
सरोजराज अधिकारी
काठमाडौ, माघ २१ - माओवादी सहयोगमा प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष झलनाथ खनालले मधेसीलगायत साना दललाई समेत समेटेर सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने बताएका छन् । साना नौ दल र एक स्वतन्त्र सभासदको समेत मत पाएका उनले बिहीबार आफ्नो नेतृत्वको भावी मन्त्रिपरिषद् चुस्त हुनेसमेत बताएका छन् ।
'भावी मन्त्रिपरिषद् चुस्त हुन्छ । मैले आफ्नै पार्टी र अन्य दलबाट योग्य, सक्षम र दक्षता हासिल गरेका व्यक्तिलाई सरकारमा सहभागी गराउन आग्रह गर्नेछु,' उनले भने, 'स्वाभाविक रूपमै माओवादीबाट बढी मन्त्री हुनेछन् ।'
माले, माले समाजवादी, सद्भावना आनन्दीदेवी, राजमो, नेकपा संयुक्त, नेकपा एकीकृत, नेपाली जनता दल, नेपा पार्टी, जनमुक्ति पार्टी र स्वतन्त्र सभासद बबन सिंहले खनालको पक्षको मतदान गरेका छन् । मतदान प्रक्रिया बहिष्कार गरेको मधेसी जनअधिकार फोरम पनि सरकारमा सहभागी हुने स्रोतको दाबी छ ।
फोरम अध्यक्ष यादवले सरकारमा सहभागी हुने सोचकै कारण उपप्रधानमन्त्री विजय गच्छदारको पक्षमा मत हाल्ने अन्य मधेसवादी दलको निर्णयमा असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेका हुन् । सहअध्यक्ष जयप्रकाश गुप्ताले भने निर्वाचन बहिष्कारको निर्णयमा असहमति जनाएका छन् । फोरमलगायतका दलसमेत सहभागी भएमा सत्तारूढ दलको संख्या बढ्नेछ ।
यस अवस्थामा कोको मन्त्री बन्लान् त ? स्रोतका अनुसार माओवादीबाट स्थायी समिति सदस्य कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्नेछन्् । उनलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी दिने सहमति भएको स्रोतको दाबी छ । 'केहीअघि बसेको पदाधिकारी बैठकले आफूमध्येबाट सरकारमा नजाने निर्णय गरेकाले महराजीले नै नेतृत्व गर्ने सम्भावना छ,' माओवादीका एक उच्च नेताले भने, 'पदाधिकारीबाटै नेतृत्व गर्ने हुँदा नारायणकाली श्रेष्ठ र सीपी गजुरेलको सम्भावना पनि छ ।'
अहिलेसम्म परराष्ट्र र गृह वा रक्षा मन्त्रालय लिने कुरा भएको जानकारी दिँदै अर्का एक माओवादी नेताले भने, 'बाँकी शक्तिशाली मन्त्रालय, विकास मन्त्रालय, समाजकल्याण मन्त्रालयका आधारमा बाँड््ने सहमति भएको छ । माओवादी स्रोतअनुसार स्थायी समिति सदस्य वर्षमान पुनले गृहमन्त्रीको जिम्मेवारी लिने सम्भावना छ ।
यसपटक माओवादीका तीन धारका प्रभावशाली तीनैजना नेतालाई सरकारमा पठाउने तयारी भइरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल निकट पुनका अलावा उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईनिकट युवा नेताहरू क्रमशः नेत्रविक्रम चन्द र टोपबहादुर रायमाझीलाई सरकारमा पठाउने तयारी भइरहेको छ ।
एमालेलाई मतदान गर्ने निर्णयमा असहमति जनाएकाले उपाध्यक्ष भट्टराई पक्षधर नेताहरू सरकारमा सहभागी नहुनसक्ने अवस्थामा भने अध्यक्ष दाहाल र वैद्यनिकट नेताहरूको सन्तुलन मिलाइने स्रोतले बतायो । विगतमा मन्त्री भएकालाई कम प्राथमिकता दिइने जनाइएको छ । भट्टराई पक्षधरले असहमति नजनाए सन्तुलन मिलाउन उनीनिकट नेताहरू गिरिराजमणि पोखरेल र लीलामणि पोखरेलमध्ये एक, प्रवक्ता दीनानाथ शर्मा पनि मन्त्री बन्न सक्छन् । गिरिराजमणि अध्यक्ष दाहाल नेतृत्वको सरकारमा मन्त्री थिए ।
यसअघि मन्त्री भइसकेका देव गुरुङको पनि सम्भावना रहेको जनाइएको छ । माओवादीबाट हरिभक्त कँडेल, अग्नि सापकोटा, जयपुरी घर्ती, शक्ति बस्नेत, पम्फा भुसाल लाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले बतायो । एमालेबाट पनि विगतमा मन्त्री बनाइएकालाई सहभागी नगराउने सहमति बनेको स्रोतले बतायो । हालैको संसदीय दलको बैठकमा एक प्रसंगमा निर्वाचनमा पराजित भएकालाई पनि मन्त्री बनाउन नहुने विषयमा कुरा उठेको एक एमाले नेताले बताए ।
एमालेबाट अध्यक्ष खनाल र प्रभावशाली नेता केपी ओलीको समझदारीमा मन्त्री चयन हुने सम्भावना रहेको स्रोतले बतायो । आफ्नै अध्यक्षलाई निषेध गर्न उपप्रधानमन्त्री विजय गच्छदारलाई उम्मेदवार बनाएकाले निवर्तमान प्रधानमन्त्री माधवकुमार नेपालसँग सहकार्य हुन नसक्ने जनाउँदै खनालनिकट एक नेताले भने, 'खासगरी गोकर्णको बैठकपछि अध्यक्षलाई प्रधानमन्त्री बनाउन ओलीजीको सकारात्मक भूमिका रह्यो । उहाँसँग समझदारी कायम गरेर अघि बढ्ने कुरा भएको छ ।' गोकर्ण बैठकमा नेपालले सल्लाहबेगर माओवादी अध्यक्ष दाहाललाई प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेपछि खनाल र ओलीको निकटता बढेको हो । नेता ओलीले नै मंगलबारको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष खनाललाई प्रधानमन्त्रीको उम्मेदवारमा प्रस्ताव गरेका थिए । अध्यक्ष र ओलीजी निकटता बढेको जनाउँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्दा उनले भनेको उद्धृत गर्दै एक ओलीनिकट नेताले भने, 'अध्यक्षजीले प्रधानमन्त्रीको उम्मेदवारमा सर्वसम्मत प्रस्ताव गरेका छौं । मन्त्री छनोट पनि यसरी नै हुने विश्वास लिएको छु । एउटा गुटको नेता हुने कि पार्टीको अब अध्यक्षको हातमा छ ।'
एमालेबाट अध्यक्ष खनाल पक्षधर रघुवीर महासेठ, यामलाल कँडेल, भानुभक्त जोशी वा हर्कबहादुर सिंह, जनजातिबाट राजेन्द्र श्रेष्ठ वा दलबहादुर राना, राधा ज्ञवाली, रामजी शर्मा, युवराज कार्की, प्रकाश ज्वालालगायतको चर्चा छ । ओलीसँग निकटताका लागि भूमिका खेलेका घनश्याम भुसाल, योगेश भट्टराई, विजय पौडेल, रवीन्द्र अधिकारीलगायत पनि मन्त्री र राज्यमन्त्रीमा चर्चामा छन् । यीमध्ये भुसालको सम्भावना बढी भएको स्रोतले बतायो ।
अर्थ मन्त्रालय एमालेले पाए भरतमोहन अधिकारीलाई अध्यक्षले आग्रह गर्ने स्रोतले बतायो । तर उनी पहिले नै उपप्रधानमन्त्री भइसकेकाले मर्यादाको समस्या आउनसक्नेछ । त्यसैगरी महमुद आलम वा नेपाल मन्त्रिपरिषद्बाट हटाइएका रिजवान अन्सारीलाई अध्यक्ष खनालले मन्त्री बनाउन सक्ने उनी निकट स्रोतले बतायो । ओली पक्षबाट भने विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, खगराज अधिकारी, उर्मिला अर्याल वा थममाया थापा, उर्वादत्त पन्त, विजय सुब्बाको सम्भावना रहेको स्रोतले बतायो । खनाल पक्षबाट युवाको नाम आए ओली पक्षबाट पनि भानुभक्त ढकाललगायत नेताको सम्भावना रहेको स्रोतले बतायो ।
फोरम अध्यक्ष सहभागी भए उनलाई उपप्रधानमन्त्रीलगायत केही मन्त्रालय दिनेमा माओवादी एमालेबीच सहमति भइसकेको स्रोतले जनायो ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks