
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ५ - सरकारले पाँच वर्षपछि हवाई भाडाको माथिल्लो र तल्लो सीमा दर परिवर्तन गरेको छ । बुधबारदेखि लागू हुने गरी परिवर्तन गरिएको सीमा वृद्धिपछि विमान यात्रुले पुरानो भाडामा हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म बढी तिर्नुपर्ने भएको छ ।
आन्तरिक वायु सेवा सञ्चालकको अनुरोधपछि नागरिक उड्डयन प्राधिकरणले नयाँ दरका लागि पठाएको सिफारिसका आधारमा सरकारले सीमा परिवर्तन गरेको हो । सीमा परिवर्तन गर्दा प्राधिकरणले दिएको तीन विकल्पमध्ये इन्धन शुल्कबापत लिइने रकमलाई छुट्टै राखिएको छ ।
नयाँ सीमाअनुसार विराटनगरका लागि कम्तीमा हवाई भाडा २ हजार १० रुपैयाँ र इन्धन शुल्क १ हजार ८ सय ५० रहेको छ । त्यस्तै माथिल्लो सीमाअन्तर्गत हवाई भाडा ३ हजार ५ सय ७३ रुपैयाँ र इन्धन शुल्क लिन पाउनेछन् । भैरहवाका लागि तल्लो सीमाअन्तर्गत १ हजार ७ सय २३ मा र इन्धन शुल्कबापत १ हजार ६ सय ५० रुपैयाँ जोडिनेछ ।
माथिल्लो सीमाअन्तर्गत ३ हजार ६३ रुपैयाँमा इन्धन शुल्क जोडेर टिकट बेच्न पाउने अधिकार कम्पनीले पाएका छ्न् ।
त्यस्तै नेपालगन्जका लागि न्यूनतम भाडा २ हजार ७ सय २८ र इन्धन शुल्क २ हजार ३ सय ५० रुपैयाँ र बढीमा ४ हजार ४९ रुपैयाँ इन्धन शुल्क लिन पाउनेछन् ।
यो सीमाभित्र रहेर प्रत्येक विमान कम्पनीले आफ्नो कम्पनीको खर्च उठ्ने गरी भाडादरमा परिवर्तन गर्न पाउँछन् । वायु सेवा सञ्चालक संघका सदस्य तथा बुद्ध एयरका बजार प्रबन्धक
रुपेश जोशीका अनुसार पाँच वर्षपछि हवाई भाडादरलाई पुनरावलोकन गरिएको हो ।
अहिले भएको समायोजनअन्तर्गत पोखराका लागि न्यूनतम १ हजार ३ सय २८ हवाई भाडामा इन्धन मूल्य १ हजार ३ सय ५० रुपैयाँ र बढीमा २ हजार ३ सय ६१ रुपैयाँमा इन्धनबापतको शुल्क लिन सकिनेछ । सिमराका लागि ९ सय इन्धन शुल्कमा न्यूनतम हवाई भाडा ७ सय ५४ र बढीमा १ हजार ३ सय ४० रुपैयाँको सीमा तोकिएको छ ।
भद्रपुरका लागि न्यूनतम सीमा २ हजार २ सय इन्धन शुल्कमा २ हजार ५ सय १२ रुपैयाँ र बढीमा इन्धन शुल्कमा ४ हजार ४ सय ६७ रुपैयाँ र धनगढीका लागि इन्धन शुल्क ३ हजार १ सयमा न्यूनतम ३ हजार ६ सय ९७ र बढीमा ६ हजार ५ सय ७२ रुपैयाँ कायम भएको छ ।
बढ्दो महँगीका कारण वायु सेवा सञ्चालकहरूले भाडादर पुनरावलोकनको माग गरेपछि प्राधिकरणले मुद्रास्फीति र महँगीको आधारमा नयाँ भाडादरसहित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पठाएको थियो । माथि उल्लेखित गन्तव्यलागयत सबै स्थानका लािग इन्धन मूल्य, मर्मत, ल्यान्डिङ/पार्किङ आदिमा भएको वृद्धि र गन्तव्यको दूरीका आधारमा सरकारले नयाँ सीमा कायम गरेको हो । पर्वतीय उडानमा १ हजार ५ सयसम्म वृद्धि भएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks