
कुलचन्द्र न्यौपाने
काठमाडौ, माघ १९ - कांग्रेसमा प्रधानमन्त्री उम्मेदवारमा नेता रामचन्द्र पौडेल र शेरबहादुर देउवा कसलाई उठाउने भन्नेबारे मंगलबार रातिसम्मको बैठकमा पनि टुंगो लाग्न सकेन । पौडेलको उम्मेदवारीलाई निरन्तरता दिन सभापति सुशील कोइरालाले राखेको प्रस्तावमा सहमति नजुटेपछि निर्णयका लागि बुधबार बिहान केन्द्रीय समिति बैठक डाकिएको छ ।
पार्टी पदाधिकारी र केही प्रभावशाली सदस्यको मंगलबार रातिसम्म कोइराला निवासमा बसेको अनौपचारिक बैठकले टुंगो लगाउन नसकेपछि त्यहींबाट केन्द्रीय समिति बैठक डाकिएको हो । बैठकमा देउवा थिएनन् ।
माओवादी र एमालेबाट देउवालाई साथ दिने सम्भावना नदेखिएको र सबै दल आ-आफ्नै अडानमा कायमै रहेकाले पौडेललाई नै निरन्तरता दिने प्रस्तावमा सहमति जनाउन कोइरालाले आग्रह गरेका थिए ।
'सबैसँग बुझ्दा शेरबहादुरजीले भनेजस्तो माओवादी र एमालेबाट सहयोग पाउने आधार देखिएको छैन, दुवै दल आफ्नै अडानमा छन् । यस्तो अवस्थामा जसलाई निरन्तरता दिँदै आएका छौं, त्यसैलाई गर्नुपर्छ,' कोइरालाको भनाइ थियो ।
त्यसअघि केन्द्रीय सदस्य विमलेन्द्र निधिले १६ औं पल्टसम्म पौडेल प्रधानमन्त्री निर्वाचित हुन नसकेकाले देउवालाई विकल्पमा अघि सार्नुपर्ने धारणा राखेका थिए ।
त्यसको प्रतिवाद गर्दै पौडेलले आफू पार्टीको उम्मेदवारका रूपमा लडेको बताउँदै पराजित भएको अर्थमा लिन नहुने बताएका थिए । 'म हारेको होइन, पार्टीको उम्मेदवारका रूपमा लडेको हुँ,' उनको भनाइ थियो, '१६ आंै पटकसम्म अघि सारेर अन्तिम पटक छाड्दा मेरो राजनीतिक भविष्य के होला ? त्यतातिर पनि ध्यान दिनुपर्छ ।'
केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बुधबार उम्मेदवारको मनोनयन गर्ने समयअघिसम्म सहमतिका साथ पार्टीले उम्मेदवार प्रस्तुत गर्ने बताए ।
'पार्टीभित्र उम्मेदवारको विषयलाई लिएर कुनै ढंगबाट पनि विमति हुनुहँुदैन भन्नेमा जोड दिएका छौं,' बैठकपछि केसीले भने, 'पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था छ भने खुला रूपमा छलफल हुनुपर्छ भन्ने कुरा उठेको छ ।'
कोइराला उम्मेदवार विवाद मंगलबारकै अनौपचारिक बैठकबाट टुंगाउने मनस्थितिमा थिए । तर टुंगोमा पुग्न नसकेकाले बुधबार डाकिएको केन्द्रीय समिति बैठकअघि बिहानै सहमति प्रयासका लागि अनौपचारिक छलफल गर्ने तयारी भएको छ ।
सहमति नभई मतविभाजनको स्थिति आएमा बहुमतबाट पौडेल उम्मेदवार बन्ने सम्भावना छ । कोइरालाले प्रधानमन्त्री उम्मेदवारमा उत्पन्न हुने विवादलाई लक्षित गरेर सोमबार राति नौ केन्द्रीय सदस्य मनोनयन गरेका थिए । मनोनयनअघिसम्म दुवै पक्षको हैसियत बराबरीको अवस्थामा थियो । पौडेल १६ औं पटकसम्म निर्वाचित नभएका कारण आफूलाई बहुमत सदस्यले उम्मेदवार बनाउन साथ दिने देउवाले आशा गरेका थिए ।
देउवाले मंगलबार हस्ताक्षर गरेर बैठक बोलाउन दबाब दिने जानकारी पाएपछि कोइरालाले हतारमा मनोनयन गरेका हुन् । बैठक टार्न खोजे हस्ताक्षर गरी दबाब दिने देउवाको योजना थियो । त्यसका लागि मंगलबार पनि बूढानीलकण्ठस्थित निवासमा बैठक बसेको थियो । भेलामा झन्डै दुई दर्जन केन्द्रीय सदस्य र सभासदले सभापति कोइरालाको कार्यशैलीको आलोचना गरेका थिए ।
'पहिल्यै हस्ताक्षर गरेर सभापतिलाई बुझाउनुपथ्र्याे, मनोनयनपछि त्यसको कुनै अर्थ रहने देखिएन,' एक सदस्यले भने, 'बैठक बोलाएमा आ-आफ्नो धारणा राख्ने र कांग्रेस नेतृत्वमा सरकार नबने त्यसको कारण व्यक्ति हो भनेर प्रमाणित गराउनेतर्फ ध्यान केन्दि्रत गर्नेबारे छलफल भयो ।'
देउवा पक्षीय नेताहरूले पौडेललाई उम्मेदवार बनाउँदा केन्द्रीय समिति बैठकले संस्थागत रूपमा निर्णय लिनुपर्ने अडान भने राख्ने भएका छन् । पार्टीभित्र 'गुटबन्दी' गरेको आरोप लगाउने कोइरालाले नै पार्टीलाई गिरिजाप्रसाद कोइरालाको शैलीमा अघि बढाउन खोजेको देउवाको भनाइ थियो । उनले कोइरालाले नै 'गुटबन्दी' गरेर पार्टी चलाइराखेको आरोप भेलामा व्यक्त गरेका थिए ।
'तीन/तीनपल्ट प्रधानमन्त्री भइसकेको छु । मलाई प्रधानमन्त्री हुन किन गुटबन्दी गर्नुपर्यो ? माओवादी र एमालेका नेताहरू घरमै आएर कांग्रेसले उम्मेदवार बनाए तपाईंको नेतृत्वमा सरकार बनाउन सकिन्छ भनेका थिए । त्यही सम्भावनाका लागि अघि बढेको हुँ,' भेलामा देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'पार्टीले नेतृत्व पाउने सम्भावना थियो तर पार्टी तयार नभए त्यो सम्भावना देखिएला जस्तो लाग्दैन ।'
बैठकमा केही सदस्यहरूले कोइरालाले 'हतारमा सदस्य मनोनयन' गरेर पार्टीलाई एकपक्षीय रूपमा चलाउन खोजेको आरोप लगाएका थिए । देउवाले मनोनयनबारे आफूलाई जानकारीसम्म नभएको बताएका थिए ।
'मनोनयन गर्न पाउनु सभापतिको अधिकार हो । तर सल्लाहबाट भएको भए पार्टीभित्र सकारात्मक सन्देश जान्थ्यो र सभापतिलाई पनि काम गर्न सहज हुन्थ्यो,' केन्दीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने, 'यतिबेला यो वा ऊ पक्षमा भन्दा पनि पार्टीलाई एकढिक्का बनाएर हाँक्न सक्ने क्षमता सभापतिले देखाउनुपर्छ ।'
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks