Loving nepal news

Thursday, February 10, 2011

बिनाविभागीय मन्त्रिपरिषद्


अतुल मिश्र

काठमाडौ, माघ २८ - मुलुकको इतिहासमै बिहीबार पहिलोपटक मन्त्रालय नतोकी उपप्रधानमन्त्रीसहित तीनजना मन्त्री सम्मिलित बिनाविभागीय मन्त्रिपरिषद् विस्तार भयो । यसअघि मन्त्रीहरू शपथ लिनेबित्तिकै तोकिएको मन्त्रालयमा जान्थे । कार्यभार सम्हाल्थे । तर योपल्ट मन्त्रीहरूले शपथपछि कार्यभार सम्हाल्न जाने ठाउँ पाएनन् । उनीहरू सीधै प्रधानमन्त्री कार्यालय गए र त्यहाँ पहिलो मन्त्रिपरिषद् बैठकमा बसे । त्यससपछि प्रधानमन्त्रीसहित तीनैजना संसद् बैठकमा सहभागी भए ।

बिहीबार उनीहरूको जीवनशैली यति पृथक् नदेखिए पनि उत्तेजनापूर्ण रह्यो । बिहान चारदेखि साढे चार बजेसम्ममा उठ्ने बानी भएका उपप्रधानमन्त्री भरतमोहन अधिकारी बिहीबार चार बजे उठेर मनतातोपानीले नुहाउन बिर्सिएनन् । '३६५ दिन नै मनतातोपानीले नुहाउँछु, आज पनि त्यही भयो,' उपप्रधानमन्त्री अधिकारीले बिहीबार भने, 'बुधबार राति धेरै ढिलो आएको थिएँ, तैपनि बानी त बानी नै हो नि ।' अधिकारी दिनहुँ नित्य क्रियासँगै दाह्री खौरन्छन् । अत्यन्त उत्तेजनापूर्ण दिनको सुरुवातमा समेत उनले बिहान सामान्य शारीरिक ब्यायाम, त्यसपछि आँखा चिम्लेर एकाग्रता बढाउनका लागि गरिने ब्यायामलाई बिर्सेनन् ।

बिहानै कान्तिपुरलगायतका धेरैजसो अखबार पढ्नु उनको बानी नै हो । बिहीबार बिहान एक ग्लास दूध र उसिनेको स्याउ खाएर सात बजेतिर घरबाहिर

निस्के । अध्यादेश टेबुल गर्नु, सरकार बनाउनुजस्ता कामका लागि दौडधुप जारी रह्यो । सरकार बनाउने बिहीबार अन्तिम दिन भएकाले उनी बढी चिन्तित थिए । यसपछि शपथ ग्रहण मन्त्रिपरिषद् बैठक लगायतमा उनको दिन गुजि्रयो ।

प्रधानमन्त्री कार्यालयमै खाने व्यवस्था थियो । तर उनले दिउँसो १२ बजेतिर घर फर्किएर खाना खाए । 'म सकभर घरमै खाना खान्छु, दूध रोटी मनपर्छ,' अधिकारी भन्छन् । दिनहुँ सादा खाना रुचाउने अधिकारीको भान्सामा उपप्रधानमन्त्री भएको साँझ बिहीबार पृथक् परिकार बन्यो । उनकै शब्दमा, 'दाल, भात, काउलीको तरकारी, मूलाको अचार, सुख्खा रोटी र साग पाक्यो ।'

बदलिँदो परिस्थितिमा अधिकारीले अन्तर महसुस गरेका छन् । 'सम्भावना अत्यन्त राम्रो छ, सबै दल नेता, जनताले वर्तमान स्थितिलाई राम्ररी अनुभूति गरिरहेका छन्,' उनले भने, 'यसलाई क्यास गर्न सक्यो भने देशले निकास पाउँछ ।'

अधिकारी जस्तै बिनाविभागीय मन्त्री विष्णु पौडेलसमेत बिहान साढे पाँच बजे नै उठे । बिहान आँखा खोल्नासाथ उनले सुत्ने कोठाको पूर्वपट्ट िभएको झ्यालबाट चराले मिठो स्वरमा गाइरहेको सुने । उनी बिहान पूजा ध्यान गर्दैनन् । 'पूजामा होइन, काममा विश्वास छ,' पौडेलले मन्त्री बनेपछि कान्तिपुरसँग भने । अखबारहरू पढेपछि बिहान साढे आठ बजेतिर उनी दुई दलको बैठकमा सहभागी हुन बालुवाटार गए । पौडेललाई बिहान खाजा नखाने बानी छ । 'बिहान सामान्यतया तातोपानीमा मह र कागती राखेर खाने गरेको छु,' उनले भने । उनले अघिल्लो दिन र बिहीबारमा त्यति धेरै अन्तर महसुस गरेनन् । 'अलि बढी फोन आएको छ, साथीभाइले सद्भाव दिनुबाहेक कुनै अन्तर छैन,' उनले भने, 'परिवारका सदस्यले मन्त्री हुनुको अर्थ अतिरिक्त कार्यबोध ठान्छन् ।' बुवा मन्त्री बनेपछि उनकी छोरी राति नौ बजेतिर बुवाको घर आइन् । पौडेलले माइती आएकी छोरीलगायत परिवारका अन्य सदस्यसँग बसेर खुसी साटेछन् । 'परिस्थिति अत्यन्त जटिल छ,' उनले भने, 'राष्ट्रिय सहमति निर्माणको जिम्मेवारी छ ।'

गंगालाल तुलाधरको दिन दौडधुपलगायत उत्तेजनापूर्ण रूपमै बित्यो । बिहान चार बजे उठ्ने तुलाधरले गत दुई वर्षदेखि गर्ने गरेका छोटो योगाभ्यास, प्राणायामलाई निरन्तरता दिए । सामान्यतया दिनहुँ ८ बजे खाना खाएर पार्टी कार्यालय पुग्ने बानी भएका तुलाधर बिहीबार ९ बजे खानामा सादा रोटी र दूध खाएर बाहिर निस्के । तुलाधरलाई मन्त्री भएपछि साथीभाइ र अन्य व्यक्तिबाट पाउने सद्भावमा कमी देखिने समस्याले समेत सताएको थियो । 'नेपालीको आकांक्षामा वृद्घ िभइरहेको छ सद्भावमा कमी नहुन दिन विभिन्न रणनीतिबारे समेत सोचेँ,' तुलाधरले भने, 'म आफ्नो कर्तव्यबाट एक इन्च पछि हट्ने छैन भन्ने अनुभूति आइरह्यो ।'

तुलाधरको भान्छा विगतको दाँजोमा बिहीबार राति अलि फरक रह्यो । उनको भान्सामा सधैं जसो हुने पालुंगो साग, दाल, भातबाहेक आज मासुसमेत पाकेको छ । श्रीमती छोरीसहित तीन जनासँग उनी मैनबत्तीको प्रकाशमा रमाइरहेका छन् । 'बत्ती छैन, मैनबत्तीको आंशिक प्रकाशबीच साथीभाइको बधाई सुभेच्छा सुन्दै परिवारसँग बसेर रमाइरहेको छु,' उनले राति भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks