
कुलचन्द्र न्यौपाने
काठमाडौ, माघ २३ - कांग्रेस एमाले-माओवादी गठबन्धन सरकारमा सहभागी नहुने भएको छ । आइतबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । प्रधानमन्त्री निर्वाचनमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका थिए ।
'नेपालको अन्तरिम संविधानको ३८(२) बमोजिम झलनाथ खनाल प्रधानमन्त्री निर्वाचित हुनु भएको वर्तमान परिस्थितिमा नेपाली कांग्रेस प्रतिपक्षमा रहने निर्णय गर्दछ,' बैठक निर्णयमा कांग्रेसले भनेको छ, 'सरकारले राज्य संचालनमा अवलम्वन गर्ने नीति र कार्यक्रमहरुको मूल्याङ्कन गरी गुण-दोषको आधारमा नेपाली कांग्रेसले आफ्नो नीति निर्धारण गर्दै जानेछ ।' कांग्रेसले शान्ति प्रकृया र लोकतान्त्रिक संविधान निर्माणमा सिर्जनात्मक सहयोगलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ ।
कांग्रेसले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच भएको ७ बुँदे सहमतिले शान्ति सम्झौताको उल्लंघन गरेको ठहर गरेको छ । '७ बुँदे सहमतिमा उल्लेख भएका माओवादी लडाकूहरुको समायोजन र पुनस्र्थापना सम्बन्धी शान्ति प्रकृयाको विषय लगायत उक्त सहमतिमा उल्लेखित धेरै विषयहरुले नेपालको अन्तरिम संविधान र विस्तृत शान्ति सम्झौता एवं अहिलेसम्म राजनीतिक दलहरुका बीचमा भएका सहमति समझदारीहरुको घोर उल्लंघन गरेको छ,' मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आइतबारको बैठकमा नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, अर्जुनप्रसाद जोशी, दिलेन्द्रप्रसाद बडू, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, कृष्णचन्द्र नेपाली, नविन्द्रराज जोशी र गगन थापाले बोलेका थिए ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks