Loving nepal news

Sunday, February 20, 2011

तस्करीका कारण भारु अभाव उच्च


भूषण यादव

वीरगन्ज, फाल्गुन ८ - सीमावर्ती क्षेत्रमा बढ्दो चोरी पैठारीले भारतीय रुपैयाँ (भारु) को अभाव बढाएको छ । अभावसँगै नेपाली रुपैयाँको अवमूल्यन कायमै छ । अवैध व्यापार बढ्दै गएका कारण भारु व्यवस्थापनमा चुनौती थपिएको राष्ट्र बैंकले जनाएको छ ।
राजस्व नतिरी आयात गरिने वस्तुहरूको भुक्तानी नगदै गर्नुपर्ने भएकाले भारु अभाव चुलिएको सम्बद्ध व्यवसायी बताउँछन् । दैनिक झन्डै ४० लाख भारुको सामान भन्सार छलेर नेपाल भित्रने गरेको बताउने ती व्यवसायीले भने, 'त्यति भारु जसरी पनि जुटाउनैपर्‍यो ।'
भारतबाट नेपालमा निकासी गर्न प्रतिबन्ध लगाइएका वस्तु आयात गर्दा भुक्तानीमा समस्या परिरहेको चोरी पैठारीमा संलग्न एक व्यवसायीले बताए । चिनी, रासायनिक मल, खाद्यान्नलगायतका वस्तु निकासीमा भारतले रोक लगाए पनि मिलेमतोमा यी वस्तु निर्बाध रूपले नेपाल भित्रने गरेका छन् । यसबाहेक उच्च भन्सार महसुल लाग्ने मोटरपार्टस्, सर्टिङ-सुटिङ र विद्युतीय सामग्रीलगायत सामान बढी चोरी पैठारी हुने सूचीमा छन् ।
यसरी ठूलो परिमाणमा चोरी पैठारी हुँदा बजारमा भारु अभाव भएकाले नियन्त्रण हुनुपर्ने व्यवसायी बताउँछन् । राजस्व छलिनुका साथै वैध कारोबार गर्न अप्ठ्यारा भइरहेकाले चोरी पैठारी नियन्त्रण गर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक टेमानीले बताए । बढी चोरी पैठारी हुने वस्तुको भन्सार महसुल कम गर्दा अवैध व्यापार स्वत्ाः कम हुने उनको सुझाव छ ।
सहरवरपरका साथै दूरदराजका ग्रामीण भेगबाट पनि संगठित चोरी पैठारी मौलाएको छ । एकाबिहानै सीमावर्ती विहारको मिर्जापुर, टिहुकी, जयमगंलापुर, भिस्वा, दसतौ लगायतका नाकाबाट साइकल, बयलगाडा र ट्याक्टरमा सामान बोकेर नेपाल भित्र्याउने गर्छन् । सामान पैठारीका लागि तस्करले ससाना पोकामा सामान ओसार्ने सर्वसाधारण -झोलेपोके) परिचालन गरेका हुन्छन् । सीमावर्ती मैनाटार, परसोत्तमपुर, आसबारी, जानकीटोला, मिर्जापुरलगायतका गाउँमा झोलेपोकेहरूले गोदाममा सामान जम्मा गर्छन् । सहरबाट गएको ट्रकमा साँझ परेपछि सामान लोड गर्ने काम सुरु हुन्छ । 'राति ८ देखि ९ को बीचमा सामान लोड गरिएको ट्रक वीरगन्जका लागि खुल्छ,' जानकीटोलाका व्यापारीले राजकुमार साहले भने ।
सीमावर्ती गाउँमा झन्डै एक दर्जनको हाराहारीमा सशस्त्र र नेपाल प्रहरीको इकाई छन् । तर तिनले यसरी भइरहेको संगठित चोरी पैठारीमा आँखा चिम्लिने गरेका
छन् । पोखरिया गाविसका ३५ वषर्ीय भरत गिरीका अनुसार गाउँमा खट्ने सुरक्षाकर्मीको कमाइको मुख्य स्रोत यस्तो अवैध व्यापार हो । सुरक्षा इकाईमा प्रतिट्रक २ हजार रुपैयाँको दरले रकम बाँड्ने गरेको स्थानीय धर्मेन्द्र चौरसियाले दाबी गरे । 'प्रहरीको मिलेमतो नभई अवैध काम हुनै सक्दैन,' उनले भने, ' सीमा क्षेत्रमा हुने सबै खाले तस्करीमा सुरक्षाकर्मीको मिलेमतो हुन्छ ।'
ठूला राजनीतिक दलका जिल्ला तहका नेताकै संरक्षणमा संस्थागत रूपमा चिनी, मल, दाल, चामल लगायतको तस्करी भइरहेकाले सुरक्षाकर्मी लाचार भएको एक प्रहरी अधिकृतले बताए । उनले भने, 'सामान समात्यो भने दबाब आउन थाल्छ ।' पर्सा प्रहरी प्रमुख राजेन्द्रमान श्रेष्ठले खुला सिमानाका कारण चोरी तस्करी नियन्त्रणमा समस्या आएको बताउँछन् । उनले भने, 'केही हदसम्म तस्करी भइरहेको छ तर बढेको छैन ।' नेपाल प्रहरीका सबै इकाई प्रमुखलाई अवैध धन्धा रोक्न कडा निर्देशन दिएको उनले दाबी गरे ।
चोरी पैठारी भई भित्र्याइएका सामान राजधानी, पोखरा, नारायणघाटलगायतका बजारमा आपूर्ति हुन्छ । केही समययता मलको हाहाकार हुँदा स्थानीय प्रशासनले मल तस्करीमा छुट दिएपछि तस्करहरूले मलसँगै ट्रकको बीच भागमा चिनी लुकाएर लाने गरेका छन् ।
स्थानीय बजारभन्दा सीमावर्ती भारतीय बजारमा एक किलोमा १५ रुपैयाँ सस्तो भएकाले सबैजसो नाकामा चिनीको पैठारी बढेको छ । चोरी पैठारीकै कारण स्थानीय उद्योगले चिनी बिक्री नगरे पनि बजारमा चिनी अभाव भएको छैन । सरकारले सहमतिअनुसार चिनीमा ७० प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिने सूचना राजपत्रमा प्रकाशित नगरेको कारण उद्योगले चिनी बेचेका छैनन् ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks