
विमल खतिवडा
काठमाडौ, फाल्गुन ४ - अभिनेत्री झरना थापालाई फिल्मपछि केही कुराले तान्छ भने त्यो म्युजिक भिडियो हो । उनी म्युजिक भिडियोमा अभिनय गर्ने मामिलामा अन्य सिनेकर्मीहरूभन्दा अगाडि छिन् । दोहोरी र आधुनिक गीत गरी दर्जनजति भिडियोमा उनले मोडलिङ गरिसकेकी छन् ।
केले तानेको होला उनलाई काँचको पर्दातिर ?
'दोहोरी र आधुनिक गीतका गायक-गायिकाले भिडियोमा अभिनय गर्दिनुपर्यो भन्दै धेरै आग्रह गर्नुहुन्छ,' उनी भन्छिन्, 'त्यही भएर सांगीतिक क्षेत्रमा पनि हात हालेकी हुँ ।' उनी बढी चाहिँ दोहोरी भिडियोमा खेल्न आनन्द मान्छिन् । तिनमा रहने नेपाली संस्कृति झल्किने शब्दहरू उनका आकर्षण हुन् ।
'कलाकार अलराउन्डर हुनुपर्छ,' झरना भन्छिन्, 'म्युजिक भिडियोमा तीन दिन समय दिँदा राम्रै पारिश्रमिक पाइन्छ, दर्शकले गर्ने मायामा पनि वृद्धि हुन्छ ।'
सायद, त्यसैले केही समययता म्युजिक भिडियोमा देखिने सिनेकर्मीहरू बढ्दा छन् । धीरेन शाक्य, मेलिना मानन्धर, झरना बज्राचार्य, उषा पौडेल, ऋचा घिमिरे, नन्दिता केसी, सुशील क्षेत्री, सञ्चिता लुइँटेल, सुमन सिंह सबैले त्यो बाटो समातिसकेका छन् । राजेश हमाल पनि अछूता छैनन् । आर्यन सिग्देल, राजबल्लभ कोइराला, आयुष रिजाल, नम्रता श्रेष्ठ, जीवन लुइँटेल, बाबु बोगटी त मोडलिङबाटै ठूलो पर्दामा आएका भइहाले ।
फिल्मबाट म्युजिक भिडियोतिरको यात्राको सुरुवात भुवन केसीले गरेका हुन् । उनी आफैंले गाएको गीत 'मायालु तिमी टाढा भइदिनाले...' को भिडियोमा २२ वर्षअघि देखा परेका थिए । उनले अचेल पनि त्यो क्रम तोडेका छैनन्, तर त्यो 'रहरले नभएर साथीभाइको करकापले गर्दा हो ।' उनले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् ।
'गीतमा मोडलिङ गर्दिनु भन्दै धेरै अफर आउँछन्,' भुवन सुनाउँछन्, 'राम्रो गीत पाए अझै मोडलको रूपमा अभिनय गर्ने जोस छ ।' कलाकार भएपछि हरेक तरिकाले दर्शकको मन जित्न लागिपर्नुपर्ने र दर्शकको मन जित्नकै लागि मोडलिङमा हात हालेको उनको तर्क छ ।
राजेश भारतीय गजल गायक जगजित सिंहको नेपाली सिर्जना 'कुन माया सदर भो..' का लागि सानो स्त्रिmनमा देखिइसकेका छन् । करिश्मा मानन्धर र दिलीप रायमाझीले रामकृष्ण ढकालको 'वचन तोडेँ कसम नि तोडेँ...' मा मोडलिङ गरेका छन् । त्यसपछि दुई/तीन भिडियोमा आइसकेकी करिश्मा कति उत्साहित छिन् भने अवसर पाए मोडलिङ नछोड्ने दाउमा छिन् । ्
'फिल्मबाट भन्दा म्युजिक भिडियोमा अभिनय गर्दा दर्शकको प्रतिक्रिया चाँडै पाइन्छ,' राम्रा शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा मात्रै खेल्ने उल्लेख गर्दै उनी भन्छिन्, 'म्युजिक भिडियोबाट दर्शकको मन पनि सजिलै जित्न सकिन्छ ।'
आधा दर्जनजतिमा खेलिसकेका दिलीपको यस्तै धारणा छ । 'फिल्ममा नचिनेका दर्शकले पनि म्युजिक भिडियोमा सजिलै चिन्छन्,' उनी भन्छन् । तर खास कारण अर्कै रहेको रहस्य झरनाले झैं उनले पनि अन्त्यमा खोले । 'म्युजिक भिडियोमा खेल्दा पारिश्रमिक पनि राम्रै पाइन्छ ।' यति भनिसकेपछि उनको मुहारमा मन्द मुस्कान देखियो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks