Loving nepal news

Thursday, February 17, 2011

माओवादी अहिले बाहिरै बस्ने


गंगा बीसी

काठमाडौ, फाल्गुन ६ - एमालेभित्र किचलो बढेपछि माओवादी बाहिरै बसेर प्रधानमन्त्री झलनाथ खनालको सरकारलाई समर्थन गर्ने मनस्थितिमा पुगेको छ । सातबुँदे सहमति कार्यान्वयनका लागि खनालले पार्टीमा निर्णय गराउन सक्ने सम्भावना न्यून भएको उसको निष्कर्ष छ ।

माओवादीको आगामी स्थायी समिति बैठकले सरकारमा सहभागी नभई समर्थनलाई निरन्तरता दिने निर्णय गर्ने स्रोतले बतायो । 'यसबारे पार्टीभित्र छलफल सुरु भइसकेको छ,' माओवादी स्रोतले भन्यो ।

प्रधानमन्त्री खनालले सातबुँदेमा दुईपटक सहमति गरी प्रतिबद्धता जनाए पनि आफ्नो पार्टीलाई गृह मन्त्रालय दिनेलगायत विषयमा ठोस निर्णय लिन नसकेकाले माओवादी सरकारबाहिर बस्ने निर्णयमा पुग्न लागेको जानकारी स्रोतले दियो । सरकारविहीन हुन नदिन समर्थन भने फिर्ता नलिने नीति उसले लिएको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको स्थायी समिति बैठकमा धेरै नेताले सरकारमा कठिन कसरत गर्नुभन्दा बाहिरै बसेर शान्ति र संविधान बनाउन लाग्नुपर्ने पक्षमा धारणा राखेका थिए । प्रधानमन्त्री खनाल आन्तरिक रूपमा माओवादीलाई गृह मन्त्रालय दिन सहमति भए पनि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओलीको चर्को दबाबका कारण अप्ठ्यारोमा परेको उसको बुझाइ छ ।

माओवादीले गृह मन्त्रालयलाई 'इज्जतको सवाल' का रूपमा लिएकाले त्योबिना सरकारमा जानुभन्दा बाहिर बसेरै समर्थन गर्नु उपयुक्त हुने दबाब पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई परेको छ ।

'सातबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा चलखेल भइरहेको छ, त्यसकारण सरकारले पूर्णता पाउन सकेको छैन,' माओवादी स्रोतले भन्यो, 'बाहिर बसेरै सरकारलाई समर्थन दिँदै शान्ति र संविधानका पक्षमा उभिनुपर्छ भन्ने मनस्थितिमा पार्टी पुगेको छ ।'

तर सातबुँदे सहमति कार्यान्वयन हुने अवस्था भएमा माओवादी सरकारमा जानेछ । त्यसो भएमा 'दुई तिहाइ बहुमतको राष्ट्रिय सरकार' बन्ने सम्भावना उसले देखेको छ । 'राष्ट्रिय सहमतिको सरकारले मात्र शान्ति र संविधान निष्कर्षमा पुर्‍याउन सक्छ,' स्रोतले भन्यो, 'त्यसबेला हामी सरकारमा जान्छौं । तर यस्तै भइरहे शान्ति र संविधान निर्माणका पक्षमा लाग्नु उपयुक्त हुने छलफल पार्टीमा चल्दै छ ।'

माओवादीमा सरकार बनाउने विषयमा धेरै समय खर्चिन नहुने पक्षका उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईको दबाब अध्यक्ष दाहाललाई छ । 'यो सरकार गिराएर मुलुकमा अस्थिरता ल्याउने पक्षमा छैनौं,' भट्टराईनिकट एक नेताले कान्तिपुरसँग भने, 'त्यसकारण हामी बाहिर बसेर समर्थन कायम राख्दै सरकारलाई कामको आधारमा हेर्छौं ।'

वैद्यनिकट स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले अप्ठ्यारो परिस्थितिमा सरकार बनाए पनि अर्को अप्ठ्यारोमा पार्टी परेको बताए । 'यो एउटा अप्ठ्यारोबाट उम्किएर अर्को अप्ठ्यारोमा परेजस्तो भयो,' उनले कान्तिपुरसँग भने, 'केही दिनमै पार्टीले ठोस निर्णय लिनुपर्ने हुन्छ ।'

स्रोतका अनुसार अध्यक्ष दाहालसँगको कुराकानीमा प्रधानमन्त्री खनालले सातबुँदेबारे पार्टीभित्र 'मिलाइरहेकोे' बताएका छन् । उनले पार्टीमा आफूलाई अप्ठ्यारो परेको उल्लेख गर्दै 'बुझिदिन' दाहाललाई आग्रह गरेका छन् । बिहीबारको स्थायी समिति बैठकमा दाहालले सरकारको पूर्णताबारे खनालसँग भएको कुराकानीका विषयमा जानकारी गराएका थिए । पहिले सरकार बनाउन नदिने शक्तिले सरकारलाई पूर्णता नदिन षड्यन्त्र गरिरहेको उनले बताएको एक नेताले जानकारी दिए । उनले खनाल 'अप्ठ्यारोमा परेको' भन्दै एमालेको आधिकारिक निर्णयसम्म कुर्नुपर्ने बाध्यता आएको जनाएका थिए ।

'सातबुँदे सम्झौताप्रति एमालेको दृढ प्रतिबद्धता व्यवहारमा प्रदर्शन हुन नसकेकाले हाम्रो पार्टी सरकारमा सहभागी हुने अवस्था अझै सिर्जना नभइसकेको स्थितिमा सरकारलाई बाहिरबाट समर्थन गर्ने नीति हाललाई कायम राखिएको छ,' बैठकपछि प्रवक्ता दीनानाथ शर्माले भने ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks