Loving nepal news

Thursday, February 3, 2011

माओवादीले किन समर्थन गर्‍यो ?


गंगा बी

काठमाडौ, माघ २१ - माओवादीले नेपालका राजनीतिक पार्टीहरू आफ्नो निर्णय आफैं गर्न सक्षम छन् भन्ने सन्देश दिन एमाले उम्मेदवार झलनाथ खनाललाई समर्थन गरेको जनाएको छ । उसले आफ्नै नेतृत्वमा सरकार नबन्ने देखेपछि अनुकूलको सरकार बनाउन एमालेलाई समर्थन गरेको हो ।

'नेपाली पार्टी र नेताहरू आफ्नो फैसला आफैं गर्न सक्छन्, इतिहास निर्माण गर्न

सक्छन् । हामी कसैको आदेश र इसारामा होइन, आफ्नो भविष्य आफैं बनाउन सक्षम छौं,' माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबार संसद्मा भारतीय दबाबतर्फ संकेत गर्दै भने, 'राष्ट्रिय हित, स्वतन्त्रता र आत्मनिर्णयको अधिकार हामीलाई प्यारो छ । हामीलाई कसैको हस्तक्षेप मान्य छैन ।' उनले नयाँ गठबन्धनले शान्ति र संविधानको प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विश्वास पनि व्यक्त गरे ।

संसद् भवनमा प्रधानमन्त्री निर्वाचनअघि बसेको स्थायी समिति बैठकले उपाध्यक्ष बाबुराम भट्टराईसहित तीन जनाको असहमतिका बीच बहुमतबाट दाहालले उम्मेदवारी फिर्ता लिई खनाललाई समर्थन गर्ने निर्णय गरेका थिए । फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि उम्मेदवारी दिएपछि माओवादी खनाललाई समर्थन गर्ने निर्णयमा पुगेको थियो । त्यसअघि माओवादी फोरम लोकतान्त्रिकलगायत मधेसी दलहरूको समर्थन पाउने अपेक्षामा थियो ।

बिहीबार सरकार नबनेको भए संसद् बहिष्कार गरेर भए पनि नयाँ सरकार नबनाइने प्रस्ट संकेत पाएकाले हतारमा एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने निर्णय गरिएको सचिव सीपी गजुरेलले बताए ।

'फेरि पनि सरकार बन्न नदिने खेल प्रस्ट देख्यौं,' उनले कान्तिपुरसँग भने, 'त्यसकारण झलनाथजीलाई समर्थन गरी सरकार बनाइहाल्ने निर्णय गर्‍यौं ।' स्थायी समिति सदस्य नेत्रबिक्रम चन्दले गतिरोधको गाँठो फुकाउन खनाललाई समर्थन गरेको जनाए ।

'सिद्धान्तभन्दा बाहिर गएर अपवित्र गठबन्धन गरेको होइन । हामीले केही वैचारिक, राजनीतिक विषयमा, शान्ति प्रक्रिया अगाडि बढाउन प्रतिबद्धता गरेका छौं,' अध्यक्ष दाहालले संसद्मा घोषणा गरे । उनले कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको अभाव पूरा गर्न आफूले त्याग गरेको पनि बताए ।

'गिरिजाबाबुको अभाव पूर्ति गर्नुपर्छ भन्ने लागेर प्रधानमन्त्री पदबाट राजीनामा दिएँ र सातौं पटकको प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट फिर्ता लिएँ,' उनले संसद्मा भने, 'हेर्दै जाँदा फेरि पनि परिणाम नआउने देखापर्‍यो ।' उनले राजनीतिक दलका नेताहरूलाई जुत्ता प्रहार हुने सम्भावना टार्न र आम जनतामा बढ्दै गएको निराशा हटाउन आफू प्रधानमन्त्रीको प्रतिस्पर्धा त्याग गर्ने निर्णयमा पुगेको उनले बताए । 'जनतामा निराशा छायो,' उनले भने, 'अहिले एकाधले थप्पड हान्ने अवस्था आएको छ, भोलि जुत्ता हान्ने अवस्था आउँदै थियो ।'

माओवादी-एमाले सातबुँदे सहमति सरकार निर्माणबारे माओवादी र एमालेबीच सात बुँदे सहमति भएको छ । माओवादी सचिव गजुरेलका अनुसार संविधान लेखन, सेना समायोजन र पुनःस्थापन, सरकार सञ्चालन, जनतालाई राहत, शान्ति सुरक्षा, विकास निर्माण र विगत सहमति कार्यान्वयन, सहमति र सहकार्यका आधारमा अघि बढ्ने सहमति भएको छ ।

मन्त्रालय बाँडफाँडबारे शुक्रबारदेखि छलफल हुने उनले बताए । सत्ता साझेदारीलगायत सरकारका कार्यक्रमबारे टुंगो लगाउन माओवादीले दाहालको नेतृत्वमा उपाध्यक्ष मोहन वैद्य, स्थायी समिति सदस्य देव गुरुङसहित अनौपचारिक समिति बनाएको छ । एमालेबाट पनि अध्यक्ष खनाल लगायतको समिति बनेको स्रोतले जनायो ।

भट्टराईको ँनोट अफ डिसेन्ट’

माओवादी उपाध्यक्ष बाबुराम भट्टराई, स्थायी समिति सदस्यद्वय टोपबहादुर रायमाझी र दीनानाथ शर्माले एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने पार्टी निर्णयविरुद्ध असहमति जनाएका छन् । भट्टराई पक्षकै ५१ सभासद्ले पार्टी स्थायी समितिको बहुमतले एमाले अध्यक्ष खनाललाई समर्थन गर्ने निर्णय गरेकामा असहमति जनाएका हुन् । भट्टराईको यो तेस्रो 'नोट अफ

डिसेन्ट' हो ।

असहमति हुँदाहुँदै पनि उनीहरूले खनालको पक्षमा मतदान गरेका थिए । 'शान्ति र संविधानलाई सुनिश्चित गर्न पार्टी नेतृत्वमा सरकारको विकल्प छैन भन्ने निर्णय भएको भोलिपल्टै संसदीय दलको निर्णयविपरीत र दलको बैठकमा व्यक्त प्रतिबद्धताविपरित आफ्नो उम्मेदवारी फिर्ता गरी एमाले उम्मेदवारमा झलनाथ खनाललाई समर्थन गर्ने भन्ने बहुमत स्थायी समितिले गरेको निर्णयप्रति हाम्रो गम्भीर असहमति छ,' फरक मतमा भनिएको छ, 'यही असहमतिका साथ पार्टीको निर्णयलाई आफ्नो मत सुरक्षित राख्दै कार्यान्वयन गर्ने व्यहोरा जानकारी गराउँछौं ।'

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks