
कान्तिपुर संवाददाता
काठमाडौ, फाल्गुन ५ - मन्त्रीहरु छान्नका लागि बोलाइएको प्रमुख सत्तारुढ दल एमालेको स्थायी समिति बैठक झण्डै एक घण्टा ढिलो सुरु भएको छ । बिहीबार दिउँसो साँढे १२ बजेका लागि बोलाइएको बैठक साँढे एक बजेमात्र सुरु भएको हो ।
पार्टी भित्र गृह मन्त्रालय र माओवादीसंग गरेको ७ बुँदे सहमतिमा रहेको असहमतिका कारण स्थायी समितिको बैठकले बिहीबार मन्त्रीहरु छान्ने संभावना कमै रहेको पार्टीकै नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री खनालले गृहसहित ११ मन्त्रालय माओवादीलाई दिने सहमित गरेपछि एमालेकै नेताहरु माधवकुमार नेपाल र केपी ओली पक्षले त्यसको कडा प्रतिवाद गर्ने तयारी गरेका छन् ।
नेपाल–ओली समुहले कुनै पनि हालतमा सुरक्षासंग सम्बन्धित मन्त्रालयहरु माओवादीलाई दिन नहुने र सात बुँदे सहमति परिमार्जन गर्नुपर्ने अडान राखेपछि मन्त्रीहरु छान्ने काम अप्ठ्यारोमा परेको हो ।
स्थायी समितिको बैठक हुन लाग्दा पार्टी कार्यालय परिसरमा नेता तथा कार्यकर्ताहरुको भीड लागेको छ ।
यसैबीच माओवादीले भने आफ्नो स्थायी कमिटीको बैठक सारेका छन् । एमालेको बैठक ढिलो भएका कारण माओवादीले उसको निर्णय अनुसार रणनीति बनाउनका लागि ११ बजे बोलाइएको बैठक दिउँसो ३ बजे सारेको हो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks