Loving nepal news

Friday, February 18, 2011

६१ औं प्रजातन्त्र दिवस: लोकतन्त्र संस्थागत नभएकामा राष्ट्रपति चिन्तित


कान्तिपुर संवाददाता

काठमाडौं , फाल्गुन ७ - राष्ट्रपति रामवरण यादवले लोकतन्त्रका लागि नेपाली जनताले पटक-पटक संघर्ष गरे पनि प्राप्त उपलब्धि संस्थागत गर्न नसक्दा मुलुक अझै संक्रमणकालमै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

६१ औं प्रजातन्त्र दिवसका अवसरमा सन्देश दिँदै राष्ट्रपति यादवले संविधानसभा मार्फत संविधान निर्माण र आर्थिक, सामाजिक रूपान्तरणका निम्ति दिगो शान्ति स्थापना गर्नु महत्त्वपूर्ण भएको बताएका छन् । मुलुकको चुनौतीपूर्ण अवस्था सफलतापूर्वक व्यवस्थापन गर्न र राष्ट्रिय दायित्व पूरा गर्न राजनीतिक दलबीच विश्वास, सहमति र सहकार्य हुनुपर्नेमा उनले जोड दिएका छन् ।

सहमति र सहकार्य गर्न नसके विभिन्न समयमा अभिव्यक्त गरेको शान्ति र समुन्नतिको चाहना अधुरै रहनेछ उनले बताएका छन् ।

संविधान निर्माणमा लाग्न आग्रह

यसैबीच प्रधानमन्त्री झलनाथ खनालले प्रजातन्त्र दिवसका अवसरमा शुभकामना दिँदै सहमति र सहकार्यबाट संविधान निर्माणमा लाग्न आग्रह गरेका छन् । उनले व्यक्तिगत स्वार्थबाट मुक्त भई राष्ट्रिय एकता, समुन्नति र प्रगतिमा लाग्न आग्रह गरेका छन् । 'यस अवसरमा हामी संकीर्ण समूहगत स्वार्थ होइन, राष्ट्रको हितका खातिर अभिप्रेरित भएर अघि बढ्न क्रियाशील हुनुपर्दछ,' शुभकामनामा प्रधानमन्त्रीले भनेका छन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks