
सुजित महत
काठमाडौ, माघ १९ - ठूला करदाता कार्यालयले हल्का पेय पदार्थ पेप्सीको उत्पादक वरुण वेभरेजले कर छलेको ठहर्याउँदै मूल्य अभिवृद्धि कर -भ्याट) बापत ७ करोड ४० लाख रुपैयाँ तिराउने निर्णय गरेको छ ।
पेप्सीले २५ करोड ३३ लाख रुपैयाँ बराबरको कारोबारमा भ्याट छलेको देखिएपछि जरिवाना गरिएको अर्थ मन्त्रालय सम्बद्ध स्रोतले जानकारी दियो । आयकर छलीको अभियोगमा छानबिन भइरहेको छ ।
अन्तिम चरणमा रहेको छानबिनमा आयकर निर्धारण गर्दा भ्याटभन्दा बढी तिराउने निर्णय हुने सम्बद्ध स्रोतले जनायो ।
राजस्व चुहावट नियन्त्रण गर्न अर्थद्वारा डेढ महिनाअघि गठित द्रुत गस्ती (फ्लाइङ स्क्वाड) ले पेप्सीमा पुस ९ गते छापा मारेर खातापाता नियन्त्रणमा लिएको थियो । कम्पनीले गरेको कर छली छानबिन गरी कर निर्धारणका लागि गस्तीले ठूला करदातालाई जिम्मा लगाएको हो ।
कार्यालयले कम्पनीमाथि आयकर निर्धारण गर्न बाँकी छ । आयकर ११ करोड रुपैयाँको हाराहारीमा निर्धारण हुने स्रोतले जनाएको छ । कर नतिरेको रकममा १३ प्रतिशतको दरले भ्याट लगाउँदा भएको अंकमा शत प्रतिशत जरिवाना, १० प्रतिशत थप दस्तुर र ब्याज १० प्रतिशत जोडेर भ्याट छलीको कर निर्धारण हुन्छ । आयकर निर्धारण गर्दा छलेको रकममा २५ प्रतिशत करका साथै शत प्रतिशत जरिवाना र १५ प्रतिशत ब्याज जोडिन्छ ।
कम्पनीले अधिकृत बिक्रेतालाई उत्पादन बिक्री गर्दा छुट भनेर थोरै रकमको बिल काट्ने गरेको थियो । तर अधिकृत बिक्रेतामार्फत बजार प्रवर्द्धन गर्दा यसरी छुट दिएको रकम कटाएर भुक्तानी गरेको देखिएको छ । 'छुट दिएको भनेर कर नतिरे पनि अन्तिममा छुट दिएको पाइएन,' स्रोतले भन्यो । कम्पनीले चार वर्षदेखि यसरी कर छलिरहेको थियो ।
कानुनअनुसार कर कार्यालयले कर निर्धारण गरेपछि चित्त नबुझे प्रतिवाद गर्न करदाताले १५ दिनको म्याद पाउँछन् । प्रतिवाद गरेपछि कार्यालयले प्रारम्भिक कर निर्धारण गर्दाको कुरा संशोधन गर्न सक्छ । करदाताले अन्तिम कर निर्धारण गरेको कुरा चित्त नबुझे निर्धारित रकमको एक तिहाइ धरौटी राखेर आन्तरिक राजस्व विभागका महानिर्देशकको अध्यक्षतमा हुने प्रशासनिक पुनरावलोकन समितिसमक्ष निवेदन गर्न सक्छन् । समितिको निर्णयविरुद्ध निर्धारित रकमको ५० प्रतिशत धरौटी राखेर राजस्व न्यायाधीकरणमा पुनरावेदन गर्ने अधिकार हुन्छ ।
गस्तीले मंगलबार लक्ष्मी स्टिलमा छापा मारेर अनुसन्धान सुरु गरेको छ ।
यसअघि गत ६ गते विद्युतीय सामग्रीको बिक्रेता बिजनेस एड इन्टरनेसनल र मेसिनरी एन्ड इलेक्टि्रकलको भोटेबहालस्थित १६ वटा गोदाममा छापा मारेर १० करोड रुपैयाँभन्दा बढीको सामान नियन्त्रणमा लिएको थियो । यसको अनुसन्धान २ नम्बर कर कार्यालयले गररहेको छ । विद्युत् प्राधिकरणलगायत आपूर्तिकर्तालाई ती र्फमले बिल नकाटी सधैं स्टकमा सामान देखाई राजस्व छलेको सूचनाका आधारमा अनुसन्धान भइरहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks