
प्रेमकुमारी घले
लमजुङ, माघ २४ - अहिले मेला महोत्सवमा जनजातिको संस्कृति झल्कने घरहरु निमार्ण गर्ने लहड नै चलेको छ । तर यहाँ एक/दुई वटा घर मात्र हैन सिङ्गै जनजातिहरुको गाउँ नै निर्माण हुन लागेको छ । जिल्लामा पहिलो पटक यही बुधबारदेखि शुरु हुने आदिबासी जनजाति सांस्कृतिक महोत्सवका लागि ‘आदिवासी भिलेज’ निर्माण गर्न लागेको हो ।
सदरमुकाम बेसीसहरको सहजी खेल मैदानमा तय हुँदै गरेको ‘आदिवासी भिलेज’मा सबैभन्दा धेरै जनसंख्या रहेको गुरुङदेखि सबैभन्दा कम जनसंख्या रहेको चेपाङ्ग, दुरा, तामाङ, मगर, हेल्मो, नेवार, भुजेल र कुमाल गरी ९ वटा जनजाति समुदायको घरसँगै संस्कृति झल्कने विविध संरचनाहरु निर्माण गरिदैंछ । एक साता अघिदेखि निर्माण थालिएको आदिवासी भिलेज हेर्न महोत्सव अघि नै मानिसहरुको भीड लाग्ने थालेको छ । आफ्नो समुदायको घर निर्माणमा संलग्न नेवा खल लमजुङका प्रविण कायस्थ नयाँ पुस्तालाई आफ्नो संस्कृतिबारे जानकारी दिन खटेको बताउँछन् ।
विशेषगरी जिल्लामा रहेका सबै आदिवासी जनजातिहरुको पुरानो रहनसहन र ऐतिहासिक महत्वकाबारे एकैथलोबाट जानकारी दिलाउने उदेश्यले आदिवासी भिलेज निर्माण गर्न लागेको महोत्सव मूल आयोजक समितिका सचिव धर्मराज श्रेष्ठले बताए । आदिवासी भिलेजमा संस्कृति झल्कने सबै किसिमका सामानहरु, भेषभूषा राख्नुका साथै कला, संस्कृतिहरु समेत प्रदर्शन गरिनेछ ।
‘लमजुङमा रहेका जनजातिको संस्कृति एकैथलोबाट दिने हाम्रो उदेश्य हो, श्रेष्ठले भने–संस्कृतिको चिनारी दिलाउन हामी कुनै किसिमको कमी दिनेछैनौं ।’ महोत्सवकै मुख्य आकर्षणको रुपमा रहेको आदिवासी भिलेजमा कस्ले राम्रो संस्कृति देखाउन सकिन्छ भन्ने प्रतिसप्रर्धा नै चलेको छ । आ–आफ्नो समुदायको घर बनाउन आ आफ्नै समुदायका युवायुवतीदेखि बुढाबुढीसम्म खटेका छन् । आदिवासी भिलेजभित्र जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल दूधपोखरी, मेमेपोखरी र बराह्रपोखरी जाने बाटाहरु निर्माण गरिएको छ ।
जनजातिको कला संस्कृति प्रवद्र्धन गर्ने तथा पर्यटन बर्ष सन् २०११ लाई सगाउ पुरयाउने उदेश्यले आयोजना गरिएको महोत्सव माघ २६ देखि फागुन ३ गतेसम्म संचालन हुनेछ । महोत्सवमा झाँकी, लोकदोहोरी, प्याराग्लाइडिङ, कृषि, हस्तकला, जडिबुटि प्रदर्शनी, हिज्जे प्रतियोगिता, पर्यटकीय गाउँहरुको टुर प्याकेज कार्यक्रमसँगै जलवायू परिवर्तन तथा रेड अवधारणा, अन्र्तराष्ट्रिय श्रम संगठनको अभिसन्धी न १६९ को विषय र जलस्रोतको बारेमा समेत सचेतनामूलक कार्यक्रम गरिने महोत्सव मूल आयोजक समितिका संयोजक खेमजङ्ग गुरुङले बताए ।
महोत्सवमो १ सय ५० वटा स्टलहरु राखिएको छ । नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद लमजुङको आयोजनामा भएको महोत्सव डेढ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएको छ । महोत्सवबाट जनजातिको संस्कृति देशविदेशसम्म प्रचारप्रसार भै पर्यटन बर्ष सन् २०११ सफल पार्नमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
No comments:
Post a Comment
Giv your valuable time to comment here!
Thanks