Loving nepal news

Friday, February 11, 2011

प्रधानमन्त्री लट्पटिनुभयो : माओवादी


गंगा बीसी

काठमाडौं, माघ २९ - एमाले अध्यक्ष झलनाथ खनाललाई प्रधानमन्त्रीका लागि समर्थन गरेकै दिन माओवादीका एक नेताले भनेका थिए, 'हामीले झलनाथजीलाई प्रधानमन्त्री त बनायौं तर सहमतिअनुसार खुट्टा टेक्नु हुन्छ कि हुँदैन ?' प्रधानमन्त्री चयन भएको एक साता बितिसक्दा पनि खनालप्रति माओवादीको यो शंका कम भएको छैन, झन् बढेको छ ।

'प्रधानमन्त्री सहमति कार्यान्वयन गर्न लट्पटिनु भएको छ,' माओवादी सचिव पोस्टबहादुर बोगटीले भने, 'सहमति कार्यान्वयनसँगै सहकार्य हुन्छ ।' माघ २० गते प्रधानमन्त्री निर्वाचनअघि माओवादीसँग भएको सहमतिको 'लाभ' लिइसकेका खनालले आफ्नै पार्टीबाट त्यसलाई अनुमोदन गराउन नसक्दा माओवादीसँग सम्बन्ध चिसिन थालेको छ ।

माओवादी अझै केही दिन सहमति कार्यान्वयनको पर्खाइमा रहे पनि गृह मन्त्रालय पाउनुपर्ने र लडाकुको छुट्टै फोर्स बनाउनेलगायत सात बुँदे सहमति कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने उसले औपचारिक निर्णय गरेको छ । यो निर्णयले खनाललाई अप्ठ्यारोमा पारेको भए पनि समाधान निकाल्ने समय माओवादीले दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले सहमतिबाट प्रधानमन्त्री पछि हटेको निष्कर्ष निकाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा भने पुगेको छैन । माओवादीसँग तत्काल अर्को विकल्प नभएकाले उसले शुक्रबार पनि खनाललाई सहमतिअनुसार अघि बढ्न पुनः आग्रह गरेको छ । 'सरकार निर्माणको सन्दर्भमा भएको सात बुँदे सहमतिबाट एमाले पछि हटेकाले त्यसबारे उसको आधिकारिक धारणा नआएसम्म एमालेको सरकारलाई बाहिरबाट समर्थन गर्ने केन्द्रीय कार्यालयको निर्णयलाई अनुमोदन गरियो,' प्रवक्ता दीनानाथ शर्माले भने, 'प्रधानमन्त्रीले छिट्टै आधिकारिक धारणा ल्याउने बताउनुभएको छ ।'

सहमति प्रयास पूरै विफल भए मात्र माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिनेछ । 'सहमतिको प्रयास विफल भयो भने हामी प्रतिपक्षमा बस्ने निर्णय हुन्छ,' शर्माले भने, 'अहिले सरकार बाहिर बस्ने मात्र भनेका छौं ।'

माओवादीले खनालको पार्टीभित्रको 'बाध्यता' बुझ्दै उनलाई 'हिम्मत' गर्न आग्रह गरेको स्रोतले जनाएको छ । 'प्रधानमन्त्रीलाई सहमति कार्यान्वयनमा हिम्मत गर्न आग्रह गरेका छौं,' माओवादी स्रोतले भन्यो, 'अब के गर्ने उहाँ (खनाल) कै हातमा छ ।' खनालले माओवादीसँग पार्टीभित्र अप्ठ्यारो भएको उल्लेख गर्दै सहमति कार्यान्वयन प्रयासमा रहेको बताएका छन् । खनालनिकट एमाले नेताहरूले पनि गृह मन्त्रालयमा अडान नराख्न सुझाव दिएका छन् ।

सचिव बोगटीले आफू अझै पनि सहमति गरेर जाने पक्षमा भएको बताए । 'हामीले अहिले पनि सहमति गरेर जाऔं भनेका छौं,' उनले भने, 'प्रधानमन्त्रीले तुरुन्तै पहल लिनुपर्छ । हामीले बाहिरै रहेर समर्थन गर्ने निर्णय कायम राखेका छौं ।'

माओवादी र एमालेका युवा नेताले सहमतिका लागि दुवै पार्टीका अध्यक्षलाई आग्रह गरेका छन् । माओवादी स्थायी समिति सदस्य वर्षमान पुन र एमाले केन्द्रीय सदस्य घनश्याम भुसाल लगायतले सहमतिबारे शुक्रबार छलफल गरे । स्रोतअनुसार दुवै पक्षका युवा नेताले गृह मन्त्रालय लगायतमा सहमति गरी दुई-तीन दिनभित्र सहमति खोज्न नेतृत्वलाई सुझाव दिने निर्णय गरेका छन् ।

सरकार बन्नुअघि फागुन १ गते आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको माओवादीले सरकारमा सहभागी हुने सम्भावना भएकाले आन्दोलन घोषणा नगरी 'जनयुद्ध दिवस' मात्र मनाउने निर्णय गरेको छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks