Loving nepal news

Tuesday, February 8, 2011

अस्ताइन् शान्ता


कान्तिपुर संवाददाता

काठमाडौ, माघ २५ - कानुनमा विद्यावारिधि गर्ने नेपालकी पहिलो महिला शान्ता थपलियाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको छ । श्रीमान्, एक छोरा, बुहारी र नातिका साथ बस्दै आएकी थपलियाको बिहान तीन बजे पुल्चोकस्थित निवासमा निधन भएको हो ।

मानव अधिकारको संरक्षण र विपतमा परेका महिलाको कानुनी सहायतामा सक्रिय रूपले लागेकी थपलिया तीन वर्षदेखि पाठेघर क्यान्सरले पीडित थिइन् । विक्रम संवत् १९९८ पुस १८ मा इलाममा जन्मेकी उनले २०४३ मा कानुनी सहायता तथा परामर्श केन्द्र (ल्याक) को स्थापना गरेकी थिइन् ।

सयौं असहाय महिलालाई कानुनी सहायता प्रदान गरेकी थपलियाले आफू काम गर्न नसक्ने हालतमा पुगेको भन्दै आफ्नी छात्रा शशी अधिकारीलाई भदौमा संस्थाको जिम्मेवारी सुम्पेकी थिइन् । 'अब तिमीहरू अगाडि बढ्नुपर्छ, म नसक्ने भएँ भन्नु हुन्थ्यो,' उनले भनिन् ।

कानुनी क्षेत्रमा विशिष्ट योगदान गरेको भन्दै उनलाई केही महिनाअघि मात्रै सर्वाेच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि दिएको थियो । थपलियाले क्यालिफोर्निया विश्वविद्यालयबाट एलएलएम र दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि गरेकी थिइन् । उनले नेपाल ल क्याम्पसमा साढे तीन दशक अध्यापन पनि गरेकी थिइन् । मानव अधिकार संरक्षणमा गहिरो अभिरुचि भएकी थपलियाले नेपाल न्यायिक प्रतिष्ठान, प्रहरी सुधार तथा सुझाव आयोग, त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक परिषद्लगायत संघसंस्थाको सदस्य भएर पनि काम गरेकी थिइन् । थपलिया सार्क क्षेत्रीय महिला अधिकार समितिमा पनि सदस्य थिइन् ।

उनले नेपालको पारिवारिक कानुन, महिलाको सम्पत्तिमाथिको अधिकार, महिला अधिकारलगायत क्षेत्रमा निकै ठूलो योगदान पुर्‍याएकी छन् । मुलुकी ऐन ११ औं संशोधनको मस्यौदा उनैले तयार पारेकी थिइन् । छोरीले पनि अंश पाउने कानुन बनाउन उनले सरकारलाई निकै ठूलो दबाब दिएकी थिइन् । 'त्यसका लागि २० जिल्लामा महिला अधिकारको अवस्थाबारे अनुसन्धान गरेर त्यसको प्रतिवेदन सरकारलाई बुझाउनु पनि भएको थियो,' अधिकारीले भनिन् ।

सन् १९९५ मा बेइजिङमा भएको महिलाको चौंथो विश्व सम्मेलनमा उनले नेपाली गैरसरकारी संस्थाको प्रतिनिधित्व गरेकी थिइन् ।

उनको पार्थिव शरीरलाई ११ देखि १ बजेसम्म मानभवनस्थित ल्याक परिसरमा र आर्यघाटमा २ देखि ३ बजेसम्म श्रद्धाञ्जलिका लागि राखिएको थियो । सभामुख सवास नेम्वाङ, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, दमननाथ ढुंगाना, महिला सभासदहरू, महिला अधिकारकर्मी, कानुन व्यवसायी, बारका अध्यक्षलगायत पदाधिकारी, ल क्याम्पसका डिन, क्याम्पस चिफ, महिला आयोगका अध्यक्षलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए । 'नेपालमा महिला अधिकार यसरी स्थापित हुनुमा उहाँको ठूलो योगदान छ,' नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले भने, 'उनको देहावसानबाट मुलुकले एउटा सज्जन अधिकारकर्मी गुमाएको छ ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks