Loving nepal news

Friday, February 18, 2011

विद्यार्थीसित पौडेलले भने, 'दलको पछि नलाग’


पूर्ण विके

बैदी (तनहुँ), फाल्गुन ७ - 'बाबु नानी हो, पढाइ नै सबैभन्दा ठूलो कुरा हो, त्यसैले पढ्ने बेलामा कुनै दल र समूहको लहैलहैमा लाग्न हुँदैन,' स्थानीय तीनधारेस्थित कालीगंगा माविमा अकस्मात आएका कांग्रेस नेता रामचन्द्र पौडेलले विद्यार्थीसित आग्रह गरे ।

जिल्लाको विकट बैदी-४ स्थित कालीगंगामा केही कार्यकर्तासँगै आएका पौडेलले सात, आठ र नौका विद्यार्थीलाई कक्षाकोठामै पुगेर अनुशासित, लगनशील बनेर उज्ज्वल भविष्य निर्माणमा लाग्न सल्लाह दिए । उनले विद्यार्थीलाई सीपमूलक शिक्षा पढेमा बेरोजगार भएर बस्न नपर्ने सुझाए ।

अघिपछि मञ्च, सभा र समारोहमा भेटिने र देखिने कांग्रेस संसदीय दलका नेता पौडेल बिहीबार विद्यालयमा देखिएपछि शिक्षक, विद्यार्थी सबै आश्चर्यचकित बने । पौडेलले विद्यालयमा पढ्ने साना विद्यार्थी काँचो माटो भएकाले कस्तो आकार दिने भन्ने शिक्षक तथा अभिभावकको हातमा भर पर्ने बताए । 'पढाइले नै मानिसको स्तर कायम गर्छ,' पौडेलले भने, 'त्यसैले घरमा पनि आमाबाबुलाई पढ्ने वातावरण बनाइदिन भन्नुपर्छ ।'

उनले सबै शिक्षक नियमित कक्षामा आए नआएको र प्रभावकारी पठनपाठन हुने गरे नगरेको बारे विद्यार्थीसँग सोधखोज गरेका थिए । विद्यार्थीमाझ कुनै पनि दलको नाम उच्चारण नगरेका पौडेलले पढाएका कक्षामा मलाई तिमीहरूले चिन्यौ भनेर सोधेका थिए । जवाफमा अधिकांश विद्यार्थीले रामचन्द्र पौडेल भने ।

पौडेलले विद्यालयका शिक्षकसँग असल शिक्षाले नै विद्यार्थीको भविष्य निर्धारण गर्ने भएकाले गुणस्तरीय शिक्षा प्रदान गर्न कञ्जुस्याइँ नगर्न अनुरोध गरे ।विद्यालयका सहायक प्रधानाध्यापक जीतबहादुर थापाले पौडेल आउनेबारे पूर्वजानकारी नभएको बताए । 'कार्यक्रमबिना उहाँ आउनु होला भन्ने सोचेकै थिएनौं,' थापाले भने, 'कक्षाकोठाभित्रै पसेर पढाउँदा त झनै अचम्म लाग्यो ।'

पौडेलले सोही दिन बैदी-७ कोटबैदीस्थित सिद्ध प्राविका शिक्षक तथा विद्यार्थीसँग पनि भेट गरे । कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयकी प्रधानाध्यापक रनमाया गुरुङले अचानक विद्यालय हाताभित्र नेता आएकामा असजिलो मानिन् । 'विद्यार्थी बाहिर चौरमा पढिरहेका थिए,' गुरुङले भनिन्, 'नेता अकस्मात पस्दा असजिलो लाग्यो ।'

पौडेल कांग्रेसको जनजागरण अभियानअन्तर्गत कार्यक्रम क्षेत्र वरपरका ती विद्यालयमा पुगेका हुन् । मंगलबारदेखि अभियानमा हिँडेका उनले जिल्लाको विकट गाविस बैदी, छिपछिपे र भीरकोटमा तीन दिन बिताए ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks