
पर्सा, फाल्गुन २ - राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले मुलुकमा दिगो शान्ति र लोकतन्त्र स्थायित्वका लागि प्रजातान्त्रिक शक्ति एकजुट हुनु आवश्यक रहेको बताएका छन् ।
राष्ट्रिय जनशक्ति पार्टी पर्साले सोमबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मुलुकमा वाम शक्ति बलियो र प्रजातान्त्रिक शक्ति कमजोर भएको कारण मुलुकले निकास पाउन नसेको बताउँदै प्रजातान्त्रिक शक्ति बलियो भएमात्र मुलुकले निकास तथा लोकतन्त्रको स्थायित्व सम्भव हुन सक्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष थापाले माओवादी र नेकपा एमालेबीच सत्ता प्राप्तिका लागि भएको सातबुँदे सहमतिले बाम ध्रुवीकरण भएको प्रस्टयाएको पनि दावी गरे । एमाले र माओवादीबीच भएको सातबुँदे सहमति आफू र आफ्ना दल तथा प्रजातान्त्रिक शक्तिसमेतलाई अमान्य भएको उनले बताए ।
अध्यक्ष थापाले माओवादीलाई गृहमन्त्रालय कुनै पनि हालतमा दिन नहुने पनि जिकिर गरे । प्रधानमन्त्री पदलाई त्यागेको दावी गर्ने माओवादीले गृहमन्त्रालयजस्ता सानो पदमा दाँत गाड्नुले माओवादीको उद्देश्य छरप्रष्ट पारेको कारण माओवादीलाई गृहमन्त्रालय दिनु लोकतन्त्रको लागि घातक हुने बताए । अध्यक्ष थापाले हालै गठन भएको सरकारले पनि संविधान निर्माण कार्य पूरा गर्नेमा शङ्का रहेको बताए ।
रासस
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks