
गोकर्ण अवस्थी
भिक्टोरिया फल्स (जिम्बावे), फाल्गुन ५ - दुई वर्षअघि कुनै महत्त्व नभएका जिम्बावेको खर्बौं डलर पर्यटकका लागि आकर्षण बनेका छन् । संसारकै सात अचम्ममध्ये पर्ने भिक्टोरिया फल्स घुम्ने पर्यटकका लागि सय खर्ब डलरसम्मका नोटले थप अचम्मित पार्ने गरेको छ ।
'म यहाँको सबैभन्दा ठूलो नोट खोजिरहेको छु,' फल्स घुमेर फर्केका जापानी नागरिक ताकाहासीले भने । फल्सको बाछिटाबाट जोगिन रेनकोट र चप्पल भाडामा दिँदै आएका ब्राह्मका लागि भने ठूलो दरका नोट बिक्री थप कमाइ बनेको छ ।
'दिनमा ३/४ जनाले किन्छन्,' बिक्रीका लागि राखिएका सबै खाले नोटका बन्डल देखाउँदै उनले भने । उनले बन्डलमा सन् २००७ र ०८ मा छापिएका ठूला दरका नोट राखेका थिए । आधुनिक अर्थतन्त्रमा सबैभन्दा बढी मूल्यवृद्धिको मार खेपेको जिम्बावेमा सय खर्बसम्मको नोट छापिएको थियो । अर्थतन्त्रलाई व्यवस्थित गर्न नभई नोट छाप्न केन्द्रीय बैंक लागेपछि एकपछि अर्को गर्दै ठूला नोट छापिएको थियो । 'त्यतिबेला केन्द्रीय बैंकले २४ सै घन्टा नोट मात्रै छाप्थ्यो,' सरकारी अधिकारी ट्रिथिग्सले भने ।
सन् २००८ को अन्त्यमा यहाँको मुद्रास्फीति दर २० हजार प्रतिशतले बढेको थियो । 'एक दिन म बैंकमा पैसा राख्न जाँदा पाउरोटीको मूल्य २ मिलियन डलर थियो,' ट्रिथिग्सले भने, 'फर्केर आउँदा २५ मिलियन पुगिसकेको थियो ।' त्यसबेला पसलेहरूले पनि २ मिनेटपछिको मूल्यको यकिन गर्न नसक्ने अवस्था रहेको अनुभव उनले सुनाए ।
जिम्बावेका राष्ट्रपति रबर्ट मुगावे र हालका प्रधानमन्त्री चांगेराईको पार्टीबीच निरन्तर चलिरहने द्वन्द्वले अन्ततः जिम्बावेलाई त्यहाँसम्म पुर्याएको हो । मुगावेले सुरु गरेको भूमिसुधार कार्यक्रमप्रति चांगेराई र गोराहरूले असहमति जनाएपछि द्वन्द्व चरममा पुगेको थियो । मुगावेको एकतन्त्रीय व्यवस्था लागू गर्ने प्रयास रोक्न अन्तर्राष्ट्रिय नाकाबन्दी लागेपछि मूल्य अकासिएको हो ।
सम्बन्ध सुधारको प्रयास नगरी धमाधम नोट छाप्न थालेपछि जिम्बावे सबैभन्दा बढी दरको नोट चलनचल्तीमा ल्याउने मुलुक बनेको थियो । 'हामी ती दिन सम्झन चाहँदैनौं,' एलिफेन्ट हिल्स होटलमा कार्यरत स्टेन्लीले भने । ठूलो दरका नोट छापिँदा बैंकबाट ऋण लिएकालाई भने फाइदा भएको ट्रिथिग्सले बताए । 'कसैले मिलियन डलर ऋण लिएको भए एक नोट दिए पुग्ने भयो, धेरैले ऋण तिरे त्यतिबेला,' उनले भने । सर्वसाधारण ऋणीलाई फाइदा भए पनि बैंकहरू भने चरम संकटमा परेका थिए ।
सन् २००८ को अन्त्यमा अर्थतन्त्र धराशायी भएपछि दुई दलबीच राजनीतिक सहमति भयो । २००९ मा चांगेराई प्रधानमन्त्री बने । त्यसयता भने राजनीतिक स्थायित्व छ । २००९ जनवरीदेखि अमेरिकी डलर र दक्षिण अफ्रिकाको रान्ड बराबर चलनचल्तीमा छ । जिम्बावियन डलर अप्रिल २००९ देखि चलनचल्तीमा छैन । यहाँका सर्वसाधारण नागरिक भने विदेशी मुद्रा चलाएर भए पनि आर्थिक स्थायित्व भएकामा खुसी छन् । पूर्णतः स्थायित्व नभई जिम्बावियन डलर चलाउन उपयुक्त नहुने धारणा अर्थमन्त्रीदेखि सर्वसाधारणबाट आइरहेको छ । 'हामी तत्काल आफ्नो मुद्रा चाहँदैनौं' दुबैले भने, 'बरु अब क्षेत्रीय मुद्रा निकाल्नुपर्छ भन्नेबारे सोचिरहेका छौं ।'
दक्षिण अफ्रिकी देशमाझ क्षेत्रीय सञ्जाल विस्तारमा व्यापार मात्र नभई ऊर्जामा पनि साझेदारी निकै प्रभावकारी छ । यहाँ स्टक एक्सचेन्ज जस्तै आफूलाई चाहिएका बेला आवश्यक ऊर्जा खरिद-बिक्री गर्न सकिने संयन्त्र बनाइएको छ ।
यस क्षेत्रका १२ देशले एक-अर्कामा प्रसारण लाइन जोडेर विद्युत् आदानप्रदान गर्न थालेको १५ वर्ष नाघेको छ । यी देशको ऊर्जा कारोबारको व्यवस्थापन जिम्बावेको हरारेमा सदर्न अफ्रिकन पावर पुल (साप) कार्यालयले गरिरहेको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks