Loving nepal news

Friday, February 18, 2011

अंगालोले रिस पगाल्छ


कान्तिपुर संवाददाता

काठमाडौ, फाल्गुन ७ - सम्झिनोस् बाल्यकालमा आमा रिसाउँदा तपाईं आमालाई कसरी फकाउनुहुन्थ्यो ? आमाको घाँटीमा लटपटिनुहुन्थ्यो, झुन्डिनुहुन्थ्यो ।

त्यतिखेर तपाईलाई थाहा थिएन कि आमालाई अंगालो हाल्दा आमाको रिस कहाँ हराएर गायवै हुन्थ्यो । वास्तवमा जब हामी कसैलाई अंगालो हाल्छौं, शरीरमा हार्मोनको परिवर्तन हुन थाल्छ । रिसलाई बढाउने पुरुष हार्मोन टेस्टेस्टेरान कम हुन थाल्छ र रिस शान्त हुन थाल्छ ।

हालै क्यालिफोर्निया विश्वविद्यालयमा गरिएको अनुसन्धानले यसलाई पुष्टि गरेको हो । अंगालोले हृदयरोगको खतरा कम गर्छ भने रक्तचापलाई समेत सामान्य बनाइराख्छ । अनुसन्धानअनुसार अंगालो र स्पर्शको सम्बन्ध थुप्रै यस्ता स्वास्थ्य गुणहसँग छ, जसले तनाव र पीडालाई कम गर्छ । अनुसन्धानअनुसार यसको प्रभाव सबैभन्दा बढी महिलामा हुन्छ ।

अर्थात् महिला रिसाएको बेला उनलाई अंगालो हालेर मनाउन सकिन्छ । गला मिलाउँदा शरीरमा रिस उठाउने हार्मोन तीव्र गतिले कम मात्र हुँदैन, प्रेमको अनुभूतिसमेत हुन्छ । अर्थात् कसैसँग गला मिलाउनुको सीधा अर्थ हुन्छ ऊप्रति माया प्रदर्शित गर्नु र 'गल्ती भए माफ गर' भन्नु हो ।

माया गरौं, स्वस्थ्य रहौं

स्वस्थ्य रहन चाहनुहुन्छ भने कसैलाई माया गर्नुस् । एक नयाँ अनुसन्धानअनुसार मायाको अनुभूति रक्तचाप नियन्त्रण र तनाव कम गर्न धेरै सहयोगी हुन्छ ।

मायामा मानिसले ठूलो दुःखलाई पनि सजलै बिर्सन्छ । प्रेमले दैनिक जीवनमा आउने तनावलाई हटाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । बि्रंघम योङ युनिभर्सिटीका अनुसन्धानकर्ता जुलियाने होल्ट लैस्ताडले आफ्नो अनुसन्धानमा अविवाहित व्यक्तिको

रक्तचाप विवाहितको दाँजोमा धेरै बढी पाए । उनले तनावग्रस्त विवाहित जीवन व्यतीत गरिरहेका व्यक्तिको रक्तचाप भने अविवाहित र सुखी जीवन व्यतीत गर्नेभन्दा धेरै बढी पाए । यसबाट 'माया-प्रेमले रक्तचापलाई नियन्त्रणमा राख्छ, तनावलाई कम गर्छ र घाउबाट बाहिरिन सघाउँछ' भन्ने पुष्टि हुन्छ ।

लैस्ताडका अनुसार जीवनसाथीसँगको सुमधुर सम्बन्धले तनावविरुद्ध लड्न आत्मबल दिन्छ । नकारात्मक विचारमा कमी आउँछ र कुनै पनि प्रकारका तनावबाट सजिलै उम्किन सकिन्छ । अनुसन्धानअनुसार एउटा असल जीवनसाथीले तपाईंको तनाव कम गर्न मात्रा सघाउँदिनन्,

उनी तपाईंको व्यायाम र खानाको समेत राम्ररी ध्यान राख्छिन् । उनले तपाइँलाई मदिरालगायतका अन्य लतबाट टाढिनसमेत सल्लाह दिन्छिन् ।

लैस्ताडका अनुसार प्रेमसम्बन्धले जीवनको महत्त्व र अर्थलाई पूरै परिवर्तित गर्छ । अनुसन्धानअनुसार प्रेम-अनुभूतिले मानव मस्तिष्कको डोपेमाइन रिवार्ड सिस्टमलाई सक्रिय गरिदिन्छ । खुसी र उत्साहित भावनाका लागि मस्तिष्कको यही खण्ड जिम्मेवार हुन्छ । प्रेम गर्नाले र निकटता बढाउनाले आक्सिटोसिन हार्मोन सक्रिय हुन्छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks