
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ३ - मन्त्री नभएका कारण पर्यटन मन्त्रालयले आठ क्यासिनोको दर्ता खारेज प्रक्रिया तत्काल अघि नबढाउने भएको छ । लेखा समितिको निर्देशनअनुसार दिइएको ३५ दिनको म्याद सकिएको पर्सिपल्ट (आइतबार) अर्थ मन्त्रालयले बक्यौता रहेका सबै क्यासिनोको दर्ता खारेज गर्न पर्यटनलाई चिठी पठाएको थियो ।
'हजारौं कामदारको रोजगारी जोडिएको व्यवसाय भएकाले कर्मचारीले मात्र निर्णय लिन सम्भव छैन,' मन्त्रालयका एक सहसचिवले भने, 'मन्त्री नियुक्त भएपछि यसको टुंगो लाग्छ ।'
क्यासिनो नेपाल (सोल्टी), क्यासिनो अन्ना -अन्नपूर्ण), क्यासिनो फूलबारी -फूलबारी रिसोर्ट), क्यासिनो सांगि्रला (सांग्रिला), क्यासिनो रोयल (याक एन्ड यती), क्यासिनो भेनस
(मल्ल), क्यासिनो र्याड (र्याडिसन), क्यासिनो ग्रान्ड (पोखरा ग्रान्ड) दर्ता खारेज गर्नुपर्ने सूचीमा छन् । आठ क्यासिनोमा करिब ५ हजार कार्यरत छन् । यसबीचमा केही क्यासिनोले बक्यौता तिर्न सक्ने सम्भावना रहेको ती अधिकारीले बताए ।
दर्ता खारेजीको प्रक्रियासँगै क्यासिनोमा काम गर्नेहरू व्यवस्थापनलाई बक्यौता तिर्न दबाब दिनुका साथै सरकारी निकायलाई केही दिनको समय दिन सहमत गराउन सक्रिय भएका छन् ।
होटल सोल्टीस्थित क्यासिनो नेपालका चार मजदुर युनियनका अध्यक्षका साथै नेपाल रिक्रिएसन सेन्टरका महाप्रबन्धक मुकेश खनाल सेन्टरका प्रमुख कार्यकारी राकेश बाधवासँग कुरा गर्न दिल्ली छन् ।
'उनीहरूको सोमबार बाधवासँग कुरा भयो,' स्रोतले भन्यो, 'एक/दुई दिनभित्र सबै कुरा मिल्ने खबर गरेका छन् ।' क्यासिनो नेपालमा साझेदार भित्र्याई तिनैमार्फत बक्यौता तिराउने प्रयासमा बाधवा छन् । क्यासिनो अन्नामा बाधवाका साझेदार बनेर दुई भारतीयले व्यवस्थापन सम्हालिसकेका छन् । अन्तिम समयमा आएका कारण तिनले म्यादभित्र पैसाको बन्दोबस्त मिलाउन नसकेको सम्बद्ध स्रोतले जनायो ।
क्यासिनो सम्बद्ध मजदुर युनियनहरूले राजस्वसचिव कृष्णहरि बाँस्कोटा र पर्यटनसचिव किशोर थापालाई भेटेर बक्यौता तिर्न थप केही समय माग गरेका छन् । उनीहरूले लेखा समितिका केही सभासदलाई पनि भेटेका छन् । क्यासिनो नेपालसम्बद्धले ३ महिनादेखि तलब नपाएकाले केही दिन विचार गरिदिन अनुरोध गरेका थिए । क्यासिनो नेपालले २९ महिनादेखि कर्मचारीको सञ्चय कोषको रकम पनि दाखिला गरेको छैन ।
लेखा समितिको निर्देशनअनुसार राजस्व अनुसन्धान विभागले ३५ दिनको सूचना दिँदा होटल एभरेस्टस्थित क्यासिनो एभरेस्ट र ह्यातको क्यासिनो ताराले मात्र सबै राजस्व तिरेका थिए । लेखा समितिले राजस्व नतिर्ने क्यासिनो बन्द गराउन पुस १३ गते सम्बद्ध निकायलाई निर्देशन दिएको थियो । ३५ दिनको सूचना जारी भएपछि आठ क्यासिनोले केही न केही रकम तिरे पनि क्यासिनो नेपाल र क्यासिनो अन्नाले तिर्न चासो देखाएनन् । आठ क्यासिनोको गरी ३५ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी छ । सबैभन्दा बढी क्यासिनो नेपालको १३ करोड ३ लाख रुपैयाँ तिर्न बाँकी छ । अन्नाको १० करोड ३७ लाख रुपैयाँ बक्यौता छ । पोखराको क्यासिनो फूलबारीले ६ करोड २१ लाख रुपैयाँ तिर्न बाँकी छ । सांगि्रलाले २ करोड ५० लाख र रोयलले २ करोड २० लाख तिर्न बाँकी छ । यस्तै भ्याली लिंकमा आबद्ध क्यासिनो र्याड , भेनस र ग्रान्डको गरी १ करोड ८ लाख रुपैयाँ असुल हुन बाँकी छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks