
राजेन्द्र फुयाल
काठमाडौ, माघ २१ - एमाले अध्यक्ष झलनाथ खनाल माओवादीको समर्थनमा बिहीबार प्रधानमन्त्री निर्वाचित भएका छन् । ५ सय ९८ सदस्यीय संसद्मा खनालले ३ सय ६८ मत ल्याई विजयी भएका हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो उम्मेदवारी फिर्ता गरी एमालेलाई समर्थन गरेपछि उनी विजयी भएका हुन् । उनलाई नेकपा संयुक्त, नेकपा माले, माले समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृतलगायतका साना दलहरूले पनि समर्थन गरेका छन् । उनले आइतबार शपथग्रहण गरी पदभार सम्हाल्नेछन् ।
इलामबाट संविधानसभामा निर्वाचित ६१ वर्षीय खनाल नेपालको ३४ औं प्रधानमन्त्री हुन् । लोकतान्त्रिक गणतन्त्र घोषणायताका उनी तेस्रो निर्वाचित प्रधानमन्त्री हुन् ।
खनालका प्रतिस्पर्धी कांग्रेस नेता रामचन्द्र पौडेलले १ सय २२ र फोरम -लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले ६७ मत पाएका थिए । कांग्रेसलाई राप्रपा र राजपाले साथ दिएका थिए । गच्छदारले तमलोपा, तमलोपा (नेपाल), सद्भावना सहितका मधेसी दलहरू र राप्रपा नेपालको समर्थन पाएका थिए । मतदानका बेला मधेसी जनअधिकार फोरमका सबै सभासद अनुपस्थित थिए । नेमकिपाले निर्वाचन बहिष्कार गरेको थियो ।
निर्वाचित हुनुअघि संसद्मा खनालले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र संविधान निर्माण अघि बढाउन आफ्नो नेतृत्वलाई सघाउन प्रतिस्पर्धी उम्मेदवारहरूलाई आग्रह गरेका थिए । 'अग्रगामी र लोकतान्त्रिक संविधान बन्नुपर्छ,' उनले भने, 'यसका लागि सबै सभासद एक ठाउँमा उभिएर स्थिर र सहमतिको सरकार बनाऔं ।' आफ्नो नेतृत्वमा बन्ने सरकारले सामाजिक, आर्थिक रूपान्तरणको काम गर्ने, मधेसी दल र अन्य पक्षसँग विगत सरकारले गरेका सहमति कार्यान्वयन गर्ने उनको प्रतिबद्धता थियो ।
खनालले ७ महिनासम्म मुलुकमा नयाँ सरकार गठन हुन नसक्नु 'विडम्बनापूर्ण' भएको टिप्पणी गरे । माधवकुमार नेपालले असार १६ मा प्रधानमन्त्रीबाट राजीनामा गरेपछि मुलुक कामचलाउ सरकारको भरमा थियो ।
माओवादी अध्यक्ष दाहालले संसद्को ठूलो दलको हैसियतले मुलुकमा सरकार गठन हुन नसक्ने अवस्था अन्त्य गर्न आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए । नयाँ सरकार गठन हुँदा शान्ति र संविधान निर्माणको प्रक्रियाले गति लिने र जनतामा राहत पुग्ने उल्लेख गर्दै उनले अरू दलले नेतृत्व दाबी नछोडेपछि आफूले 'त्याग गरेको' बताए । 'आज पनि परिणाम नआउने देखा पर्यो,' उम्मेदवारी फिर्ता गर्नुको कारण प्रस्ट्याउँदै उनले भने, 'ठूलो दलको उम्मेदवार हार्ने र नेपालीले आफ्नो फैसला आफैं गर्न सक्दैन भन्ने कलंक पनि रहने डर ।'
'आज सरकार दिनु महत्त्वपूर्ण उपलब्धि हो,' खनाललाई समर्थन गर्दै उनले भने, 'यसले नेपाली नेता र दलहरूले आफ्नो फैसला आफैं गर्न सक्छन् भन्ने देखाएको छ ।' सरकार गठनमा प्रभाव राख्ने ठानिएको दक्षिण छिमेकी भारतप्रति दाहालले घुमाउरो भाषामा असन्तुष्टि पोखेका थिए ।
'हामीलाई राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता सबैभन्दा प्यारो छ,' उनले भने, 'हामी कसैको आदेश र इसारामा होइन, आफ्नो फैसला आफैं गर्छौं ।' तर उनले शान्ति र समृद्धिका लागि छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्नेमा आफ्नो दल रहेको पनि बताए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने दाहालले मतदान प्रक्रियामा जानुअगावै उम्मेदवारी फिर्ता लिएकोमा तीव्र असन्तुष्टि जनाए । 'मेरो उम्मेदवारीका कारण उहाँलाई त्यो निष्कर्षमा पुग्न मद्दत गर्यो,' उनले भने, 'यही सहमति गर्नु थियो भने ६ महिनापहिले नै किन नगरेको ?' विगतमा र यसपटक पनि माओवादी अध्यक्ष दाहालले उम्मेदवारी फिर्ता लिएर प्रधानमन्त्री बन्ने मौका चुकाएको उनको दाबी थियो । माओवादी, कांग्रेस र एमालेले मधेसीको भूमिका अवमूल्यन गरेको आरोप लगाउँदै उनले घुमाउरो भाषामा आन्दोलनको चेतावनीसमेत दिए ।
कांग्रेस नेता रामचन्द्र पौडेलले विगतका सम्झौता कार्यान्वयनमा माओवादी इमानदार नभएकाले सरकार गठनमा ऊसँग सहमति नभएको बताए । राष्ट्रिय सहमतिको नारामात्र दिएको भन्दै उनले एमाले नेतृत्वसँग रोष प्रकट गरे । 'सहमतिका नाममा यत्रो समय अड्काएको आफ्नो दुनो सोझ्याउन पो रहेछ,' खनाललाई लक्षित गर्दै उनले भने ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks