
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ५ - आफुले पाउने मन्त्रालय र त्यसका लागि पठाउने मन्त्रीहरुको नाम तय गर्न प्रमुख सत्तारुढ दलहरु माओवादी र एमालेको बिहीबार दिउँसो स्थायी समितिको बैठक बस्दैछ ।
एमाले स्थायी समितिको बैठक मदननगर बल्खुमा अपरान्ह साँढे १२ बजे बोलाईएको छ । बैठकमा प्रधानमन्त्री झलनाथ खनालले मन्त्रालय र मन्त्री छान्ने कार्यलाई अन्तिम् रुप दिने अपेक्षा राखेपनि पार्टीकै नेताहरु माधवकुमार नेपाल र केपी ओली पक्षले भने माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग गरेको सात बुँदे सम्झौतालाई छलफलको केन्द्र बनाउने तयारी गरेका छन् ।
एक नेताका अनुसार गृह मन्त्रालय छाड्न नहुने र सहमतिलाई परिमार्जन गर्नुपर्ने नेपाल–ओली समुहको अडानले मन्त्रीहरु छान्ने कार्यमा अवरोध हुने संभावना रहेको छ ।
माओवादी स्थायी कमिटीको पनि बिहीबार ११ बजे पेरिस डाँडास्थित पार्टी कार्यालयमा बैठक बस्ने भनिएपनि एमालेको बैठकको निर्णय पर्खनका लागि दिउँसो ३ बजेलाई सारिएको छ । माओवादीले आफ्नो तर्फबाट प्रस्तावित मन्त्रीहरुको नाम छनौट गर्ने बताइएको छ ।
प्रधानमन्त्री खनालसंगको सहमतिमा गृह र परराष्ट्रसहित ११ मन्त्रालय पाउने भएपछि माओवादीले आफ्नो तर्फबाट त्यसका लागि नामहरु मनोनयन गर्न लागेको हो । तर, एमालेभित्रै नेपाल–ओली समुहले गृह मन्त्रालय जुनसुकै हालतमा पनि माओवादीलाई दिन नहुने अडान राखेपछि जटिलता बढेको छ ।
बिहीबार मन्त्रिपरिषद्ले पूर्णता पाउने वा नपाउने एमाले स्थायी समितिको बैठकले गर्ने निर्णयमा धेरै हदसम्म निर्भर गर्नेछ । यसअघि नै एमाले स्थायी समिति बैठकले भरतमोहन अधिकारीलाई उपप्रधान तथा अर्थ, बिष्णु पौडेललाई गृह र गंगालाल तुलाधरलाई शिक्षा मन्त्री तोकेरै पठाएको थियो । माओवादीले पनि गृहमा दावी गरेका कारण अझै पौडेल र तुलाधर विन विभागीय मन्त्रीको रुपमा रहेका छन् ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks