Loving nepal news

Wednesday, February 16, 2011

वाषिर्क ४५ अर्बको तरकारी उत्पादन


मैना धिताल/राजु चौधरी


काठमाडौ, फाल्गुन ४ - मुलुकमा वाषिर्क करिब ४५ अर्ब रुपैयाँ बराबरको तरकारी उत्पादन हुने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

केन्द्रीय तथ्यांक विभागले मंगलबार सार्वजनिक गरेको 'नेपाल तरकारी बाली सर्वेक्षण २०६६' को नतिजाले यसमा वाषिर्क करिब ९ अर्ब रुपैयाँ (कामदारको ज्याला र जग्गा भाडाबाहेक) खर्च हुने गरेको छ । त्यसबाट ३६ अर्ब रुपैयाँको मूल्य अभिवृद्धि (प्रतिफल) हुने गरेको तथ्यांकले देखाएको हो ।

सर्वेक्षणअनुसार आर्थिक वर्ष २०६५/६६ मा करिब ३२ लाख ४३ हजार घरपरिवार तरकारी खेतीमा संलग्न रही २८ लाख २० हजार टन तरकारी उत्पादन गरेका थिए । बालीको उत्पादकत्व प्रतिहेक्टर १२ हजार १ सय ४२ किलो रहेको देखियो । मुलुकमा ४६ लाख ८३ हजार घर परिवार छन् । त्यसमध्ये करिब ७० प्रतिशत परिवार तरकारी खेती संलग्न छन् ।

प्रतिवेदनअनुसार तराईमा सबैभन्दा बढी उत्पादन र बिक्री हुने गरेको छ । पहाडी क्षेत्रमा उत्पादित तरकारीले राम्रो मूल्य पाउने गरेको छ । पहाडमा करिब २१ अर्ब ७९ करोड रुपैयाँ, तराईमा २१ अर्ब र हिमालमा २ अर्ब ३४ करोड रुपैयाँ बराबरको तरकारी उत्पादन हुने गरेको छ । 'प्रायः तराईमा हिउँद र पहाडमा वषर्ायाममा बढी उत्पादन हुन्छ,' तरकारीविज्ञ तुलसी गौतमले भने, 'वषर्ामा फल्ने भएकाले पहाडी तरकारीको तौल पनि बढी हुने र तुलनात्मक रूपमा मूल्य पनि बढी हुने भएकाले पनि समग्रमा बढी देखिन गएको हो ।'

तथ्यांकअनुसार तराईमा वाषिर्क १४ लाख ३७ हजार टन, पहाडमा १२ लाख ६१ हजार र हिमालमा १ लाख २ हजार टन उत्पादन हुने गरेको छ । उत्पादनको तुलनामा पहाडमा उत्पादित तरकारी बढी बिक्री हुने गरेको छ । उत्पादितमध्ये पहाडमा झन्डै ७ लाख ६७ हजार टन र तराईमा ९ लाख ३४ हजार टन तरकारी बिक्री भएको पाइएको छ ।

सबैभन्दा बढी उत्पादन भएको तरकारी काउली हो, जुन ४ लाख ४ हजार टन छ । यस्तै दोस्रो स्थानमा गोलभेंडा (३ लाख १७ हजार टन), तेस्रोमा बन्दा (३ लाख २ हजार टन), चौथोमा फर्सी १ लाख ६६ हजार टन र पाँचौंमा मूला -१ लाख ६४ हजार टन) छन् । यी तरकारी बाह्रै महिना उत्पादन गर्न सकिने भएकाले पनि अग्रस्थानमा आएको सम्बद्ध अधिकारीले जनाएका छन्् ।

तरकारी खेती गर्ने किसानमध्ये ज्यादै कम -५ प्रतिशत) ले मात्रै ऋण लिएर उत्पादन गर्ने गरेको पाइएको छ । त्यसरी ऋण लिएकामध्ये ५५ प्रतिशतले अनौपचारिक -गैरवित्तीय) क्षेत्रबाट र २४ प्रतिशतले कृषि विकास बैंकबाट ऋण लिने गरेका छन् । 'किसान अझै पनि बढी ब्याज पर्ने परम्परागत कर्जा प्रणालीमै निर्भर रहेकाले र उत्पादनको आम्दानीबाट खासै लाभ लिन नसकेको यसले देखाउँछ,' राष्ट्रिय योजना आयोगका सदस्य पुष्कर बज्रचार्य भन्छन्, 'किसानलाई सजिलो वित्तीय पहुँच दिन ग्रामीण क्ष्ाेत्रमा पनि बैंकिङ सेवा विस्तार गर्न आवश्यक छ ।' करिब १५ प्रतिशत किसानले सहकारीबाट कर्जा लिएको देखिन्छ ।

सर्वेक्षणका अनुसार अधिकांशले उपभोगकै लागि उत्पादन गरेका छन्् । १८ प्रतिशतले मात्रै बिक्रीका लागि खेती गरेको पाइयो । व्यावसायिक तरकारी खेतीबाट वर्षैभरिको घरखर्च धान्न पुग्ने परिवार १२ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

'३९ प्रतिशत सम्मका किसानलाई बढीमा तीन महिनाको घरखर्च धान्न पुग्ने देखियो,' प्रतिवेदनमा भनिएको छ, 'व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई औसतमा पाँच महिनाको घरखर्च पुग्ने गरेको पाइयो ।'

विभागले २०६६ मंसिरदेखि माघसम्म देशका ५ हजार ४ सय तरकारी खेती गर्ने किसान परिवारबाट विवरण संकलन गरी सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा ५५ तरकारी समूह पहिचान गरिएको थियो ।

विभागका महानिर्देशक उत्तमनारायण मल्लले सर्वेक्षणबारे जानकारी दिँदै यसले नीति निर्माता, योजनाविद् र अनुसन्धानकर्तालाई सहयोग पुग्ने बताए । 'कृषिको वर्तमान तथ्यांकमा तरकारी बालीको बढ््दो हिस्सालाई पहिचान गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा छ,' उनले थपे, 'यसले नेपालको तथ्यांक प्रणालीमा पनि सुधार ल्याउनेछ ।'

तथ्यांक विभागले तरकारी बालीमा गरेको यो सम्भवतः पहिलो सर्वेक्षण हो । यसले कुल तरकारी कृषक परिवार, कुल क्षेत्रफल, उत्पादन, खर्च र उपभोगलगायतका विषयमा सर्वेक्षण गरेको छ । एसियाली विकास बैंकको सहयोगमा यो सर्वेक्षण भएको हो ।

अधिकांश किसानले कृषि प्राविधिकको सहयोगबिनै खेती गर्ने गरेको पाइएको छ । कुनै पनि सहयोग नलिने यस्ता किसानको संख्या ७३ प्रतिशत छ । ७ प्रतिशतले मात्रै जेटिएलगायत गैरसरकारी कृषि प्राविध्ािकबाट सहयोग पाउने गरेका छन् ।

सर्वेक्षणले तरकारीमा अधिकांश रासायनिक विषादी प्रयोग हुने गरेको देखाएको छ । करिब ९२ प्रतिशत रासायनिक र ८ प्रतिशत मात्रै अर्गानिक विषादीको प्रयोग भएको प्रतिवेदनमा छ ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks