Loving nepal news

Wednesday, February 9, 2011

गाउँमा ट्याक्टर पुग्दा हर्षोल्लास


अर्जुन शाह

बाजुरा, माघ २७ - गाउँमा पहिलोपटक ट्याक्टर पुग्ने खबर सुनेपछि बालादेखि तन्नेरीको जमातसँगै आँटीचौर गाविस ५ दानीगाउँका ९८ वर्षीय जैधन खड्का पनि स्वागतका लागि हातमा फूलमाला लिएर लामबद्ध थिए ।

दसौं हजारको संख्यामा उपस्थित स्थानीय बासिन्दाले आँटीचौरको दशरथ उच्च माविमा अघिल्लो साता पुगेको से१त २६०१ नम्बरको ट्याक्टरलाई भव्य स्वागत गरे । जिल्ला विकास समितिका पूर्वसभापति लालबहादुर थापाले उद्घाटन गरेको उक्त कार्यक्रममा ब्रम्हतोला, आटीचौर, गुदुखाती, डोगडीलगायतबाट उपभोक्ता ओइरिएका थिए । यसअघि सवारी साधन नदेखेको बताउने वृद्ध जैधनले भने, 'आउँदा दिनमा आफूले जस्तो आफ्ना सन्ततिले भारी बोक्नुपर्ने दिन अन्त्य हुने भएपछि खुसी लागेको छ ।'

गाउँमा ट्याक्टर पुग्न लागेको खुसीमा गाउँका विद्यालय बन्द गरिएका थिए । स्थानीय कला संस्कृतिको प्रस्तुतिसहित त्यस अवसरमा नाचगान, यो क्षेत्रको प्रख्यात लोकसंस्कृति देउडासमेत खेलिएको थियो । स्थानीय सामाजिक कार्यकर्ता लालबहादुर ओली भन्दै थिए, 'यति ठूलो उपस्थितिको समारोह जिल्लामा पहिलोपटक देखें ।'

सदरमुकाम मार्तडीलाई सडक यातायातले अझै छोएको छैन । गाउँमा अस्थायी भए पनि सडक यातायात पुग्ने दक्षिणी गाउँ आँटीचौर जिल्लाकै पहिलो भएकोमा पनि यहाँका उपभोक्ता निक्कै खुसी देखिन्थे । ढुवानी यातायात सञ्चालन हुने भएपछि आफूहरूको पिठ्यूँको भारी छुट्ने आशाले उनीहरूलाई औधि हषिर्त बनाएको गाउँका अगुवाले बताए ।

सडक बनेपछि यसै क्षेत्रमा रहेको छेडेदह अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा वृद्धि हुने स्थानीय बासिन्दाले बताएका छन् । छेडेदह जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ । जिल्ल्ाास्थित पर्यटन समन्वय समितिले आगामी वैशाखमा छेडेदहमा नेपाल पर्यटन वर्षको अवसर पारेर महोत्सव मनाउने तयारी गरेको छ । पर्यटन उपसमिति संयोजक राजेन्द्र शाहले भने, 'आँटीचौरमा सडक पुगेकाले महोत्सव गर्न सजिलो हुने भो ।'

दस वर्षअघि स्थानीय बासिन्दा आफैंले निर्माण सुरु गरेका थिए । जिविसले यो सडक निर्माणका लागि पौने २ करोड बेहोरेको जिल्ला प्राविधिक चक्र थापाले बताए । ब्रम्हतोला गाविसको मलातीदेखि आँटीचौर खण्डमा १२ किलोमिटर लम्बाइको यस कृषि सडकको काम पूरा भएपछि ट्याक्टर गुडेको थियो ।

No comments:

Post a Comment

Giv your valuable time to comment here!
Thanks