएको तीन वर्षमै संविधान बन्न नसकेको स्पष्ट पार्दै पूर्वमन्त्री दाहालले हतारमा भावावेशमा आएर हचुवाका भरमा संविधान बन्दैन भन्नुभयो ।

उहाँले जेठ १४ भित्र शान्तिप्रक्रिया र सेना समायोजनको प्रारूप प्रस्तुत गरिने बताउंँदै संविधानको ८० प्रतिशत मस्यौदा तयार भइसकेको पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

अध्यक्ष दाहालले संवैधानिक समितिको बैठक केही सांसदले अवरुद्ध पारेको बताउँदै त्यसलाई सुचारु गराउन गम्भीर छलफल भइरहेको र जेठ १४ भित्र जनतालाई आशा गर्न सकिने गरी संविधानको विस्तृत खाका सार्वजनिक गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले ढिलै भए पनि सरकारले पूर्णता पाएको बताउँदै मन्त्रिपरिषद् विस्तारमा माओवादीभित्र कुनै विवाद नभएको

दाबी गर्नुभयो । शान्ति र संविधानलाई जोड दिँदा जनविद्रोहको अन्त्य भनेर गलत प्रचार गर्ने काम भइरहेकोतर्फ इङ्गित गर्दै पालुङटार बैठकले जनविद्रोहसँगसँगै शान्ति र संविधानलाई समेत जोड दिएको बताउनुभयो ।

अध्यक्ष दाहाल नवलपरासीको पिठौली-८ लौगाईमा रहेको नारायणी प्राविको भवन उद्घाटन गर्न आइपुग्नुभएको हो । अध्यक्षले रुम टु रिडले निर्माण गरिदिएको नारायणी प्राविको चारकोठे भवन उद्घाटन गर्नुभएको थियो । उहाँले संविधान निर्माणको ८० प्रतिशत काम सकिएको जानकारी दिनुहँुदै संविधानसभाको म्याद केही महिना थप गरेर पूर्ण संविधान जारी गर्न सकिने जिकिर गर्नुभयो ।

क्रान्तिकारी पत्रकार सङ्घ नेपाल नवलपरासीले नवलपरासीको पिठौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही राजनीतिक दल संविधानसभाको म्याद थप गर्नेभन्दा भङ्ग गर्नेतर्फ लागेको आरोपसमेत लगाउनुभयो ।

उहाँले विश्वको कुनै पनि इतिहासमा दुई वा तीन वर्षभित्र संविधान निर्माण गरेको इतिहास नभएको बताउनुहुँदै संविधान निर्माणका लागि यो समय प्राप्त नभएकाले केही महिना म्याद थप गर्नुपर्ने बताउनुभयो ।

उहाँले म्याद थप्ने तर जति पनि थपिरहने किसिमले नभई केही महिनामात्र थपेर त्यो समयभित्र संविधान जारी गरिसक्ने दृढतासमेत व्यक्त गर्नुभयो । तर, उहाँले कति महिना संविधान थप गर्ने भनी प्रस्ट पार्नुभएन ।

उहाँले विभिन्न उपसमितिले बहुमत वा सर्वसम्मतबाट निर्णयहरू गरेर संंवैधानिक समितिहरूमा प्रतिवेदन बुझाइसकेको र त्यस प्रतिवेदनमाथि संवैधानिक समितिहरूले काम गरिरहेकाले संवैधानिक समितिको बैठक तत्काल बसी १४ जेठभित्र संविधानको मस्यौदा जारी गर्न मस्यौदा तयार पर्ने काम सुरु गरिहाल्ने जानकारीसमेत दिनुभयो ।

पत्रकार सम्मेलन क्रान्तिकारी पत्रकार सङ्घ नेपाल नवलपरासीका अध्यक्ष गोपी ज्ञवालीको अध्यक्षतामा तथा उपाध्यक्ष रामकुमार श्रेष्ठको सञ्चालनमा भएको थियो ।

अध्यक्ष दाहाल नवलपरासीको पिठौली-८ लौगाईमा रहेको नारायणी प्राविको भवन उद्घाटन गर्न आइपुग्नुभएको हो । अध्यक्षले रुम टु रिडले निर्माण गरिदिएको नारायणी प्राविको चारकोठे भवन उद्घाटन गर्नुभएको थियो ।

यसैबीच एकीकृत नेकपा -माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सेना समायोजनबारे केही दिनभित्रै एउटा खाका आउने बताउनुभएको छ ।

चितवनको भरतपुर-१, रामनगर माविको ५०औँ वाषिर्कोत्सव तथा स्वर्णजयन्ती समारोहलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, "अन्य दलसँग पनि यसबारेमा छलफल भइरहेको छ । समायोजन र पुनस्र्थापना गर्ने विषयमा केही दिनभित्रै एउटा खाका तयार पारेर सार्वजनिक गरिनेछ ।" उहाँले शान्तिप्रक्रियाको सवालमा धेरै कुरा सकारात्मक भएको बताउँदै सेना समायोजनका लागि तीनवटा प्रारूपलाई स्वीकार्न सकिने बताउनुभयो । माओवादी सेनाको छुट्टै फोर्स बनाउने वा मिश्रति फोर्स बनाउनेबारे बृहत् शान्तिसम्झौताअनुसार सहमतिमा पुग्न सकिने उहाँको धारणा थियो ।

उहाँले आगामी जेठ १४ भित्र व्यावहारिक रूपमा पूरा संविधान आउन सम्भव नभएको बताउनुभयो । उहाँले संविधान निर्माणको अधिकांश काम भए पनि केही विषयमा गम्भीर विवाद रहेकाले संविधानसभाको निर्धारित समयावधिभित्र पूरा संविधान आउन सम्भव नभएको बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डले संविधान निर्माणमा देखिएको विवाद मिलाउन बनेको कार्यदलको संयोजक हुँदा संविधानमा सहमत हुन नसकेका २३० बुँदालाई ७५ मा झार्न सफल भएको स्मरण गर्दै उपसमितिले त्यसलाई क्रमशः कम गर्दै ३० मा झार्न सफल भएको बताउनुभयो ।

दलहरूबीच राज्यको पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचनप्रक्रिया, राष्ट्रपति चयनका विषयमा भने छलफल भएर पनि निष्कर्षमा पुर्‍याउन नसकिएको उहाँले जानकारी गराउनुभयो । १२ बुँदे सहमति र विस्तृत शान्तिसम्झौताअनुसार गएको खण्डमा सबै यी मुद्दा समाधान हुने दाबी गर्दै नेपाली काँग्रेस, एमालेलगायतका केही दलले यी मुद्दामा १२ बुँदे सहमतिअनुसार दृष्टिकोण बनाउन नसकेको उहाँको कथन थियो ।

"हामी अहिले नै समाजवादी र साम्यवादी संविधान बनाउन चाहिरहेका छैनौँ", प्रचण्डले भन्नुभयो, "१२ बुँदे र विस्तृत शान्तिसम्झौताअनुसार गए सबै कुरा मिल्छ तर नेपाली काँग्रेस अहिले संविधान बने माओवादी छापा लाग्छ भन्ने डरले १२ बुँदे र विस्तृत शान्तिसम्झौताबाट पछि हट्न खोजिरहेको छ ।" माओवादीको सहमतिबिना कुनै पनि हालतमा संविधान नबन्ने उल्लेख गर्दै उहाँले माओवादीलाई संविधान बनाउने कुरामा दोष लगाउने राजनीतिक दलहरूको भनाइ तर्कसङ्गत नभएको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रको बारेमा सबै नेपाली अट्नसक्ने शिक्षा आवश्यक भएको र यसका लागि शिक्षाविद्हरूको सुझावको आवश्यकता भएको बताउँदै काम चुनौतीपूर्ण भए पनि निकट भविष्यमा नै शिक्षाका केही नयाँ योजना आउने जानकारी गराउनुभयो । स्कुल व्यवस्थापन समितिका अध्यक्ष टंक न्यौपानेको सभापतित्वमा भएको सो समारोहमा सभासद् नारायण दाहाल, चित्रबहादुर श्रेष्ठ, माओवादीका जिल्ला इन्चार्ज अनिल शर्मा, नेपाली काँगेसका भूपति सापकोटालगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्कुललाई सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

आजै बिहान भरतपुरमा रहेको बालज्योति अपसेट प्रेसको उद्घाटनमा प्रचण्डले उक्त प्रेस जनयुद्धकालको माओवादी मिनी हेडक्वार्टर रहेको खुलासा गर्नुभएको थियो । उहाँले सोही प्रेसमा जनयुद्धको तयारीकालमा बसेको तेस्रो विस्तारित बैठकमा पारित नेपाली जनयुद्धको रणनीति र कार्यनीति विषयको दस्तावेजसमेत तयार गरेको बताउनुभयो । अध्यक्ष प्रचण्डले माओवादी पार्टीकोे प्रथम राष्ट्रिय सम्मेलनको दस्तावेज पनि सोही प्रेसमा तयार गरेको खुलासा गर्नुभएको थियो ।

नवज्योति प्रेसको नामले सञ्चालनमा रहेको उक्त प्रेस जनयुद्धकालमा सरकारी सेनाले नियन्त्रणमा लिएको थियो भने प्रेसका अधिकांश सेयर सदस्यलाई सेनाले गिरˆतार गरी यातना दिएको थियो । सोही प्रेसका सञ्चालक बालकृष्ण पौडेललाई सेनाले नियन्त्रणमा लिएर हत्या गरेको थियो । नयाँ व्यवस्थापनमा सञ्चालित उक्त प्रेस बालकृष्णको सम्झनास्वरूप बालज्योति नामकरण गरिएको हो । उक्त कार्यक्रम प्रालिका अध्यक्ष शङ्कर लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो । समारोहमा मृतक बालकृष्ण पौडेलकी श्रीमती रुक्मिणा पौडेल, स्थापनाकालदेखिका अध्यक्ष टेकबहादुर थापालाई प्रचण्डले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । सोही कार्यक्रममा प्रचण्डले यमबहादुर परियारको 'वर्गसङ्घर्ष बलिदान र दलित' पुस्तकको विमोचन गर्नुभएको थियो

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks