
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन २ - रोयल्टी र पुरानो बक्यौता नबुझाउने ८ क्यासिनोको इजाजत खारेज गर्न राजस्व अनुसन्धान विभागले पर्यटन मन्त्रालयललाई आइतबार पत्र पठाएको छ ।
विभागले मन्त्रालयलाई पत्र लेखी ३५ दिने म्यादभित्र पनि रोयल्टी र बक्यौता नबुझाएको भन्दै ती क्यासिनोलाई बन्द गराई र इजाजतपत्र रद्द गर्न पत्र लेखेको हो ।
विभागको यो कदमसँगै आठ क्यासिनो विघटन नजिक पुगेका छन् । 'आठ क्यासिनोले सरकारलाई तिर्नुपर्ने रोयल्टी र बक्यौता रकम चुक्ता गर्न नसकेपछि तिनीहरूको लाइसेन्स रद्द गरी कारोबार बन्द गराउन सिफारिस गर्दै आइतबार पर्यटन मन्त्रालयलाई पत्र पठाएका छौं,' विभागका महानिर्देशक महेश दाहालले भने ।
लाइसेन्स खारेज हुनेमा क्यासिनो र्याड, क्यासिनो भेनस, क्यासिनो ग्रान्ड, रोयल क्यासिनो, अन्ना क्यासिनो, क्यासिनो सांगि्रला, फूलबारी क्यासिनो र क्यासिनो नेपाल छन् । दस क्यासिनोमध्ये हाल होटल ह्यात रिजेन्सी अन्तर्गतको क्यासिनो तारा र एभरेस्ट होटलअन्तर्गतको क्यासिनो एभरेस्टले मात्र बक्यौता चुक्ता गर्न सकेका छन् ।
पैंतीस दिनभित्र बाँकी बक्यौता नतिर्ने क्यासिनोको सञ्चालन लाइसेन्स खारेज गर्न लेखा समितिले डेढ महिनाअघि सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार विभागले राजस्व तिर्न नसक्ने क्यासिनोलाई समयमा बक्यौता चुक्ता गर्न वा लाइसेन्स खारेजीका लागि तयार रहन कडा सूचना निकालेको थियो ।
लेखा समितिको निर्देशनपछि भने पाँचो क्यासिनोहरू -क्यासिनो तारा, क्यासिनो र्याड, क्यासिनो भेनस, क्यासिनो ग्रान्ड र क्यासिनो सांगि्रला) ले चालू आवको रोयल्टी तिरेका थिए । तर क्यासिनो ताराबाहेक अरू चारलाई विभागले कारबाहीको लागि सिफारिस गरेको छ । अरु तीन -क्यासिनो भेनस, क्यासिनो र्याड र क्यासिनो ग्रान्ड) ले चालू आर्थिक वर्षको रोयल्टी तिरे पनि विलम्ब शुल्क नतिरेकाले उनीहरूलाई कारबाहीको सिफारिस गरिएको हो । दाहालका अनुसार यी तीन क्यासिनोले बाँकी १ करोड ८ सय चुक्ता गर्न सरकारसँग थप दुई महिनाको समय मागेका छन् ।
यस्तै क्यासिनो सांगि्रला र क्यासिनो रोयलले चालू आवको रोयल्टी र जरिवाना तिरे पनि अघिल्लो वर्षका बक्यौता तिरेका छैनन् । क्यासिनो सांगि्रलाको व्यवस्थापनले भने अघिल्लो वर्षको बक्यौता तत्कालीन सञ्चालक नेपाल रिक्रिएससन सेन्टरले नै तिर्नुपर्ने जिकिर गर्दै आएको दाहालले बताए ।
विभागका अनुसार आठ क्यासिनोले अझै ३५ अर्ब ६ करोड ५० लाख रुपैयाँ बक्यौता सरकारलाई तिर्न बाँकी छ । राजस्व असुलीमा संलग्न निकायहरूको निरन्तर दबाबका बाबजुद पनि क्यासिनो अन्ना र क्यासिनो नेपालले बाँकी रकम तिरेका छैनन् । यी दुईले २४ करोड ४० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यस्तै क्यासिनो फूलबारीले अझै ६ करोड २१ लाख रुपैयाँ चुक्त गर्न बाँकी छ ।
विभागको पत्रपछि लेखा समितिको निर्देशनअनुसार ती क्यासिनोमाथि कारबाही हुने मन्त्रालयका सचिव किशोर श्रेष्ठले जानकारी दिए । 'समितिको निर्देशनअनुसार हामीले उनीहरूलाई कारबाही गर्नैपर्छ,' उनले भने । आर्थिक ऐनअनुसार पुस मसान्तसम्म रोयल्टी चुक्त नगर्ने क्यासिनोले सञ्चालनसम्बन्धी इजाजतपत्र गुमाउनुपर्नेछ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks