
केदार ओझा
काठमाडौं, माघ २८ - मन्त्रीबाट हटेको आठ दिनपछि भीम रावल गृहमन्त्रीको हैसियतमै बिहीबार जेनेभा उडेका छन् । उनले जेनेभा जान मन्त्री पदमै रहँदा लिएको कूटनीतिक रातो राहदानी प्रयोग गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार कूटनीतिक राहदानी जुन प्रयोजनका लागि लिइएको हुन्छ, त्यो उद्देश्य/भ्रमण सकिएपछि बुझाउनुपर्छ । अन्य प्रयोजन या भ्रमणमा दुरुपयोग गरेको देखिए जो कसैलाई कारबाही हुन्छ ।
स्विट्जरल्यान्ड सरकारले मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन मानव अधिकार हेर्ने सम्बद्ध मन्त्री, केही सभासद र मानव अधिकारकर्मीलाई आमन्त्रण गरेको थियो । त्यही निमन्त्रणामा रावल मन्त्रीको हैसियतमा उडेका हुन् । उनकै कार्यकालमा पूर्वभ्रमण कार्यक्रम तय भएको थियो । 'तर गृहमन्त्रीबाट मुक्त भएपछि उहाँ जानुहोला भन्ने लागेको थिएन, आज सुटुक्ट उडेको थाहा पाएर चकित भयौं,' गृह मन्त्रालयका एक उच्च अधिकृतले भने ।
स्वीस सरकारले पठाएको निमन्त्रणा प्रधानमन्त्री कार्यालयमा आएपछि रावलले तत्कालीन प्रधानमन्त्री माधव नेपालाई अनुरोध गरी मन्त्रीको हैसियतमा जेनेभा जाने मनसाय व्यक्त गरेका थिए । रावलको अनुरोधमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले उनको नाम जेनेभा जाने गरी मन्त्रिपरिषद्बाट अनुमोदन गराएका थिए । मनोनयन लगत्तै प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलको अनुरोधमा गृहले मन्त्री रावलको नाम प्रस्ताव गरी पठाएको थियो । तर त्यही बीच नेपालले नेतृत्व गरेको मन्त्रिपरिषद् विघटन भयो ।
फेब्रुअरी ११ देखि १३ तारिकसम्म हुने उक्त कार्यक्रममा सहभागी हुन रावलसँगै थाई एयरवेजबाट अन्य दुई मानव अधिकारकर्मीहरू पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना पनि बिहीबार जेनेभा उडेका छन् । साँझ सोही सम्मेलनमा भाग लिन झन्डै आधा दर्जन सभासद पनि त्यसतर्फ गएका छन् ।
रावलले नम्बर प्लेट फेरे
पूर्वगृहमन्त्री भीम रावलले मन्त्रालयबाट जबरजस्ती लगेको गाडीमा पुरानै रातो र नीलो रङको बा१झ ८६७१ नम्बर अंकित प्लेट हालेका छन् । उनले बहालवाला गृहमन्त्री चढ्ने उक्त गाडीमा निजी गाडीमाझ बा७च ८६७१ अंकित नम्बर प्लेट लगाएका थिए । मन्त्रालय स्रोतका अनुसार पूर्वमन्त्रीले दुई रङको गाडी चढ्न पाउँदैनन् । प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रपति कार्यालयमा शपथ लिँदै गर्दा रावलले मन्त्री रहँदा चढ्दै आएको उक्त गाडीबाट झन्डा र नम्बर प्लेट निकाली गाडी जबरजस्ती लगेका थिए ।
मन्त्रालयबाट अनियमित रूपमा गाडी लगेर रातो प्लेट राखेको सूचना सार्वजनिक भएपछि गृह मन्त्रायलकै एक उच्च अधिकृतले उक्त कार्य गैरकानुनी हुने बताउँदै पुरानै नम्बर राख्न सल्लाह दिएपछि रावलले बुधबार पुरानै नम्बर राखेको थाहा भएको छ । त्यसैगरी रावलको पत्नी सन्जिता गिरीले चढ्दै आएको बा१झ ५१२९ नम्बरको प्राडो गाडी गृह मन्त्रालयलाई फिर्ता गरेकी छन् । मन्त्री पत्नीले मन्त्रालयको उक्त गाडीमा बा३च ६११९ नम्बर लगाएर चढ्दै आएकी थिइन् । यसैबीच पूर्वउपप्रधानमन्त्री विजय गच्छदारले मन्त्री हुँदा चढ्ने कालो सरकारी गाडी बा१झ ८२२९ फिर्ता गरेका छन् । सरकार विघटन भएलगत्तै सबै पूर्वमन्त्रीहरूले गाडी फिर्ता गरे पनि गच्छदारले झन्डा छोप्दै चढेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks